काठमाडौँका एसपी भन्छन्' आज ढुङ्गा नखाने त प्रहरी नै भएनन्, कता- कताबाट आएर हानेको हान्यै गरे'
काठमाडौंः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा आइतबार साँझसम्म नयाँ बानेश्वर क्षेत्र रणभूमिजस्तै बनेको देखियो। प्रहरी र प्रदर्शनकारी दुवैतर्फका घाइते भए।
बुधबारको तुलनामा आइतबार प्रदर्शनकारी उग्र देखिएका थिए। आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबुल भइरहँदा बानेश्वर क्षेत्र भने तनावग्रस्त बनेको थियो।
दिनभर नै बिजुली बजारदेखि मिनभवन (सिभिल अस्पताल अगाडि) सम्म प्रदर्शनकारी र प्रहरीबिच झडप भयो। बढी तनावग्रस्त भएको क्षेत्र नयाँ बानेश्वर चोकदेखि बिजुली बजारसम्मको हो। आक्रामक रूपमा उत्रिएका प्रदर्शनकारीले प्रहरीले लगाएको निषेधित क्षेत्रसमेत तोडेका थिए।
प्रदर्शनकारीले प्रहरीमाथि एमसीसिको विरोध गर्दै ढुंगामुढा प्रहार गरेका थिए। प्रदर्शनकारीले प्रहार गरेका ढुंगाले सडक नै ढाकेको देखिन्थ्यो। प्रहरीले प्रदर्शनकारीमाथि रबर बुलेट गोली, अस्रुग्यास र पानीका फोहोरा हानेका थिए।
३४ थान रबरका गोली प्रहार
नयाँ बानेश्वर क्षेत्रमा आइतबार भएको झडपका क्रममा ३४ थान रबर बुलेट गोली प्रहरीले चलाएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।
पौडेलका अनुसार नयाँ बानेश्वर क्षेत्रमा भएको झडपका क्रममा प्रहरीले एक सय २२ सेल अस्रुग्यास हानेको छ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गर्नुका साथै पेट्रोल बम समेत प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए।
प्रदर्शनकारीले करिब तीन वटा पेट्रोल बम प्रहार गरेको रिपोर्ट आएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। एसपी मैनालीका अनुसार प्रदर्शनकारीले दिउँसो प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका हुन्।
उनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा, रबर बुलेट प्रहार गर्नुकासाथै अस्रुग्यास हान्नु परेको बताए। एसपी मैनालीले भने,‘ढुङ्गा नखाएको त पुलिस नै छैन होला आज त।’
तीन प्रहरीको हात भाँचियो
झडपका क्रममा सशस्त्रतर्फ ७ र नेपाल प्रहरीका १६ गरी २३ जना प्रहरी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
उनले भने,‘करिब तीन जना प्रहरीको हात भाँचिएको भन्ने छ। कसैको औँला भाँचिएको कसैको के भाँचिएको आएको छ।’ घाइते सबै प्रहरीको उपचार भइरहेको उनले जानकारी दिए।
त्यसै गरी ११ जना प्रदर्शनकारी घाइते भएको पुष्टि भएको पनि उनी बताउँछन्। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार घाइते प्रदर्शनकारीमध्ये तीन जना डिस्चार्ज भएको र आठ जना उपचाररत छन्।
५३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। प्रदर्शनकारीले प्रहरीको ४१ थान पारदर्शी ढाल फुटाई दिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
प्रहरीको पाँच वटा हेलमेट फुटेको उनी बताउँछन्। पौडेलका अनुसार आइतबार भएको झडपमा प्रहरीको पाँच वटा हेलमेट फुटेको र २५ वटा लट्ठी भाँचिएका छन्। त्यसै गरी थुनुवा लिएर फर्केको गाडिमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरी क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। नेपाल प्रहरीको कन्ट्रोल रुम भेहिकल (सिआरभी) भ्यान प्रदर्शनकारीले झर्यामझुरुम फुटाइदिएको एसपी मैनाली बताउँछन्।
कडा सुरक्षा
१२ गतेलाई प्रदर्शनकारीले शक्ति प्रदर्शन गर्ने बुझिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले भने,‘बढी नै प्रहरीलाई ढुङ्गा प्रहार गरेको अवस्था छ। १२ गतेलाई शक्ति प्रदर्शन गर्नेजस्तो कुरा बुझिएको छ।’
आजको प्रदर्शनमा कसको नेतृत्वमा प्रदर्शन भएको हो भन्ने यकिन गरी छुटाउन मुस्किल परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन्। उनले भने,‘कसको नेतृत्व के भन्ने कुरा ट्याक्कै छैन। सत्ता पक्षकै भातृ सङ्गठन, कार्यकर्ता पनि यसमा मिसिएको अवस्था छ।’
एसपी मैनाली पनि प्रदर्शनमा कहाँबाट को घुसेका छन् भन्ने अन्धाधुन्ध भएको बताउँछन्। उनले भने,‘सबै योङयोङ मान्छेहरूले हानेका छन्। कता हो के हो जस्तो भइरहेको छ। अन्धाधुन्ध भइरहेको छ। कहाँबाट को घुसेका छन्।’
सत्तारुढ गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता समेत एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए।
जुनसुकै अवस्थामा पनि प्रदर्शन हुनसक्ने भएकाले सुरक्षा निकाय तयारी अवस्थामा नै रहने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
उनले भने,‘समन्वय भइरहेको छ। जुन सुकै अवस्थामा पनि तयारी अवस्थामा रहने कुराकानी भएको छ।’
फागुन ८, २०७८ आइतबार २३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।