त्यसपछि बप्पी लहरीले मुम्बईको टिकट काटे

त्यसपछि बप्पी लहरीले मुम्बईको टिकट काटे

काठमाडौं : भारतीय संगीतकार बप्पी लहरी जसको डिस्को संगीतले संसारभरका संगीत पारखीलाई मन्त्रमुग्ध बनाउँथ्यो। फिल्मी संगीतमा पश्चिमा संगीतको समिश्रण गरी 'डिस्कोथेक' को एउटा नयाँ शैली नै विकसित गरेका थिए उनले।

आफ्नो यही नयाँ प्रयोगका कारण उनको धेरै आलोचना समेत भयो। तर विस्तारै दर्शक-स्रोताले उनको संगीत मन पराउँदै गए र फिल्म क्षेत्रमा 'डिस्को किङ' का रुपमा ख्याति कमाए।

२७ सेप्टेम्बर १९५२ मा पश्चिम बंगालको कोलकातामा जन्मिएका बप्पीको वास्तविक नाम आलोकेश लहरी थियो। उनको रुचि बाल्यकालदेखि नै संगीतमा थियो। उनका पिता अपरेश लहरी बंगाली गायक थिए भने आमा वनसरी लहरी संगीतकार तथा गायिका थिइन्।

आमा-बाबुले संगीतप्रतिको रुचि थाहा पाए र उनलाई यही बाटोमा अगाडि बढ्ने प्रेरणा दिए। तीन वर्षको उमेरदेखि नै तबला बजाउन सिक्न थालेका बप्पी बाल्यकालदेखि नै संगीतको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाउने सपना देख्थे। त्यसपछि उनले आमा-बाबुबाट संगीतको प्रारम्भिक शिक्षा लिए।

संगीतकारका रुपमा उनले आफ्नो करिअरको सुरुवात १९७२ मा रिलिज भएको बंगला फिल्म 'दादु' बाट गरे। तर त्यो फिल्मबाट उनलाई सफलता मिलेन।

त्यसपछि उनले आफ्नो सपना साकार पार्न मुम्बईको टिकट काटे। सन् २०७३ मा रिलिज भएको फिल्म 'नन्हा सिकारी' संगीतकारका रुपमा उनको करिअरकै पहिलो हिन्दी फिल्म थियो। तर यो फिल्मले पनि उनलाई निराश नै बनायो।

बप्पी लहरीको भाग्य सन् १९७५ मा रिलिज भएको फिल्म 'जख्मी' ले चम्कायो। सुनिल दत्त, आशा पारेख, रीना राय र राकेश रोशनको मुख्य भूमिका रहेको यो फिल्मको 'आओ तुम्हे चाँद पे ले जाएँ' र 'जलता है जिया मेरा भिगी भिगी रातो में' जस्ता गीत लोकप्रिय भए। 'जख्मी दिलोंका बदला चुकाने' बोलको गीत आज पनि होलीको समयमा निकै गाउने गरिन्छ।

सन् १९७६ मा उनको संगीत निर्देशनमा बनेको सुपरहिट फिल्म 'चलते चलते' प्रदर्शन भयो। यो फिल्मको किशोर कुमारको आवाजमा 'चलते चलते मेरा ए गीत याद रखना' गीत आज पनि स्रोताको मनबाट हट्न सकेको छैन। त्यसपछि उनले संगीतकारका रुपमा उनले पछाडि फर्किनु परेन।

सन् १९८२ मा रिलिज भएको 'नमक हलाल' उनको करिअरको महत्वपूर्ण फिल्म बन्न पुग्यो। प्रकाश मेहरा निर्देशित यो फिल्ममा अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए।

फिल्ममा किशोर कुमारले गाएको 'पग घुंघुरु बाँध मीरा नाची थी' गीत सुपरहिट भयो र बप्पी पनि सुपरहिट संगीतकारको रुपमा दरिए।

सन् १९८३ मा बनेको 'डिस्को डान्सर' फिल्मले त बप्पीलाई झनै उचाइमा पुर्यायो। यो फिल्ममा संगीतकार बप्पीको नयाँ स्वाद दर्शक/स्रोताले राम्रैसँग चाख्न पाए। यो फिल्मको 'आई एम ए डिस्को डान्सर', 'जिमी जिमी जिमी आजा आजा' जस्ता डिस्को गीतले स्रोतालाई झुमेर नाच्न बाध्य बनाए।

फिल्ममा आफूले संगीत भरेका गीतको सफलतापछि बप्पी लहरी डिस्को किङको रुपमा स्थापित भए।

फागुन ४, २०७८ बुधबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।