संसद्मा एमसीसी टेबल गरे माओवादी सरकारबाट बाहिरिने

संसद्मा एमसीसी टेबल गरे माओवादी सरकारबाट बाहिरिने

काठमाडौंः सत्ता घटक नेकपा माओवादी केन्द्रले एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने चतावनी दिएको छ। बुधबारको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सचेतक देव गुरुङले सो कुरा बताएका हुन्।

'आज सरकारबाट बाहिरिने हो?' भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचेतक देव गुरुङले भने, ‘सरकारले जबर्जस्ती गर्न खोज्यो भने सहमतिबिना गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो। गठबन्धन तोडिसकेपछि सरकारमा रहिरने कुरा आउँदैन।’  

पाँच दलको सहमतिबिना सरकारको निर्णय हुन नसक्ने उनले स्पष्ट पारे। मओवादी संसदीय दलको बैठकले एमसीसीमा रहेका असमान सर्तहरू संशोधन नगरी पास गर्न नसकिने र जबर्जस्ती ल्याए पनि त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

त्यस्तै संसद्मा प्रतिपक्षीले अवरोध गरिरहेको र सदन सुचारु गर्न आग्रह गर्ने निर्णय पनि भएको उनले बताए। 

संशोधनबिना परिमार्जन गर्न नसकिने बताउँदै आएको माओवादीले एसीसीको विषयमा राष्ट्रिय सहमति हुनुपर्ने, दलहरूबीचमा सहमति हुनुपर्ने र  कम्तिमा सरकारमा रहेका दलहरूमा सहमति हुनुपर्ने बताउँदै आएको छ।

फागुन ४, २०७८ बुधबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।