गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि आइपुग्यो एरो थाई

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारबाट क्यालिब्रेशन फ्लाइट हुँदै छ। विमानस्थल निर्माणको काम सम्पन्न भएपछि क्यालिब्रेशन फ्लाइट हुन लागेको हो ।
विमानस्थलको ग्राउन्ड र जहाजबिचको सूचना आदानप्रदान सही छ छैन भनेर परीक्षण गर्नेलाई क्यालिब्रेशन भनिन्छ। जसलाई उडानबाट परीक्षण गरिन्छ। विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भोलि शुक्रवार बिहानदेखि परीक्षण उडान हुने र त्यसका लागि लागि थाइल्यान्डबाट एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज भैरहवा आई सकेको बताए।
भोलि बिहान ११ बजे परीक्षण उडान हुने बताइएको छ। परीक्षण उडान, बिहान, दिउँसो, साँझ गरी एक सातासम्म चल्नेछ। परीक्षण उडानका क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन्।
आन्तरिकतर्फका अन्य उडान बिहानदेखि १० बजे र साँझका उडान ५ बजे मात्र हुने उनले बताए। परीक्षण उडान सम्पन्न भएपछि आगामी २ जेठ गते बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिमाको दिनलाई तोकेको इन्जिनियर अधिकारीले जानकारी दिए।
दुई साताअघि मात्र विमानस्थलको निरीक्षण गर्न आइपुगेका नागरिक उड्यनमन्त्री प्रेम आलेले पनि बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान हुने गरी काम सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका थिए।
परीक्षण उडान हुनुभएपछि यस क्षेत्रका उद्योगीहरू समेत उत्साहित भएका छन्। रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान हुनु बहुप्रतिक्षित भएकाले अब नियमित उडानको प्रतीक्षामा निजी क्षेत्र भएको बताए।
विमानस्थल निर्माणकै क्रममा रुपन्देही जिल्लामा धेरै ठुलो रकम पर्यटकीय गतिविधिमा निजी क्षेत्रले खर्चेका छन्। लुम्बिनी, भैरहवा, बुटवल लगायतका सहरमा ठुला होटलहरु समेत विमानस्थलकै आशा गरेर व्यवसायीहरूले सञ्चालनमा ल्याएका छन्। त्यसै कारणले पनि निजी क्षेत्र सबैभन्दा बढी उत्साहित भएको उनले बताए।
परीक्षण उडान र विमानस्थल स्थायी सञ्चालनका लागि नेपाली इन्जिनियर सहितको प्राविधिक टिमका लागि भैरहवामा २ महिने तालिम सञ्चालन गरिएको थियो। तालिममा विमानस्थलमा जडान गरिएका उपकरणको सञ्चालन कसरी गर्ने भनेर सिकाइएको थियो।
तालिममा अमेरिका, अस्ट्रिया र थाइल्यान्डका प्रशिक्षक रहेका थिए । भैरहवा, काठमाडौँ, नेपालगन्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इन्जिनियर तालिममा सहभागी थिए।
फागुन ५, २०७८ बिहीबार २०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।