स्कुल हिँडेका दाजुबहिनी बाटोमै अपहरित, आफ्नै फुपाजुले झापा पुर्‍याए

स्कुल हिँडेका दाजुबहिनी बाटोमै अपहरित, आफ्नै फुपाजुले झापा पुर्‍याए

बुटवलः रुपन्देहीको सैनामैना-४, मुर्गियामा रहेको प्रभात बोर्डिङ स्कुलमा अध्ययनरत १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाल बिहीबार बिहान ९ बजे स्कुल जान भन्दै बस चढे। तर उनीहरू विद्यालय पुगेनन्।

गाडी स्कुलसम्म आइनपुग्दै बीच बाटोमै प्रसिद्ध र प्रसन्नालाई ‘फोटो खिच्ने र घुम्ने’ भन्दै गाडीबाट झारियो। 

अन्य दिन सधैँ समयमै घर पुग्ने प्रसिद्ध र प्रसन्ना बिहिबार साँझसम्म घर फर्किएनन्। बुवा प्रेम दाहाल र आमा पुष्पा दाहालको मनमा चिसो पस्यो। उनीहरूले तत्काल ईलाका प्रहरी कार्यालय रन्यौरा (सालझण्डी)मा खबर गरे। उनीहरूले लगत्तै लख काटे- अपहरण गर्ने आफन्त नै हुन्।

त्यसपछि दाहाल दम्पत्तीले प्रहरीलाई सैनामैना वडा न.५ घमाहा खोला बस्ने खिमबहादुर पौडेलले अपहरण गरेको हुनसक्ने भन्दै जानाकारी गराए।

संवेदनशील घटना भएकाले रन्यौराले जिल्ला प्रहरी कार्यालयको समन्वय र सहयोग माग्यो। अपहरणकर्ता भनिएका व्यक्तिको खोजीमा प्रहरीले सबैतिरका युनिटमा सर्कुलर गर्यो। जिल्लाबाहिर पनि खोजीका लागि प्रहरीले सर्कुलर गर्यो।

जिल्लाभित्र र बाहिर खोजी कार्य तीव्र बनाएको प्रहरीले शुक्रबार दिउँसो अपहरणकारीले प्रसिद्ध र प्रसन्नालाई झापा पुर्याएको खबर पायो।लगत्तै झापाको जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणमा परेका दाजुबहिनीसहित अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भयो।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले दाजुबहिनी हराएको खबर आएपछि जिल्लाभित्र र बाहिर खोजी गर्दा झापा पुर्याएको खबर थाहा भएपछि त्यहाँबाट उनीहरूलाई सकुशल उद्धार गर्न सफल भएको बताए। अपहरण गर्ने खिमबहादुर पौडेलाई प्रहरीले पक्राउ गरेको छ।

पारिवारिक रिसइबीले अपहरण
सैनामैना- ५ घमाहा खोला बस्ने खिमबहादुर पौडेल क्षेत्री नाताले प्रेम दाहालका बहिनी ज्वाइँ हुन्। बहिनी ज्वाइँसँगको सम्बन्धमा समस्या भएपछि उनीहरूलाई अपहरण गरेको हुनसक्ने प्रहरीले बताएको छ।

‘यथार्थ बाहिर आउँछ। अनुसन्धान भइरहेको छ। पारिवारिक रिसइबी नै प्रमुख कारण रहेको प्रारम्भिक चरणमा देखिन्छ’, डीएसपी पौडेलले भने।

अपहरण गर्ने खेम १५ दिनअघि साइबर क्राइमअन्तर्गत प्रहरी थुनामा परेर धरौटीमा छुटेका थिए। त्यसैको बदला लिन बालबालिकालाई लिएर हिँडेको हुनसक्ने उनले बताए।

फागुन ७, २०७८ शनिबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।