श्रमिक अस्पताल निर्माण गर्न सरकारको सैद्धान्तिक सहमति
काठमाडौंः बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसअघि नै मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको सञ्योजकत्वमा अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका थिए।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार सो टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन प्रारूपलगायत पक्षमा अध्ययन गरिरहेको छ। देशको आर्थिक विकासमा योगदान गरिरहेका श्रमिकलाई सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था गर्न छुट्टै अस्पताल निर्माणलाई मन्त्री श्रेष्ठले प्राथमिकताका साथ मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए।
७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेशागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूका परिवारका सदस्यलाई पनि सहुलियतमा उपचार सेवा उपलब्ध गराउने लक्ष्य छ।
फागुन ६, २०७८ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।