पोखरामा खुल्यो रात्रिकालीन व्यवसायदेखि सिनेमा घर

पोखरामा खुल्यो रात्रिकालीन व्यवसायदेखि सिनेमा घर

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा कोभिड–१९ को सङ्क्रमण बढेपछि गत माघमा स्थानीय प्रशासनले विभिन्न पेसा व्यवसायमा लगाएको रोक खुल्ला गरेको छ।

तेस्रो भेरियन्ट अन्तर्गतको ओमिक्रोनको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले भिडभाड हुने विभिन्न पेसा व्यवसायमा झन्डै डेढ महिना रोक लगाएको थियो।

प्रशासनले क्रमशः सङ्क्रमण घट्दै गएपछि यस अघि पेसा व्यवसायलाई वर्गीकरण गरेर सामाजिक दूरी र आवश्यक स्वास्थ्य मापदण्ड कायम गरी सञ्चालन गर्न अनुमति दिएको थियो। कास्कीमा माघ पहिलो सातादेखि प्रशासनले स्मार्ट लकडाउन गरेको थियो।

डेढ महिनापछि प्रशासनले धेरै भिडभाड र मानिसहरूको आउजाउ बढी हुने सिनेमा घर, हेल्थ क्लब पार्टी प्यालेस लगायतमा लगाएको रोक आज देखि खुल्ला गरेको हो।

कोरोनाको सङ्क्रमण क्रमशः घट्दै गएकाले भिडभाड हुने पार्टी प्यालेस सिनेमा हल लगायत सञ्चालनमा लगाएको रोक हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

प्रजिअ आचार्यका अनुसार सिनेमा घर, हेल्थ क्लब जिम खाना, स्वीमिंग पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटी पार्लर लगायतका व्यवसाय सञ्चालनका लागि खुल्ला गरेको छ।

प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी व्यवसाय खुल्ला गर्ने दिने निर्णय गरेको हो। त्यस्तै डान्स बार, दोहोरी साँझ, नाच घर, क्लब र रेस्टुरेन्ट लगायत रात्रिकालीन व्यवसयाहरु समेत खुल्ला गरिएको आचार्यले बताए। रात्रिकालीन व्यवसाय सुरक्षा मापदण्ड पालना गदै मध्यरात १२ बजेसम्म सञ्चालन गर्न पाउने गरी खुल्ला गरिएको हो।

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएसँगै धेरै भिडभाड हुने स्थानमा प्रशासनले रोक लगाएको थियो। कोरोना सङ्क्रमण दर बिस्तारै घटेसँगै प्रशासनले रोक लगाइएका क्षेत्रहरूलाई खुल्ला गरेको छ।

फागुन ६, २०७८ शुक्रबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।