'टिकट' सुरक्षित गर्न निर्वाचनको मुखमा दल बदल्ने अवसरवादी जनप्रतिनिधिहरू

'टिकट' सुरक्षित गर्न निर्वाचनको मुखमा दल बदल्ने अवसरवादी जनप्रतिनिधिहरू

निर्वाचनको बेला राजनीतिक स्वार्थ पूर्तिका लागि मात्र पार्टी बदल्ने लहर पहिलेदेखिकै हो। पछिल्लो ४ महिनामा लुम्बिनी प्रदेशका गाउँपालिका प्रमुखदेखि जिल्ला स्तरका नेताहरू एकपछि अर्को गर्दै पार्टी बदल्ने लहर नै चलेको छ।

यसको पछिल्लो उदाहरण हो- रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)।

उनीहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी रूपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए। त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।

त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन्। 

ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य लीला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टी प्रवेश गराएका थिए।

त्यस्तै अवसर खोज्दै हिँड्नेमध्येका अर्का हुन्- कपिलवस्तुका रजतप्रताप शाह। 

२२ माघमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह नेपाली कांग्रेस प्रवेश गरे। अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाटउम्मेदवारी नपाएपछि स्वतन्त्र उठेर विजयी भएका उनले यो बीचमा जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का बनाउन धेरै प्रयास गरेका थिए। 

उनलाई राम्रैसँग चिनेका स्थानीय नेताहरूको आग्रह तथा उनले स्थान खोजेका पार्टीमा उनको तह नमिलैकै कारण रोकिएको सामाजिक सञ्जालमा धेरैले प्रष्ट देखिने गरी लेखेका छन्। 

यही क्याटेगोरीमा पर्छन् अर्घाखाँचीको पाणिनीकी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम। १९ पुसमा गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी उनी पछिल्लो पटक एकीकृत समाजवादी पार्टीमा थिइन्। 

गौतमलाई कांग्रेस नेता गगन थापाले पार्टीमा भित्र्याएका थिए। पछिल्लो निर्वाचनमा यही पालिकाका अध्यक्षसहित धेरै वडामा कांग्रेसले जित निकालेका कारण उनले कांग्रेसमा नगए अध्यक्षमा जित्न नसकिने लोभले पार्टी प्रवेश गरेको कांग्रेसकै कतिपय नेताहरू बताउँछन्।

गत बिहीबार मात्र रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु (जितेन्द्रनाथ) शुक्ला माओवादीमा प्रवेश गरे। पार्टी केन्द्रीय कार्यालयमै उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा भित्र्याएका थिए। गत निर्वाचनमा फोरमबाट जितेका उनी अहिले यता आफ्नो टिकट सुरक्षित बनाउन आएका हुन्। 

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। अघिल्लो निर्वाचनमा नगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर विजयी बनेका चौधरीले निर्वाचनमा अवसर खोज्दै जसपामा प्रवेश गरेका हुन्।

अवसरवादी नेतालाई परास्त गर्नपर्छ
जनताका समस्याभन्दा पनि आफ्नो स्वार्थ पूर्तिमा लाग्ने नेताहरूलाई आउने निर्वाचनमा परास्त गर्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। 

निर्वाचनको समयमा पार्टी परित्याग गर्ने परिपाटी पहिलेदेखि नै भएको र यसले नेताहरूमा अवसरवाद छ भन्ने स्पष्ट हुने भएकाले अबको निर्वाचनमा यस्ता अवसरवादी नेतालाई परास्त गर्नुपर्ने राजनीतिक विश्लेषक पदम कार्कीले बताए।

‘निर्वाचन नजिक आएपछि यस्ता अवसारवादीले बार्गेनिङ गरेर दल अदलबदल गरेर अगाडि बढ्छन्, उनीहरूले नै टिकट पाउँछन्, यसले राजनीतिलाई थप विकृत बनाउँछ। लामो समय पार्टीमा योगदान गरेकाहरू पछाडि पारिन्छन्, उनीहरूमा नैराश्यता आउँछ। अब सचेत नागरिकले यस्ता नेताहरूलाई पहिचान गर्न सक्नुपर्छ,’ कार्कीले भने।

फागुन ३, २०७८ मंगलबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।