संसद्भित्र प्रतिपक्षको रमिता, बाहिर सत्तापक्षको

संसद्भित्र प्रतिपक्षको रमिता, बाहिर सत्तापक्षको

काठमाडौंः प्रतिनिधि सभाको आज बसेको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्यो। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराए।

यता एमालेले नाराबाजी र अवरोध राख्दाराख्दै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको प्रतिवेदन बैठकमा पेश गरे। 

बैठकले तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पारित गर्यो। करिब ५ मिनेट जति बैठक चल्यो र सभामुख सापकोटाले आगामी शुक्रबार ६ गते १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे।

संसद्भित्र प्रतिपक्षी दल एमालेले केही महिना यता रमिता देखाइरहँदा संसद्बाहिर भने आज सत्ता गठबन्धनको माओवादी केन्द्रले प्रदर्शन गरिरहेको थियो। 

नयाँ वानेश्वरस्थित एभरेष्ट होटलअगाडि माओवादीको भातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको थियो। वाइसीएल र अखिलका कार्यकर्ताले प्रहरीमाथि नै ढुंगा प्रहार पनि गरेका थिए। प्रदर्शनले उग्ररूप लिँदै गएपछि प्रहरीले पनि पानीको फोहोरा हानेको थियो।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनअगाडि पनि प्रदर्शन गरे। त्यहाँ पनि प्रहरीले पानीको फोहोरा हान्यो। अखिल र वाईसीएल प्रदर्शन गरिरहँदा सिभिल अस्पतालअगाडि नेपाल मजदूर किसान पार्टीले पनि विरोध प्रदर्शन थाल्यो।

नेमकिपाले अत्याधिक सङ्ख्यामा विद्यार्थी बटुलेर आन्दोलन गरेको थियो।

यता एभरेष्ट होटलअगाडि अखिल र वाइसीएलको प्रदर्शनपछि राप्रपाले ठाउँ ओगट्यो। राप्रपा पनि एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएको थियो। 

यसपछि पालो आयो नेकपा मालेको। नेकपा मालेको प्रदर्शनमा यसका अध्यक्ष सीपी मैनाली पनि सडकमै आए। 

यतिबेला वानेश्वर क्षेत्र तनावको स्थितिमा छ। सवारी आवागमन पूर्णरूपमा ठप्प छ भने प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ।

तस्बिरहरू: कृष्पा श्रेष्ठ, उपेन्द्र खड्का र दिपेन्द्र अधिकारी

फागुन ४, २०७८ बुधबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।