‘ड्रिम विग च्यालेन्ज’ आयोजना हुँदै, उत्कृष्ट आइडिया प्रस्तुत गर्नेलाई साढे तीन लाख पुरस्कार
आइतबार शिक्षा पत्रकार समूह र गैरआवासीय नेपाली सङ्घ अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको हो। यसमा स्नातक तहमा अध्ययनरत अमेरिका र नेपाल दुवै देशका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
‘दोस्रो ड्रिम विगच्यालेन्ज–२०२२’ कार्यक्रमका सञ्योजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीहरूलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए।
यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालय तहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो। यस पटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो।
प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरूले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरू समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्ने डा. पाण्डेले जानकारी दिए।
उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित [email protected]मा इमेलमार्फत् आउँदो मार्च २० भित्र आवेदन दिन सक्नेछन्। त्यसपछि दुईसय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ता भित्र पठाउनुपर्नेछ। सोही लेखनका आधारमा आवेदकमध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ।
यसरी छानिएका दुबै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ। छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ। अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनु पर्नेछ । अन्त्यमा मे २८ र २९ मा समूहकाप्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ।
शिक्षापत्रकार समूहका अध्यक्ष कृष्ण मल्ले प्रतिस्पर्धाले विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउने, समूहकार्य र दुई देशका विद्यार्थीहरुको ज्ञान आदानप्रदान हुने विश्वास व्यक्त गरे।
फागुन ८, २०७८ आइतबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।