पोखरामा बन्दको न्यून प्रभाव, एक जना नियन्त्रणमा
पोखराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध ६ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक परेको छ। पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको बन्दमा पोखरामा नियमितझैं सार्वजनिक सवारी साधन सञ्चानमा आएका छैनन्।
निजी सवारी साधन भने चलेका छन्। पोखराका मुख्य बजार क्षेत्रका पसलहरू बन्द रहेका छन्। भित्री सडकखण्डमा पसलहरू फाटफुट मात्रामा खुलेका छन्।
पोखराका मुख्य चोकहरू महेन्द्र पुल, बगर, अमरसिंह चोक, बुद्ध चोक, पृथ्वी चोक, सृजना चोक, बिरौंटालगायतका ठाउँहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
राजनीतिक दलको बन्दसँगै गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाले सरकारी कार्यलय, स्कुल लगायतका अन्य कार्यलयहरू आज खुलेका छैनन्।
पोखराका विभिन्न ठाउँमा बिहानैदेखि बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै प्रहरीले आगो निभाएको थियो। जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटिएको र गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनले भने, ‘बन्दका क्रममा अहिलेसम्मको अवस्था सामान्य छ। पोखराबाट लामो दूरीका २०/३० प्रतिशत सवारीका साधन छुटेका छन्। छोटो दूरीका निजी सवारी साधनहरू पनि चलेका छन्। बजारमा केही मात्रामा पसलहरू खुलेका छन्।’
पोखराबाट बन्दका क्रममा शंकास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिइएको डीएसपी तिवारीले बताए।
फागुन ४, २०७८ बुधबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।