११ करोड लगानीमा गण्डकी बहु प्राविधिक शिक्षालयको भवन बन्दै
पोखरा : पोखरा महानगरपालिकाले स्थानियस्तरमा प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापना गरेको गण्डकी बहु प्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ।
शनिवार पोखरा २९ कल्याणस्थित निर्माण हुने शिक्षालयको नयाँ भवनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, सङ्घीय सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रूपमा शिलान्यास गरे।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सङ्घीय सांसद एवं पूर्वमन्त्री अधिकारीले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूले स्थानियस्तरमा सहजरुपमा अध्ययन गर्ने अवसर पाउने बताए।
‘महानगरले प्राविधिक शिक्षाको अध्ययन सुरु गरे पनि आवश्यक भौतिक पूर्वाधार निर्माणको अभावमा समस्या भोग्दै आएका विद्यार्थीलाई अबको केही समयमै सहज हुने छ,’ उनले भने, ‘बाटो, पुलपुलेसा भन्दा पनि देशलाई कायापलट गर्न गुणस्तरीय प्राविधिक शिक्षा महत्त्वपूर्ण विषय हो।’
प्राविधिक शिक्षामा अगुवाइ गर्ने पोखरा महानगर, कार्यपालिकाका सदस्यहरू, स्थानीय र सरोकारवालाहरूलाई पूर्वमन्त्री अधिकारीले आभार समेत व्यक्त गरे।
पोखरा महानगरपालिकाका प्रमुख जिसीले प्राविधिक शिक्षालयबाट अधिकतम फाइदा लिन स्थानीयलाई आग्रह गरे।
उनले भने,‘शिक्षालयबाट दक्ष प्राविधिक उत्पादन हुने विश्वास लिएका छौँ। उत्पादित जनशक्तिले गरेका कामहरू प्राविधिकरुपमा उत्कृष्ट हुनेछन्। भवन निर्माण सम्झौता अवधि भित्रै सम्पन्न हुनेमा विश्वस्त छौँ।’
प्रदेश सांसद कोइरालाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकोले पोखरा महानगरले प्रविधि शिक्षाको अध्ययन थाले जस्तै अन्य पालिकाहरूले समेत प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
महानगरको सोचलाई समुदाय स्तरसम्म पुर्याएर सफल बनाउन शिक्षालयले मूर्तरूप दिन लागिपरेको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए।
महानगरले आगामी वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का दिएको छ। उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
भवन ४० हजार ४ सय ९२ स्क्वायर फिटमा फैलिने छ। सङ्घ सरकारको विशेष अनुदान र पोखरा महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो।
शिक्षालयको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको अध्यापन कार्यक्रम हाल पोखरा २९ कै जनप्रकाश माविको भवनबाट सञ्चालन हुँदै आएको छ।
महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को साझेदारीमा गत वर्षदेखि अध्ययन थालेको हो।
महानगरले सञ्चालनमा ल्याएको शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङको पहिलो सत्रको अध्यापन कार्यक्रम चलिरहेको छ।
तीन वर्षे कोर्सका लागि शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्ति समेतको व्यवस्थामा अध्यापन भइरहेको हो। शिक्षालयमा १० ओटा कोटा पूर्ण छात्रवृत्ति, ६ ओटा कोटा सहुलियत र ३२ ओटा कोटा खुलातर्फका रहेका छन्।
महानगरले आगामी दिनमा शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिक तर्पmका डिप्लोमा इन जियोमेटिक इन्जिनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना बनाएको छ।
फागुन ७, २०७८ शनिबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।