एमसिसी पारित गराउन ओली देखाएर प्रचण्ड-नेपाल तर्साउँदै देउवा
काठमाडौँ : आगामी स्थानीय तहको चुनाव होस् वा सङ्घीय चुनाव प्रतिपक्षी एमालेले नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी देखेको छ। सत्ता गठबन्धन चुनावमा गए आफू बलियो रहेको क्षेत्रमा पनि चुनाव जित्न सहज नहुने देखेरै उ अहिलेको सत्ता गठबन्धन भत्काउन चाहन्छ।
त्यसैले त उसले परमादेशी सरकार र गठबन्धन नभई ठगबन्धन भन्दै सरकारको निरन्तर आलोचना गर्दै आइरहेको छ। जब लाभ हानी अनि मोलमोलाइको अवस्था आयो उ मौनझैँ भएर गठबन्धन भत्काउने दाउ हेरिरहेको छ।
आगामी निर्वाचनमा एकीकृत समाजवादी अनि माओवादी केन्द्रलाई कमजोर बनाउने थप दाउ देखिन्छ एमालेको। यसका लागि पनि वर्तमान गठबन्धन नभत्काई हुन्न।
त्यसैका लागि उसले बार्गेनिङ टुल्स बनाइरहेको छ अमेरिकी सहयोग परियोजना। उसले गठबन्धन छाड्ने हो भने एमसिसीमा सघाउन तयार रहेको सन्देश पटक-पटक दिइसकेको छ सत्ताको प्रमुख नेपाली कांग्रेसलाई।
तर एमालेका नेताहरू सार्वजनिक रूपमा गठबन्धन भत्काउन खेलेको खेल स्विकार्दैनन्। उनीहरू सत्ता गठबन्धन मिले एमसिसी पास भइहाल्छ कि चाहियो एमाले भन्ने दाबी गर्दै आएको छ।
‘सत्ता गठबन्धनसँग १६५ सांसद छन्, एक तिहाइ सदस्य भए हुन्छ। पास गराउने वा फेल गराउन एमालेको कुनै आवश्यकता नै छैन। त्यसैले हामी मौन छौँ,’ एमाले सांसद सरिता न्यौपाने भन्छिन्।
दलहरू एमसिसीलाई चुनावी अजेण्डा बनाउने दाउमा छन्। समस्या एमसिसी पास गर्दा आफैँले बनाएको एन्टी एमसिसी माहौल आफैँ विरुद्ध खनिने जोखिम छ। त्यसैले कांग्रेस बाहेकका दलहरू सकेसम्म यो निर्वाचन अगाडि पास होस् भन्ने चाहँदैनन्।
कांग्रेस भने प्रारम्भदेखि नै एमसिसी पारित गर्ने पक्षमा छ। यसका लागि सकारात्मक वातावरण बनाउन उसले एसिसीको विषयमा विकसित घटनाक्रमलाई हाते पुस्तकमार्फत जनतामा पुर्याउने तयारी गरिरहेको छ।
अर्थ मन्त्रालयले तयार पारेका एमसिसी सम्बन्धी ११ बुँदे स्पष्टीकरण तयार पारिसकेको छ उसले। बालुवाटारबाट सार्वजनिक भएको स्पष्टीकरणमा एमसिसी राष्ट्र हितमा भएको दर्साइएको छ।
एमसिसीलाई चुनावी अजेण्डा बनाएर आफ्नो पल्ला भारी बनाउन दलहरू लागि परेका छन्। जसको लागि अनेक सम्भावना खोज्दै आफ्नो ‘फेस सेभिङ’ मा दलहरू लागेका छन् ।
चुनावी फाइदा हेर्दै एमाले
एमालेले एमसिसीबाट चुनावी लाभ हानी लिन खोजेको हो भन्ने प्रश्नमा एमाले सांसद न्यौपाने भन्छिन्, ‘हामी प्रतिपक्षमा छौँ। चुनावमा एमसिसीको लाभ भए पनि हानी भए पनि सत्तापक्षले बेहोरोस्। त्यसको जस-अपजस उनीहरूले नै बेहोर्छन्।’
तर राजनीतिक विश्लेषकको मत अलि फरक छ यो विषयमा। ‘हरेक दलहरूले एमसिसीलाई चुनावी अजेण्डा बनाएका छन्। राष्टहित र कूटनीतिक मर्यादा समेत छायामा पारेका छन्,’ राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँ भन्छन्।
अनि एमाले सांसद न्यौपानेले एमसिसीलाई पार्टीले चुनावी लाभहानीको रूपमा नलिएको दाबी गरे पनि उनकै पार्टीको महासचिव शङ्कर पोखरेलको सक्रियताले भने अर्कै दृश्य देखाउँछ।
उनी संस्थागत र व्यक्तिगत रूपमा गठबन्धन भत्काउन सक्रिय छन्। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई वातावरण तयार बनाउन खटाएका छन्। उनीहरू कांग्रेसका नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सम्पर्कमा छन्। उता शेखर कोइराला समूहका नेता मीनेन्द्र रिजाल पनि एमाले नेताहरूसँग सम्पर्कमा छन्।
‘कांग्रेसलाई घमन्ड छ’
एमसिसी टेबल गरे त्यसको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय र विपक्षमा मत हालेर सरकारमा बस्नु नैतिकता नरहने उसको निर्णयमा कांग्रेसले पर्ख र हेर को नीति लियो। उसले गठबन्धनमा रहेका दलका नेताहरूलाई तर्साउन एमाले कार्ड मजाले खेलिरहेको छ।
जब-जब गठबन्धनका नेताहरू एमसिसीको विपक्षमा जान्छन् उनी आफ्ना दूतमार्फत ओलीसँग छलफल गराउँछन् र सूचना लिक गराउँछन् आफ्नो सचिवालयमार्फत। यसले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूमा हामीले छाडे कांग्रेस एमालेसँग मिल्छ भन्ने मनोवैज्ञानिक दबाब बढाउँछ।
दबाब बढाउन बिहीबार बिहान भेट्न आएका प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने भए छाड्नुस् तर एमसिसी टेबल हुन्छ भन्ने सन्देश दिएका थिए।
माओवादीको घुर्क्याइपछि कांग्रेसले एमसिसी पास गर्न प्रतिपक्षी एमालेका साथ खोजेको पनि छ। जसको लागि सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की र नेता मीनेन्द्र रिजालले ओलीलाई भेटे। कार्कीले टेलिफोन गरे।
गठबन्धन टुटेमा सरकारमा नगई कांग्रेसलाई सघाउने र एमसिसी पारित गर्न सभामुख अग्नि सापकोटा विरुद्ध महाअभियोग लगाउने एमालेको सर्त देखिन्छन्।
‘कांग्रेसलाई जसरी पनि चुनाव जितिन्छ भन्ने घमन्ड छ। जनमत जे जस्तो भए पनि एमसिसीले उसको जनमत प्रभाव पार्दैन भन्ने उसको बुझाई छ। त्यसैले उसले सम्भावित कामहरू सबै अपनाउन सक्छ,' विश्लेषक चापागाईँले भने।
समाजवादी-माओवादी गठबन्धन
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्दै आएको कुरा हो, ‘प्रचण्ड र मेरो मन मिल्छ।’ पार्टी एकता पनि असम्भव नरहेको सार्वजनिक वक्तव्य दिँदै आएका नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबिच चुनावी गठबन्धन भए अचम्म मान्नुपर्ने कारण देखिँदैन पनि।
प्रतिगमन विरुद्ध बनेको गठबन्धन भएकाले टुट्ने नभई कुनैले छोड्ने हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
‘गठबन्धनको आवश्यकता छ र रहिरहन्छ। जो निस्किए पनि कुनै एउटा निस्कने हो। गठबन्धन भत्किने होइन,’ प्रवक्ता खतिवडाले भने। माओवादी नेता गिरिराजमणि पोखरेल पनि गठबन्धन गर्ने अरू सम्भावना रहेको बताउँछन्।
‘चुनावी गठबन्धनमा त अनेक सम्भावना भइहाल्छ नि। बाम दलहरूबिच गठबन्धन हुनु त नौलो होइन,' उनले भने।
फागुन ५, २०७८ बिहीबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।