महावीर पुनलाई ‘गण्डकी रत्न’, प्रदेश सभा सदस्य सरहको सुविधा पाउने

महावीर पुनलाई ‘गण्डकी रत्न’, प्रदेश सभा सदस्य सरहको सुविधा पाउने

पोखराः गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। प्रदेश सरकारले बुधबार चौथो वार्षिकोत्सव समारोहमा म्याग्दीका पुनलाई विशिष्ट व्यक्तिका रूपमा विभूषित गर्ने घोषणा गरेको हो।

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर विज्ञान तथा प्रविधिको विकासमा भूमिका खेलेका पुन यसअघि नै अन्तर्राष्ट्रियस्तरको रोमन म्यागासेसेबाट सम्मानित भइसकेका छन्। 

सरकारले यसअघि प्रदेशमा रहेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई विशिष्ट व्यक्ति सम्मान गर्नका लागि कार्यविधि बनाएको थियो। पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो।

सरकारले पहिलो वर्ष एक जनालाई मात्रै सम्मान गर्ने निर्णय गरी मन्त्रिपरिषद्मा पुनको नाम पठाएको हो। 

यसअघि आन्तरिक मामिला मन्त्रालयले ४ माघमा १५ दिने सूचना जारी गर्दै सम्मानका लागि आवेदन मागेको थियो। त्यसमा कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई/दुई र लमजुङका एक जनाले आन्तरिक मामिला मन्त्रालयमा निवेदन दिएका थिए।

कस्ता व्यक्तिले पाउँछन ‘गण्डकी रत्न’?
‘गण्डकी रत्न’ बाट विभूषित गरिने व्यक्ति शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत क्षेत्रमा योगदान पुर्याएका मध्येबाट छनोट गरिने कार्यविधिमा उल्लेख छ।

सम्मानका लागि गण्डकी प्रदेशको बासिन्दा रहेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको हुनुपर्ने छ। सरकारले बनाएको सिफरिस समितिले सामाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति छनोट गरेर पेश गरेपछि मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेसँगै सरकारले विशेष सम्मान गर्ने कार्यविधिमा जनाइएको छ।

‘गण्डकी रत्न’ बाट सम्मानित हुने व्यक्तित्व सामाजिक, आर्थिक कार्यबाट सामाजिक सद्भाव, रोजगारी, प्रविधि विकास, संस्कृति, कला संरक्षण लगायत समाज सेवाका क्षेत्रमा अब्बल र अनुकरणीय कार्य गरेको हुनुपर्ने छ। 

सरकारले सम्मान गर्ने व्यक्ति छनोट गर्नका लागि सिफारिस समितिमा प्रदेश सरकारका वरिष्ठतम मन्त्रीको अध्यक्षतामा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री र प्रमुख सचिव सदस्य रहने कार्यविधिमा उल्लेख छ। 

यस्तो हुनेछ सेवा सुविधा
सम्मानित हुनेलाई सार्वजनिक सभा–समारोहमा प्रदेश सभा सदस्य सरहको मान्यता सहित सेवा, सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ। त्यसैगरी प्रदेश सरकार मातहत रहेका अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार सेवा, प्रदेशभित्र रहेका विमानस्थलमा अतिविशिष्ट कक्षको सुविधा र अन्य सार्वजनिक सेवाको क्षेत्रमा समेत सेवाका लागि प्राथमिकता दिने कार्यविधिमा उल्लेख छ। 

सम्मानित व्यक्तित्वलाई विभूषित हुँदाको बखत सम्मानस्वरूप सुनजडित चाँदीको तक्मा र प्रमाणपत्र प्रदान गरिने छ। 

फागुन ५, २०७८ बिहीबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।