हराएको खोप खोज्ने समितिको गोप्य प्रतिवेदन उकेरामा : २४ लाख खोप खोज्दा चार लाख ५५ हजार डोज बढी भेटियो
उकेराले प्राप्त गरेको मन्त्रालयको गोप्य प्रतिवेदनमा नेपालमा आएको जम्मा खोपभन्दा बढी डोज देखिएको उल्लेख छ।
प्रतिवेदन अनुसार नेपालले प्राप्त गरेको खोप, मौज्दात तथा लगाएको खोपको मात्राको विश्लेषण गर्दा चार लाख ५५ हजार तीन सय ५५ मात्रा (डोज) खोप बढी देखिएको उल्लेख छ।
'प्राप्त सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३ सय ५५ मात्रा खोप बढी देखिन्छ' प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा विभिन्न स्थानहरूमा गरिएको स्थलगत अवलोकन, अन्तर्क्रिया र सन्दर्भ सामाग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जनालाई लगाइएको देखिएको उल्लेख छ।
समितिका एक सदस्यका अनुसार कुनै कुनै खोपको लटमा मगाएको भन्दा बढी डोज खोप आएको देखिएको छ। जस कारण १० डोज मात्र पुग्नेमा ११ डोजसम्म लगाएको खुलेको छ।
छानबिन समितिको प्रतिवेदन अनुसार नेपालले चार करोड ५७ लाख आठ हजार ६ सय ४० मात्रा (डोज) खोप प्राप्त गरेको छ। जसमध्ये एक करोड २३ लाख ३७ हजार ६ सय ६५ मात्रा खोप मौज्दात छ भने तीन करोड ३८ लाख २६ हजार तीन सय ३० मात्रा खोप लगाइएको छ।
यो माघ तेस्रो हप्तासम्मको खोपको अद्यावधिक तथ्याङ्क हो। नियमित तथा पूर्ण विवरण समयमा नै अद्यावधिक हुन नसक्दा खोपको विवरणमा समस्या आएको प्रतिवेदनमा उल्लेख छ।
छानबिनका क्रममा केन्द्रमा ६५ लाख ३७ हजार तीन सय ५१ मात्रा खोप मौज्दात छ। त्यसै गरी प्रदेशमा १९ लाख ५० हजार ६ सय नौ मात्रा खोप मौज्दात देखियो। जिल्लामा २२ लाख ५८ हजार ७५ मात्रा खोप मौज्दात छ भने पालिकामा १५ लाख ९१ हजार ६ सय ३० मात्रा मौज्दात खोप छ।
हालसम्म नेपालले प्राप्त गरेको खोपमध्ये ४३ प्रतिशत भेरोसेल, २१ प्रतिशत कोभिशिल्ड र ९ प्रतिशत एक्सट्राजेनिका खोप प्राप्त भएको छ। त्यसै गरी मोर्डना १७ प्रतिशत, जोन्सन ८ प्रतिशत, फाइजर बायोएनटेक २ प्रतिशत प्राप्त गरेको छ।
२४ लाख मात्रा खोप हराएको चर्चापछि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा माघ १६ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई छानबिनको प्रतिवेदन बुझाए पनि सार्वजनिक भने भएको छैन।
फागुन ३, २०७८ मंगलबार २०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।