बुटवलमा नयाँ ट्रायल सेन्टर, एकैपटक हजारभन्दा बढीले परीक्षा दिन सक्ने (फोटोफिचर)

बुटवलमा नयाँ ट्रायल सेन्टर, एकैपटक हजारभन्दा बढीले परीक्षा दिन सक्ने (फोटोफिचर)

बुटवलः सवारी लाइसेन्सका लागि बुटवलमा अत्याधुनिक ट्रायल सेन्टर निर्माण भएको छ। बुटवल- १३ मा दुई बिघा जग्गा व्यवस्थापन गरी ट्रायल सेन्टरमा निर्माण गरिएको हो।

यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार एकैपटक एक हजारभन्दा बढीले ट्रायल दिन सक्ने क्षमतासहितको सेन्टर निर्माण भएको छ। प्रदेश सरकारले कार्यालयलाई सेन्टर हस्तान्तरण समेत गरिसकेको छ।

यस्तै यहाँ एकैदिन आठ सय मोटरसाइकल र दुई सय चारपाङ्ग्रे सवारीको लाइसेन्स ट्रायल परीक्षा लिन सकिने यादवको भनाइ छ।

यसअघि बुटवल–११ देविनगरमा ड्राइभिङ संघले तयार गरेको सेन्टरमा भाडा तिरेर कार्यालयले ट्रायल परीक्षा लिँदै आएको थियो। ट्रायल सेन्टर र लाइसेन्सको कार्यालय एकै ठाउँमा भएकाले जनताले सहज रूपमा ट्रायल दिन सक्ने उनले बताए।

कार्यालय परिसरभित्रै बनाइएको सेन्टरमा परीक्षार्थी, ट्राफिक प्रहरी र कार्यालयका कर्मचारीबाहेक अरूलाई परीक्षाको समयमा निषेध गरिएको र यसो हुँदा विचौलियाको प्रवेश नहुने यादवले बताए।

साथै कार्यालयले सवारी साधनको व्यवस्था समेत आफैँ गरेको छ। कार्यालयले टेण्डर प्रक्रिया मार्फत कम्पनीको छनोट गरी ट्रायल सेन्टरभित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुई पाङ्ग्रे सवारी लाइसेन्स अन्तर्गत ६/६ वटा मोटरसाइकल र स्कुटरको व्यवस्था गरेको छ भने चार पाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सीको व्यवस्था गरेको छ।

श्यामसुन्दर बीएन जेभीसँग ५ वर्षका लागि सम्झौता गरिएको बताउँदै यादवले ठूला तथा साना सवारीका नयाँ साधन समेत उक्त कम्पनीले ट्रायल परीक्षाका लागि उपलब्ध गराउने बताए।

अबको दुई महिनामा नयाँ ट्रायल सेन्टरबाटै परीक्षा हुने कार्यालयको भनाइ छ।

तस्बिरहरू: विकाश पराजुली

फागुन ६, २०७८ शुक्रबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।