एमसिसीको पक्षमा भोट नहाल्ने माओवादी सांसदको चेतावनी, पेलेरै पास गर्ने मुडमा कांग्रेस

एमसिसीको पक्षमा भोट नहाल्ने माओवादी सांसदको चेतावनी, पेलेरै पास गर्ने मुडमा कांग्रेस

काठमाडौँ : बुधवार बस्ने संसद् बैठकमा एमसिसी टेबल हुने नेपाली कांग्रेसले दाबी गरे पनि संसद्को सम्भावित कार्यसूचीमा भने एमसिसी सम्झौता टेबल गर्ने उल्लेख छैन। एमसिसीलाई लिएर सत्तापक्ष नै विभाजित छ। सत्तापक्षका दलबिच सहमति नहुँदा बुधवार टेबल हुने नहुने यकिन हुन सकेको छैन।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेब्रुअरी २८ भित्र एमसिसी सम्झौता सांसदबाट अनुमोदन गराउने प्रतिबद्धता जनाइसकेका छन्। जसको लागि अब डेढ हप्ता मात्र समय बाँकी छ। पार्टीको बैठकले बुधवारको संसद् बैठकमा एमसिसी टेबल गर्ने निष्कर्ष निकालेको छ। त्यस्तै कार्य सम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बुधवारको संसद् बैठकमा एमसिसी टेबल हुने बताएका थिए।

कार्यसम्पादन समितिको बैठकपछि एमसीसी सम्बन्धमा ७ पृष्ठ लामो धारणा सार्वजनिक गरेको छ। त्यसमा ‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन’ भनिएको छ।

 कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को अजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो।’ त्यस्तै, कांग्रेसले एमसीसी सम्झौतालाई सङ्घीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको पनि बताएको छ।

समस्या समाधान गर्न मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच एमसिसी पास गर्ने सहमति भएको दाबी आए। तर, माओवादी र समाजवादीले सो कुरा औपचारिक रूपमा स्वीकार गरेका छैनन्।

‘एमसिसी पास गर्ने सहमति भएको रहेछ, हाम्रो धारणा पुरानै हो। यही अवस्थामा एमसिसी पास हुँदैन,’ माओवादीका एक नेताले भने। एमसिसी पास नगर्न प्रचण्डमाथि चर्को दबाब छ। एमसिसीको पक्षमा भोट नहाल्ने चेतावनी समेत माओवादी सांसदले दिन थालेका छन्।

‘म कुनै पनि हालतमा एमसिसीको पक्षमा भोट हाल्दिन, राष्ट्रघाती एमसिसी जसले भने पनि चाहिँदैन,’ माओवादी सांसद धर्मशीला चापागाईँले भनिन्।

मध्यमार्गी बाटोमा छलफल

‘गिभ एन्ड टेक’को राजनीतिमा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन तयार भएका एकीकृत समाजवादी र माओवादी एमसिसी पास भएको खण्डमा त्यसको अपजस आफूमाथि नआओस् भन्ने तर्फ सचेत छन्। मध्यमार्गी अन्तर्गत संसद्मा सङ्कल्प प्रस्ताव मध्यमार्गी हुनसक्छ।

सङ्कल्प प्रस्तावमा देशको अहित भएमा कुनै पनि बेला एमसिसी फिर्ता हुने गरी सांसदबाट एमसिसी पास गर्ने नै हो। सो विषयमा माओवादी र समाजवादीबिच छलफल समेत चलेको समाजवादीका एक नेताले जानकारी दिए। 

अर्को बैठक बहिष्कार गर्ने। माओवादी र समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र मधेशवादी दलका सांसदको सहयोगमा कांग्रेसका सांसद सहितको बहुमतले एमसिसी पारित गर्ने अर्को रणनीति देखिन्छ। सो विषयमा पनि नेताहरूबिच संवाद भएको छ।

बुधवारको संसद् बैठकमा एमसिसी टेबल गर्न दिने र सो विषयमा राष्ट्रिय सहमति नभएको भनेर माओवादी र समाजवादीले संसद् अवरोध गर्ने सम्भावना पनि छ। अर्को चुनाव नजिकिँदै छ। ससंदमा जान दिएर वा फैसला हुन नदिएर चुनावी अजेण्डाको रूपमा एमसिसी लैजाने पक्षमा समाजवादी र माओवादी देखिएका छन्।

चुनावबाट स्वीकार भए एमसिसी नयाँ सांसदले स्वीकृत गर्ने र चुनावमा अस्वीकार भए अस्वीकृत गर्ने विकल्पमा माओवादी र समाजवादीको धारणा मिलेका छ। माओवादी नेता राम कार्कीले सङ्कल्प प्रस्ताव गरेर एमसिसी पारित गर्न सकिने बताउँछन्।

‘हामीले एकै खालको परराष्ट्र नीति अपनाउनुपर्छ, आज एमसिसी अस्वीकार गर्ने भोलि अर्को परियोजना स्वीकार गर्ने गर्नु हुँदैन। सङ्कल्प प्रस्ताव ल्याएर असंलग्न परराष्ट्र नीति अनुसार चल्नुपर्छ,’ उनले भने।

स्वीकार नगर्ने पक्षमा एकीकृत समाजवादी

एमसिसी टेबल गर्नुपर्छ भन्ने पक्षमा एकीकृत समाजवादी छैन। ‘एमसिसी सरकार र सभामुखको कुरा हो। यो पास हुने वातावरण बनाउन तयार छैनौँ। आजको स्वरूपको एमसिसीको सशक्त विरोधमा छौँ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने।

सङ्कल्प प्रस्तावले काम गर्न नसक्ने उनले बताए। ‘सङ्कल्प प्रस्ताव एमसिसी सम्झौताको अङ्ग बन्न सक्दैन, जुन कुराको कुनै अर्थ पनि छैन,’ प्रवक्ता खतिवडाले भने।

एमसिसीलाई अमेरिकाको अगाडी आत्मसमर्पण गर्ने कुरा रहेको उसको बुझाइ छ। ‘कहाँ बसेर विरोध गर्नुपर्छ कुन काम गर्नुपर्छ जे गर्नुपर्छ संसद् र संसद् बाहिर गछौं,’ खतिवडाले भने। एमसिसी संसद्मा टेबल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा खतिवडाले भने, जे गरिन्छ त्यति बेला गरिन्छ।’

मध्यमार्गीबाटबाट एमसिसीलाई पास गर्न लचक बनेका प्रचण्डलाई पार्टीभित्रबाट आउने दबाब केही मत्थर देखिन्छ। उसले बुधवारकै संसदीय दलको बैठकबाट एमसिसीको बारेमा निर्णय लिने छ।

‘बुधवारको संसदीय दलको बैठकबाट एमसिसीको बारेमा निर्णय लिन्छौँ, अहिले टिप्पणी नगरौँ,’ माओवादी सचेतक देव गुरुङले भने। आफ्नो सरकारमा हुँदा एमसिसी पारित गर्न कस्सिएको प्रमुख प्रतिपक्षी एमालेले एमसिसी राष्ट्रघाती रहेको र त्यसको जवाफ संसद्मा नै दिने बताइसकेको छ।

‘एमसिसी देशको हितमा छैन। के कसरी छैन संसद्मा नै बताउँछौँ,’ एमाले सचिव योगेश भट्टराईले भने।

फागुन ३, २०७८ मंगलबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।