कर्णालीमा सार्वजनिक यातायात र बजार बन्द, अरू खुला

कर्णालीमा सार्वजनिक यातायात र बजार बन्द, अरू खुला

सुर्खेतः एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कर्णाली प्रदेशमा पनि परेको छ।कर्णालीमा सार्वजनिक यातायात र बजार बन्द गरिएका छन्।

प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने सार्वजनिक सवारी साधन चलेका छैनन् भने राजधानीको बजार पनि पूर्णरूपमा बन्द छ।

यद्यपि काठमाडौंलगायत बाहिरबाट भित्रिने यातायातमा प्रहरीले स्कर्टिङ गरेर सम्बन्धित ठाउँसम्म पुर्याएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

'सरकारी कार्यालय र शैक्षिक संस्था खुलेका छन्। सार्वजनिक यातायातमा पनि आवश्यकता अनुसार प्रहरीले स्कर्टिङ गरेर सम्बन्धित ठाउँसम्म पुर्याएकाे छ', प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'निजी संस्था  र यातायात बन्द छन्। त्यसकाे सुरक्षाका लागि प्रहरी तैनाथ छ।'

उनका अनुसार बन्द गराउँदै हिँड्ने एक जनालाई नियन्त्रणमा लिइएको छ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीका अनुसार प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात बिहानैदेखि बन्द छ। बजार क्षेत्रमा दुई पाङ्ग्रे र केही साना सवारी सञ्चालनमा रहे पनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेको तिवारीको भनाइ छ।

यता बन्दकाे प्रभाव बढाउन आन्दाेलनरत दलहरू समेत सडकमा उत्रिएका छन्।

फागुन ४, २०७८ बुधबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।