हलिउडसँग नडराएका नेपाली फिल्म साउथसँग डराउन थाले
काठमाडौं : साउथ इण्डियन फिल्म 'थिरिमाली' नेपालमा पनि छायांकन भयो। नेपालकी चर्चित नायिका स्वस्तिमा खड्काले फिल्ममा काम गरिन्। साउथ फिल्ममा नेपालकी नायिका भन्ने बित्तिकै फिल्मको चर्चाले चुली छोयो।
ट्रेलर सार्वजनिक हुँदा स्वस्तिमालाई झल्याक-झुलुक देखाइएको थियो। तर युट्युबमा मलयालम भाषामा सार्वजनिक भएको ट्रेलरमा झण्डै ७० प्रतिशत नेपाली दर्शक पुगे प्रतिक्रिया जनाउन।
फिल्म निर्माण टोली उत्साहित भएर स्वस्तिमा मात्रै भएको गीतको टिजर सार्वजनिक गर्यो। नेपाली दर्शक स्वस्तिमाको लुक्समा पागल बने। फलाम तातेको महसुस गरेर केही दिनमै स्वस्तिमा फुलफिचर भएको हिन्दी गीत सार्वजनिक गरियो, 'रंग बिरंगी…।'
गीतमा कयौं रियाक्सन भिडियो बने। स्वस्तिमाका फ्यानहरुको प्रशंसा यतिधेरै आयो कि, गीत रिलिज भएको झण्डै एक महिना पुग्दा समेत युट्युबमा नेपाली म्युजिकको ट्रेण्डिङबाट बाहिरिन सकेको छैन।
गीत सार्वजनिक भएपछि यसले विवाद पनि पैदा गर्यो। नेपाली नायिका जसिता गुरुङ लगायतका तस्बिरको दुरुपयोग गरेको भनेर आवाज उठ्यो। बिनाअनुमति कोठीमा काम गर्ने युवतीको रूपमा उनीहरुको फोटो प्रयोग गरिएको थियो। लगत्तै निर्माण टोलीले अञ्जानमा गल्ती भएको भन्दै माफी माग्यो र ती दृश्यहरु हटायो।
अर्को विवाद आयो, नेपालमा कोठी देखाइएको बारे। नेपालमा इण्डियाको जस्तो यौन व्यवसायका लागि छुट्टै कोठी खोल्ने, रेड लाइट एरिया बनाउने जस्ता कार्य भएका छैनन्।
फिल्ममा नेपाललाई गलत तरिकाले व्याख्या गरिएको भनेर केही फिल्म विज्ञले प्रश्न गरे र तातो बहसको सिर्जना गरे। तर केही दिनमै त्यो बहस सेलायो।
नेपालकै अर्की चर्चित नायिका आँचल शर्मा पनि साउथ इण्डियन फिल्ममा अनुबन्ध भइन्। 'हिटम्यान' नामको फिल्ममा उनी अनुबन्ध भएपछि यसले पनि एक खालको चर्चा चलायो। उनले गरेका कार्यहरु भने सार्वजनिक हुन बाँकी छ।
नेपाली बजार साउथ इण्डियाले देखेको छ
‘नेपालमा फिल्मको बजार नै छैन।’ नेपाली फिल्ममा लगानी गरेका प्रायः निर्माताले भन्ने शब्द हो यो। कतिपयले त हलमा गएर फिल्म हेर्ने दर्शक विदेशिएकाले फिल्म चलेन समेत भन्ने गरेका छन्।
अहिलेसम्म भएका कमाइलाई अध्ययन गर्ने हेर्ने हो भने, हलमा गएर कुल जनसंख्याको एक प्रतिशतले मात्रै हेर्ने हो भने पनि नेपाली फिल्म सुपरहिट हुन्छ। जुन कुरा साउथ इण्डियन फिल्महरुले महसुस गरिसकेका छन्।
'युट्युबमा नि:शुल्क फिल्म देखाएर साउथले नेपाली दर्शक जम्मा पारिसकेको छ। त्यहाँका प्रायः कलाकारका डाइहार्ट फ्यान नेपाली बनिसकेका छन्। अब जस्ता कलाकारको फिल्म यताको हलमा लागे पनि दर्शक ओइरिन्छन्,' समीक्षक तथा पत्रकार सामिप्यराज तिमल्सिना भन्छन्, 'सानो स्क्रिनमा रमाएका दर्शक, ठूलो हलमा गुणस्तर सहित फिल्म हेर्न पाउँदा नेपाली फिल्म माटोमा मिल्छ।'
नेपाल मात्रै हैन, साउथ फिल्मसँग बलिउड फिल्म उद्योग समेत डराउन थालेको चर्चा भारतीय सञ्चार माध्यममा हुन थालेको छ। जसले गर्दा बलिउडले कमजोर डब र रिमेकमा आफ्ना दर्शक अड्याएको आरोप उताका फिल्मकर्मीहरुको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रियकरण गर्न नेपाल जस्तो उपयुक्त बजार साउथ इण्डियालाई अरु छैन।
हलिउडसँग नडराएका नेपाली फिल्म साउथसँग डराउन थाले
नेपाली फिल्म क्षेत्रमा 'चपली हाइटी ३' को भने मजाक नै बन्यो। २०७६ साल चैतलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म २०७८ फागुन १ गतेसम्म आइपुग्दा पनि प्रदर्शनमै अड्किरहेको छ। अहिले फिल्म चले पनि दर्शक छैन।
फिल्म क्षेत्रका मानिसहरु यो फिल्मका निर्माता अर्जुन कुमारलाई जस्तो त दुस्मनलाई पनि नपरोस् भन्ने कामना गर्न थालेका छन्।
निर्माताले फिल्मको प्रदर्शन मिति बिरालोले बच्चा सारेजस्तो सारिरहे। 'स्पाइडर म्यान'सँग भन्दा 'पुष्पा' सँग डराएको सार्वजनिक कार्यक्रमहरुमा भनिरहे। कोही फिल्मकर्मी यो विषयमा नबोलेको बारे भडास पोखे- अब नेपाल पाकिस्तान बन्छ।
ती निर्माताले गरेको आकलन केही हदसम्म मिल्नेवाला छ। बलिउड छिरेपछि पाकिस्तानी फिल्म ध्वस्त भएको थियो। अहिले पनि त्यहाँका कलाकार टिभी ड्रामामा रमाउनुको विकल्प छैन। किनभने नेपाल जस्तै पाकिस्तानमा बनेका फिल्मले पानी पिउन पाउँदैनन्। दर्शक सबै बलिउडले तानेको छ।
कुन फिल्म कोसँग जुध्दैछ
हल खुलेसँगै ठूला ब्यानर भनिएका कम्पनीले बनाएका फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेका छन्। अन्य समयमा विदेशी फिल्मदेखि डराउने निर्माताहरु अहिले भिड्न कम्मर कसेका छन्। तर पानी भन्ने सम्भावना समेत नेपाली फिल्मको नरहेको अनुमान फिल्मकर्मीहरुले गर्न थालिसकेका छन्।
'म यस्तो गीत गाउँछु', 'गंगुबाइ काठियावाडी' सँग जुध्दैछ। नेपालमा बायोपिक खासै नचल्ने भएकाले म यस्तो गीत गाउँछुले बाजी मार्ने सम्भावना भएको फिल्म विश्लेषकको अनुमान छ। फिल्म फागुन १३ गते प्रर्दशन हुँदैन।
त्यस्तै, 'आकाशे खेती' र 'राधे श्याम' जुध्दैछन्। गैरकानुनी काम गरेर पैसा कमाउन चाहने विषयमा बनेको फिल्म आकाशे खेती र बाहुबली स्टार प्रभाषको फिल्म राधे श्याम फागुन २७ मा प्रदर्शन हुँदैछ। भविष्य देख्ने केटोले प्रेममा देखेको उतारचढाव फिल्ममा देख्न सकिन्छ।
त्यस्तै फिल्म 'चिसो एस्ट्रे' र 'बच्चन पाँडे'को घम्साघम्सी चल्नेछ, चैत ४ गते। गाउँबाट सहर आएर आधुनिक बन्न खोजेको युवाको कथा चिसो एस्ट्रेले भन्नेछ भने बच्चन पाँडेमा अक्षय कुमारले एक्सन देखाउनेछन्।
एनटिआर, राम चरण र राजा मौलीको 'आरआरआर' चैत ११ गते प्रदर्शन हुँदैछ। योसँग जुध्ने तयारीमा छ, 'हेल्लो जिन्दगी'।
यो फिल्मको निर्माण टोलीले पहिल्यै हार मानेर प्रचार-प्रसारमा समेत समय दिएको छैन। सत्य कथामा आधारित भनिएको फिल्मको यो लेख तयार पार्दासम्म ट्रेलर समेत सार्वजनिक गरिएको छैन।
एकै दिन भिड्दैछन्, बहुप्रतिक्षित फिल्म 'ए मेरो हजुर ४', 'लालसिंह चड्डा' र 'केजीएफ'। फिल्म वैशाख १ गते नेपालका हलहरुमा लाग्नेछन्।
फागुन ६, २०७८ शुक्रबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।