कोरोना खोप वेचिएको सरकारी समितिले नै औँल्यायो, कारवाही गर्न सिफारिस (प्रतिवेदन सहित)
प्रतिवेदनमा पैसा लिई खोप लगाएकोबारे सत्य तथ्य छानबिन गरेर कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सिफारिस गरेको छ।
प्रतिवेदनको राय/सुझाव खण्डनमा लेखिएको छ' पैसा लिई खोप लगाएको, धेरै मौज्दात राख्ने,उचित भण्डारण नभएको कारणले प्रयोग गर्न नमिल्ने खोप धेरै भएका अभियान सञ्चालनका क्रममा लापरबाही गर्ने निकायहरूको सम्बन्धमा सत्य/ तथ्य छानबिन गर्नुपर्ने' उल्लेख गरेको छ।
नेपालमा कोरोना विरुद्धको खोपको पहिलो खेप आउँदा प्रभावशाली व्यक्तिहरूले खोप किनेर लगाएको सार्वजनिक भएको थियो। स्थानीय निकायमार्फत खोप लगाउने कार्यक्रम सञ्चालन हुँदा समेत व्यापक खोपको दुरुपयोग भएको खुलेको थियो।
सरकारले बुस्टर डोजको औपचारिक प्रारम्भ नगर्दै केही व्यक्तिले बुस्टर डोज लगाइसकेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फारम,मौज्दात र खोप लगाएको विवरण समेत अद्यावधि गरेर नराखेको उल्लेख छ।
'कोभिड-१९ विरुद्धको खोप निःशुल्क भएता पनि केही व्यक्तिहरूले खोप लगाए बापत पैसा लिएको गुनासाहरू समेत सुनिएको छ,' प्रतिवेदनमा लेखिएको छ' यस सम्बन्धमा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी मुद्दा दायर गरेको देखिन्छ।'
प्रतिवेदनले लक्षित वर्ग बाहेकका व्यक्तिहरूले समेत खोप लगाएको उल्लेख गरेको छ। अहिले नेपालमा १२ वर्ष माथिकाले मात्र कोरोना विरुद्धको खोप लगाइरहेका छन्। १२ वर्षभन्दा तलकाहरुको हकमा खोप अभियान अझै सुरु हुन सकेको छैन।
हराएको खोप खोज्ने समितिको गोप्य प्रतिवेदन उकेरामा : २४ लाख खोप खोज्दा चार लाख ५५ हजार डोज बढी भेटियो
प्रतिवेदनमा बुस्टर मात्रा लगाउने सम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिलो खोप लगाइसकेका केही व्यक्तिले पहिलो खोप भन्दै बुस्टर डोज लगाएको समेत उल्लेख गरिएको छ। प्रतिवेदनले खोप अभियानलाई पूर्ण व्यवस्थित गर्न नसकिएको समेत स्वीकार गरेको छ।
प्रतिवेदन अनुसार ५६ हजार ९ सय ८ डोज खेर गएको छ। प्रतिवेदनमा ताप्लेजुङको सिदिङवा गाउँपालिका, काठमाडौँको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानिखोला,बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रशरोवर,राक्सिराङ र कैलाश गाउँ पालिकाबाट कोरोना खोप लगाएको तथ्याङ्क प्रविष्ट गरेको विवरण समेत फेला परेन।
प्रतिवेदन
फागुन ३, २०७८ मंगलबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।