सलमान खान नेपाल आउँदै
काठमाडौँ : बलिउडका चर्चित अभिनेता सलमान खान वैशाखमा नेपाल आउने भएका छन्। वैशाख ३ गते दशरथ रङ्गशालामा आयोजना हुने एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
सलमानलाई ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। कोरोना सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय चलायमान बनाउन खानलाई नेपाल ल्याउन लागिएको आयोजक संस्थाको दाबी छ।
साङ्गीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका भारतीय कलाकारहरू समेत सहभागी हुँदैछन्।
२०७४ को फागुनमै ओडीसीले सलमानलाई नेपाल ल्याउने तयारी गर्दै ‘दबंग: द सलमान खान लाइभ इन नेपाल’ शोको तयारी गरेको थियो। तर पछि विवाद भएपछि कार्यक्रम रोकिएको थियो।
सलमानको भाइ सोहेल खान काठमाडौँ आएर पत्रकार सम्मेलन समेत गरे पनि नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि कार्यक्रम रोकिएको थियो।
फागुन ५, २०७८ बिहीबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।