प्रचण्डको निर्णयले झस्किए देउवा, कांग्रेस भन्छ- माओवादीले धोका दियो

प्रचण्डको निर्णयले झस्किए देउवा, कांग्रेस भन्छ- माओवादीले धोका दियो

काठमाडौं : माओवादी केन्द्रले बुधबार संसदीय दलको बैठकबाटै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद्मा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा झस्किए।

बुधबारको संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी थियो। तर माओवादीले विपक्षमा मतदान गर्ने र आफ्नो पार्टीले सरकारमा बसिरहने नैतिक आधार पनि गुमाउने बताएपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए।

माओवादी संसदीय दलको बैठकअघि प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न चाहेका थिए। तर संसदीय दलको बैठकको सन्देश लिएर प्रचण्ड आफैं बालुवाटार पुगे।

उनले पार्टीभित्र फरक मत रहेकाले कुरा मिलाउन देउवासँग समय मागे। सोही अनुसार बिहीबार ३ बजे सत्ता-गठबन्धनको बैठक राखिएको छ र संसद् बैठक पनि शुक्रबारलाई सारिएको छ।

बिहीबारको बैठकमा पनि पुरानै अजेण्डा लिएर बैठकमा बस्ने माओवादीको तयारी छ। 

यथास्थितिमा एमसिसी पास नगर्ने भनेर माओवादी महाधिवेशनले नै पास गरेको थियो। सोही आधारमा आफ्नो दल अघि बढेको माओवादी केन्द्रको दावी छ।

‘हिजो नेकपा हुँदा पनि झलनाथजीको कार्यदलको कुरा पनि त्यही थियो। हाम्रो पार्टीको सर्वोच्च निकाय महाधिवेशनले पनि सोही कुरा गरेको छ,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने। 

अहिलेको गठबन्धन संसद् विघटनको प्रतिगमन विरुद्ध बनेको माओवादीको भनाइ छ। ‘गठबन्धन प्रतिगमनको विरुद्ध संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र राष्ट्रियताको रक्षाको लागि थियो। एमसिसी हाम्रो न्यूनतम साझा कार्यक्रममा पनि नपरेको र गठबन्धनमा पनि नपरेको विषय हो,’ पोखरेलले भने, 'आर्थिक परियोजना संसदबाट पारित हुने व्यवस्था छैन। यदि हुने हो भने राष्ट्रिय सहमतिबाट हुनुपर्छ। कम्तीमा गठबन्धनमा सहमति हुनुपर्छ।’ 

संसद् अवरोध कायमै रहेकाले एमसिसीको विषयमा बहस नै गर्न नपाइने शंका माओवादीमा छ। अमेरिकाको जवाफले पनि माओवादी सशंकित छ। भोलिको गठबन्धनको बैठकबाट वार कि पार गर्ने मनसायमा माओवादी छ।

‘एमसिसी टेबल भयो भने हामी बहिष्कार होइन, त्यहीं बसेर सामना गर्छौं,’ माओवादी नेता पोखरेलले भने। 

बुधबारको माओवादी संसदीय दलको बैठकले एमसिसीमा रहेका असमान सर्तहरु संसोधन नगरी पास गर्न नसकिने र जबर्जस्ती ल्याए पनि त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितिमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो।

बुधबारको माओवादीको निर्णयबाट कांग्रेस सशंकित छ। कांग्रेसका सांसदले माओवादीको व्यवहारलाई धोका भनेका छन्। 

प्रधानन्यायाधीश विरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धन नै तोड्ने चेतावनी दिएर धोका दिएको कांग्रेसका एक सांसदले बताए। 

‘पहिला हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं, हामी एमसिसीमा सहयोग गर्छौं भने। आज आएर सहमति तोड्ने कुरा गर्छन्,’ ती सांसदले भने। 

कांग्रेसकै अर्का एक सांसद पनि कम्युनिष्टहरुको बोल्ने र गर्ने व्यवहार फरक हुने बताउँछन्।

‘कम्युनिस्टहरुको झुटो बोल्ने बानी छ। हुन्छ पनि भन्ने फेरि साथीहरु मानेका छैनन् पनि भन्ने दोहोरो नीति लिइरहेका छन्,’ कांग्रेस सांसद बहादुरसिंह लामाले भने, ‘हामीले ओली सरकारको पालामा पनि ल्याउनूस्, हामी भोट हाल्छौं भनेकै हो। सत्ता र सत्ता बाहिर हुँदा हाम्रो एकै धारणा छ। भोलिको सत्ता गठबन्धनको बैठकले स्पष्ट पार्ला।’

शुक्रबारको बैठकमा एमसिसी टेबल गर्न तयारी
सरकारले फागुन ६ शुक्रबारको संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आउँदो संसद् बैठकमा एमसीसी टेबल गरिने जानकारी दिए।

बुधबारको संसद् बैठकबाट बाहिरिने क्रममा बडुले दुई दिन सहमतिको प्रयास गर्ने र आउँदो बैठमा टेबल गर्ने सहमति भएको  बताए। ‘दुई दिन समय बाँकी छ। सहमतिका लागि हामीले प्रयास गर्ने भएका छौँ। ६ गते सहमतिमै पेस गर्ने हाम्रो तयारी छ,’ उनले भने।

सहमति नभए के हुन्छ त भन्ने प्रश्नमा मन्त्री बडुले नकारात्मक कुरा गर्न अहिले जरुरी नभएको बताए। ‘सहमतिमै पेस गर्छौं भन्ने छ. अरू नकारात्मक कुरा नगरौँ। तर ६ गते टेबल हुन्छ। भएन भने के हुन्छ भनेर प्रश्न अहिले नगरौँ,’ उनले भने।

उता  नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य झलनाथ खनालले एमसिसी पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन्। 

बुधबारको संसद् बैठकपछि खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन। धाकधम्की दिएर हुँदैन।’

समाजवादी पनि यथास्थितिमा एमसिसी टेबल गर्न नदिने र पास गर्न नहुने पक्षमा छ। ‘यही अवस्थामा एमसिसी पारित गर्नुहुन्न भन्ने हाम्रो अडान यथावत् छ। जुनकुकै ठाउँबाट यसको विरोध हुन्छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने। 

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले एमसिसीको बारेमा कांग्रेसको धारणा सार्वजनिक गरेको थियो। एमसिसीबारे विकसित घटनाक्रमलाई हाते पुस्तिका बनाएर गाउँ-गाउँ पुर्याउने तयारी कांग्रेसको छ।

फागुन ४, २०७८ बुधबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।