मूर्ति चोरेर सजाय पाएका कार्चेनलाई मन्त्रीबाट हटाउनुपर्ने मागसहित मुद्दा दायर

मूर्ति चोरेर सजाय पाएका कार्चेनलाई मन्त्रीबाट हटाउनुपर्ने मागसहित मुद्दा दायर

सुर्खेत : मूर्ति चोरेर दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय पाएका हुम्लाका छिरिङ डम्डोल लामा ‘कार्चेन’ लाई मन्त्री पदबाट हटाउनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको छ।

गत आइतबार कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ खाएका उनी विरुद्ध दायर रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ।

मध्यपश्चिम विश्वविद्यालयकी कानुन विद्यार्थी विनीता वोगटीले दर्ता गरेको रिटमा उनको मन्त्री पद खारेजीको माग गरिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाका गैर सांसद कार्चेनलाई मन्त्री बनाउन माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई निर्देशन दिएका थिए।

ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले उनलाई २०५१ मङ्सिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । दुई वर्ष कैद सजाय भोगेका उनले यही असोज ११ गते मात्रै पाँच हजार रुपैयाँ जरिवाना तिरेका थिए।

रिटमा संविधानको बर्खिलाप हुने गरी कार्चेनलाई मन्त्री बनाइएको उल्लेख छ । यस्तै मन्त्रिमण्डललाई समावेशी बनाउनुपर्ने पनि रिटमा माग गरिएको छ ।

फागुन २, २०७८ सोमबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।