अश्लील भिडियोका कारण माइत बसेकी श्रीमती फिर्ता ल्याउन नाबालकको अपहरण
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका ६ दुधराक्षका प्रसिद्ध र प्रसन्न दाहाल अपहरण प्रकरणमा उनीहरूले अध्ययन गर्ने विद्यालयको गम्भीर कमजोरी देखिएको छ।
सैनामैना ४,मुर्गियामा रहेको प्रभात बोर्डिङ स्कुलमा अध्ययनरत प्रसिद्ध दाहाल र प्रसन्न दाहाल बिहीबार बिहान ९ बजे स्कुल जान भन्दै बस चढेका थिए। तर मुर्गियामा बसबाटै उनका आफन्त खेम बहादुर पौडेल क्षेत्रीले प्रसिद्ध र प्रसन्नालाई झारेर लगेका थिए।
विद्यालयमा अध्ययनका लागि पठाएका बालबालिकाहरूलाई बिच बाटोबाटै अरू कसैलाई लैजान दिनु विद्यालयको ठुलो कमजोरी रहेको प्रहरीले समेत बताएको छ। यसले अभिभावकहरूले छोराछोरीलाई विद्यालय पठाउँदा हुन सक्ने सम्भावित घटनाप्रति सचेत बनाएको छ ।
‘फोटो खिच्ने निहुँमा उनीहरूलाई झारेर त्यहाँबाट बुटवलतर्फ ल्याइन्छ। तर बिच बाटोमा झरेका विद्यार्थी स्कुलमा आए आएनन् खोजी हुँदैन। यो घटनाले अब अभिभावकहरू समेत सचेत हुने अवस्था आएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले भने।
घटनामा संलग्न भएका खेम बहादुर पौडेल क्षेत्रीलाई सार्वजनिक गर्दै उनले प्रहरीमा दुई बालबालिका बेपत्ता भएको खबर प्राप्त भएको २४ घण्टा भित्र सकुशल उद्धार गर्न सफल भएको बताए।
प्रहरीले अपहरणको आरोपी खेम बहादुर पौडेल क्षेत्री र दुई दाजु बहिनी प्रसिद्ध र प्रसन्नालाई बिर्तामोडबाट सकुशल उद्धार गरेको थियो।
प्रहरीका अनुसार प्रसिद्ध र प्रसन्नाको अपहरण पारिवारिक रिस साध्न गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी भयो अपहरण
विद्यालयको बसबाट झरेका प्रसिद्ध र प्रसन्नालाई खिम बहादुरले ‘फोटो’ खिच्न भन्दै सुरुमा बुटवलमा ल्याएर राखे। बुटवलकै कृष्ण फेन्सीमा उनीहरूले लगाएको ड्रेस र झोला राख्न लगाए।
प्रहरीका अनुसार त्यसपछि मध्यान्न १२ बजेर ३४ मिनेटमा गुप्त बहादुर पौडेल दाजु खेम बहादुर पौडेललाई नेपालगन्ज रोडमा भेटेर सुटकेस दिए।
‘खेमले अन्तिम पटक गरेको कल गुप्तलाई रहेछ। हामीसंग सूचना आउँदासम्म मोबाइल अफ थियो। अन्तिम कल ट्याक्क गर्दा गुप्तलाई फोन गरेको देखेपछि सोधपुछ गर्दा उनले दाजुलाई सुटकेस बिहान साढे ८ बजे दिएको बताए। त्यसपछि अनुसन्धान अझ तीव्र गतिमा अघि बढ्यो,' केसीले भने।
त्यसपछि प्रहरीले नेपालगन्ज रोडमा भएका सबै सिसिटिभी क्यामरा चेकजाँच गरेको थियो। सो क्रममा राती ९ बजे सिसिटिभी हेर्दा खिमले भाइसँग सुटकेस लिँदा बालबालिका भने साथमा नदेखिएको उनले बताए।
‘सिसिटिभीमा सुटकेस ठुलो देखियो। बालबालिकालाई त्यहाँ नदेखेपछि केही घटना घट्यो कि भन्ने आकलन समेत भयो । त्यसपछि हामीले रातभर जङ्गलमा सर्च गर्यो,'उनले भने।
उनले सुटकेस लिन जाँदा बालबालिकालाई फेन्सी पसलमै राखेका थिए वा अन्यत्र यस बारे अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीको भनाई छ। त्यसपछि प्रहरीले होटलमा कतै बालबालिकालाई राखेको हुन सक्ने भन्दै सैनामैना र बुटवलका होटलमा सर्च गरेको थियो।
अनुसन्धान गर्दै जाँदा सोही दिन खेमले बुटवलबाट बिर्तामोड जाने टिकट काटेको पाएपछि प्रहरीले फलो गर्दै गयो। ‘बिर्तामोड पुगेपछि खेमले दाहाल परिवारलाई फोन गरेर बुडी र छोरी पठाइदेऊ, मैले यिनीहरूलाई ल्याएर आउँछु भनेर फोन गर्यो। त्यही क्रममा उनीहरूले त्यहाँबाट बुटवल आउने टिकट समेत काटिसकेका थिए। त्यही क्रममा खेमलाई पक्राउ गर्न सफल भएका हौ,’केसीले भने।
खेमकी श्रीमती थिइन दाहाल परिवारमा
खिम बहादुर पौडेल क्षेत्रीकी श्रीमती अपहरित बालबालिकाकी फुपू दिदी हुन्। केही समय अघि खिम बहादुर पौडेलले श्रीमती भएको अश्लील भिडियो आफ्ना ससुरालीलाई पठाएको थियो। त्यसपछि खेम बहादुर र उनकी श्रीमतीबिच खटपट भएको थियो। भिडियो माइतमा पठाएपछि माइती पक्षले अभद्र व्यवहार भएको भन्दै खेम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
त्यसपछि उनी १५ दिन अघि मात्रै जमानीमा छुटेका थिए।
‘यो केसपछि उसले रिसइवी साँधेको थियो। मर्न र मार्न सक्छु भन्ने गरेको पनि अनुसन्धानबाट केही खुलेको छ,’ केसीले भने।
त्यसपछि खेमकी श्रीमती प्रसिद्ध र प्रसन्नाका घरमा बस्दै आएकी थिइन। ‘उसले मैले तिमीहरूका छोराछोरी फिर्ता ल्याए अब मलाई बुडी र छोरी पटाइदेऊ भनेर परिवारमा भनेकाले यो आर्थिक लेनदेनको अपहरण थिएन भन्ने बुझिन्छ। यो रिसकै लागि हो भन्ने अहिले भन्ने अवस्था छ,’ प्रहरी प्रमुख केसीले भने.
किन लगे बिर्तामोड ?
अपहरणकारी खेमले दाजु बहिनी प्रसिद्ध र प्रसन्नलाई किन बिर्तामोडमा पुर्याए भन्ने प्रश्नमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।
यद्यपि प्रारम्भिक अनुसन्धानका क्रममा खेम २० वर्ष देखि भारतको दार्जिलिङ क्षेत्रमा बसेकाले उनीहरूलाई उतै लैजान सक्ने भएकाले बिर्तामोड लगेको हुन सक्ने उनले बताए।
‘हामीले बेलहिया नाका, कृष्णनगर लगायतका नाकामा प्रहरी युनिट खटायौ। तर खेमले बिर्तामोड प्रसिद्ध र प्रसन्नालाई पुर्याएको थाहा भयो। यसको अर्थ केही परिवारमा अझ खटपट भए भारतमा लैजान सजिलो हुने भएकाले बिर्तामोड लगेको देखिन्छ,’ उनले भने।
प्रहरीले बालबालिकाले लामो बाटो यात्रा गर्दा समेत केही प्रतिकार वा रोइकराई नगरेकोबारे सोधपुछ गरेको थियो। घरपरिवारको झगडाबारे दाजु र बहिनी दुवैलाई थाहा भएको र रुने कराउने भए झन् दुःख दिने ठानेर प्रतिकार गर्न नसकेको उनले बताए।
अपहरण गर्ने खेमलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा चलाएको छ ।
फागुन ७, २०७८ शनिबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।