एमसिसीको उपहार : रणमैदान राजधानी, ढुंगामुढा र अश्रुग्याँस

एमसिसीको उपहार : रणमैदान राजधानी, ढुंगामुढा र अश्रुग्याँस

काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुधबार दिनभर नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बन्यो। 

प्रदर्शनको क्रममा १५ जना प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिएका छन्।

मैनालीका अनुसार घाइतेमध्ये चार जना प्रहरी र दुई प्रदर्शनकारीको वीर अस्पतालमा उपचार भइरहेको छ। स्थिति तनावग्रस्त भएपछि दस राउण्ड अश्रु्रग्यास प्रहार भएको उनले जानकारी दिए। मैनालीले भने, ‘प्रदर्शनकारीले ढुंगा धेरै हाने आज। त्यही क्रममा प्रहरीले दस राउण्ड अश्रुुग्यास प्रयोग गर्नुप¥यो।’ 

वाइसिएल र प्रहरीबीच घम्साघम्सी
मध्याह्न १२ बजेसम्म नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन त थियो तर अवस्था असामान्य थिएन। एभरेष्ट होटल अगाडि माओवादी निकट भ्रातृ संगठन वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीले विरोध सभा तथा प्रदर्शन गरिरहेको देखिन्थ्यो।

उनीहरु ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘अमेरिकी दबाब मुर्दावाद’ जस्ता नारा लगाउँदै थिए।

त्यसैगरी ‘एमसिसी चाहिँदैन’, ‘नेपाली जनतालाई ढाँट्दैनौं’, ‘देखाउने  दाँत सहयोग, चपाउने दाँत प्रयोग’ जस्ता प्लेकार्ड बोकेर माओवादी भ्रातृ संगठन प्रदर्शनमा उत्रिएका थिए। बिजुलीबजारतर्फबाट अगाडि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँबानेश्वर चोक नपुग्दै एभरेष्ट होटल अगाडि नै रोकेको थियो। 

तर, प्रदर्शनकारी प्रहरीको निषेधित घेरा÷क्षेत्र तोडेर नयाँबानेश्वर चोक हुँदै संसद् भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी चल्दै गयो। प्रदर्शनकारीले घेरा तोड्न जोडबल गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो। प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गर्न थाले। क्षणभरमा नै प्रहरी (नेपाल÷सशस्त्र) र प्रदर्शनकारीबीचको झडपले स्थिति तनावपूर्ण बन्यो।

केहीबेर प्रहरी र प्रदर्शनकारीबीच पानीका फोहोरा र ढुंगा हानाहान भयो। सडकभरि प्रहरीलाई प्रहार गरेका ढुंगा बग्रेल्ती भए। केहीबेरको तनावपूर्ण वातावरणपछि प्रदर्शनकारीले सभा गरे। त्यसपछि नयाँबानेश्वर क्षेत्रमा करिब साढे १२ बजे नेपाल प्रहरीको टोली थपियो। 

विस्तारै झडप साम्य भयो। प्रदर्शनकारीले विरोध सभा गरिरहे। विरोध प्रदर्शनमा केही प्रदर्शनकारी घाइते भएको देखिन्थ्यो। 

करिब एक बजे दिउँसो सिभिल अस्पताल र बानेश्वर चोकको बीचमा संसद् भवन अगाडी पनि प्रदर्शनकारीको भीडलाई तितरबितर पार्न सशस्त्र प्रहरीले पानीको फोहोरा हानिरहेको थियो। केहीबेर त्यस क्षेत्रको स्थिति पनि तनावग्रस्त बन्यो।

नेमकिपाको प्रदर्शनमा विद्यार्थी
उता सिभिल अस्पताल अगाडि नेपाल मजदूर किसान पार्टीले विरोध सभा गरिरहेको थियो। सिभिल अस्पतालबाट बानेश्वर चोक (संसद् भवनतर्फ) प्रदर्शनकारीलाई प्रहरीले आउन दिएको थिएन।

नेमकिपाको विरोध सभाका सहभागीमध्ये आधाजसो विद्यार्थी नै देखिन्थे। अधिकांश प्लस टुमा पढ्ने उमेरका विद्यार्थी देखिन्थे। विद्यार्थीहरुलाई प्रदर्शनमा कलेज ड्रेसमा नै ल्याइएको थियो।

प्रहरीको घेरामा बसेर घाममा सेकिँदै अधिकांश विद्यार्थीहरु मादल अंकित झण्डामा बोकेर भीडमा गफिएको देखिन्थ्यो। कोही विद्यार्थी तथा सहभागी दालमोठ–चिउरा चपाउँदै थिए। विद्यार्थीहरुले पट्यार मानेको पनि देखिन्थ्यो। नेता भने एमसिसीको विरोधमा भाषण गरिरहेका थिए। सभा प्रहरीको घेरामा थियो।

नयाँबानेश्वरमा नेकपा मालेको प्रदर्शन पनि देखिएको थियो। प्रदर्शनमा मालेका अध्यक्ष सिपी मैनाली देखिएका थिए।

राप्रापाको प्रदर्शन उग्र भएपछि...
करिब साढे एक बजेसम्ममा माओवादी निकट प्रदर्शनकारीको विरोध सभा तथा प्रदर्शन सकिएको थियो। त्यसपछि बिजुलीबजारतर्फबाट जुलुस सहित नयाँबानेश्वरतर्फ अघि बढेको राप्रापाको जुलुसले वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीको ठाउँ ओगट्यो।

राप्रापाको विरोध प्रदर्शनमा युवादेखि पाको उमेरका समेत देखिन्थे। कसैले रुद्राक्षको माला लगाएका थिए भने कसैले ‘ॐ’ लेखिएको गलबन्दी लगाएका थिए। 

राप्रापाको विरोध प्रदर्शन तथा सभा भइरहेको थियो। केही कार्यकर्ता प्रहरीको निषेधित क्षेत्र तोडेर नयाँबानेश्वर चोक–संसद् भवनतर्फ अगाडि बढ्ने प्रयासमा थिए। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी चलिरहेको थियो।

करिब दुई बजेर १५ मिनेट जाँदा प्रदर्शनमा उत्रिएको राप्रापाले प्रहरीलाई ढुङ्गा हान्न थाल्यो। दुवै पक्षबीच झडप भइहाल्यो। नेपाल प्रहरीका एक जनाको मुख रक्ताम्मे देखियो। प्रहरीको गाडीमा उनलाई लगियो। 

दुई वटा गाडीबाट प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्दै थिए। त्यसपछि झन् राप्रापाका प्रदर्शनकारी उग्र भए। अन्धाधुन्द प्रहरीमाथि उनीहरुले ढुंगा–इँटा प्रहार गर्न थाले।

उग्र भीडले प्रहरीको निषेधित क्षेत्र नै तोडेर अगाडि बढ्यो। प्रहरी र पानीका फोहोरा हान्ने गाडी पछाडि सर्दै गए। राप्रापाका प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गर्दै नयाँबानेश्वर चोकसम्म लखेट्दै पु¥याए। पछाडि हट्दै गर्दा प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्यो। 

बानेश्वर क्षेत्रमा कालोमुस्लो धुवाँ छुट्यो। प्रदर्शनकारीले अश्रुग्याँस टिप्दै प्रहरीलाई फर्काएको देखिन्थ्यो। केही प्रदर्शनकारी रक्ताम्मे भएका देखिन्थे। केहीबेरको तनावपूर्ण स्थितिपछि राप्रापा कार्यकर्ता तितरवितर भए। सडकभरि ढुंगा र इँटा देखिन्थे। 

करिब तीन बजे मजदूर किसान पार्टीको विरोध प्रदर्शन पनि सकियो। नयाँ वानेश्वर क्षेत्र विस्तारै शान्त बन्दै गयो। आवागनम सहज हुँदै गयो। प्रदर्शन रोकियो।

फागुन ४, २०७८ बुधबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।