हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र

हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र
तस्बिर : कृष्पा श्रेष्ठ।

थापाथलीस्थित हिमालयशमशेर जबराको घरमा पुग्दा उनी आफ्नी स्वर्गीय पत्नी विजयालक्ष्मी राणाको तस्बिरतिर हेरिरहेका थिए। केही तस्बिरमध्ये एउटा उठाए र पुराना दिन स्मरण गरे, 'यो उनलाई पहिलो पटक देख्दाको फोटो।' 

९५ वर्षीया जबराले थपे, 'प्रसिद्ध कवि जोन मिल्टनले यही तस्बिर हेरेर सुन्दरताको व्याख्या गरे होलान्, 'हेस्ट द निम्फ एण्ड ब्रिङ विथ द जेस्ट एण्ड युथफुल ज्वेलिटी। अर्थात् छिटो गर अप्सरा, अनि आफ्नो साथमा मजाक र उन्माद ल्याऊ।'

केही समय वरपर छरिएर रहेका फोटोहरु खेलाए उनले। मौनता भंग गर्दै भने, 'अर्थसचिव थिएँ। जवान उमेरमा अर्थसचिव पदमा पुगिसकेकाले पनि साइनो जोड्न घराना परिवारको लाइन थियो। तर केटी, विहे, घरबार भन्नेतिर ध्यानै दिन सकिनँ। पढाइ र काममा मात्रै डुबिरहें।'

अर्थसचिव बनेर उनले चार वर्ष बिताइसकेका थिए त्यो समयमा। काम छाडेर एक वर्ष हावर्ड विश्वविद्यालयमा पढ्न जाने धोको थियो। तयारी पनि लगभग अन्तिम चरणमा थियो। उनी विदेशको पढाइ सकेर मात्रै घर बसाउने योजनामा थिए। त्यही समयमा उनको नजर जुध्यो विजयालक्ष्मीसँग।

ठूलो बुबाको छोराको विहेमा जन्ती गएका थिए उनी। बर्दियाका ठूला जमिनदार खड्गबहादुर मल्लकी छोरीसँग ठूलो बुबाको छोराको विहे भएको थियो। त्यही विहेमा गएकी रहिछन् विजयालक्ष्मी।

उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।' 

मन त पर्यो तर प्रस्ताव कसले राख्ने? हिमालयले हाँस्दै भने, 'म उनी जति बहादुर थिइनँ, पहिलो प्रेमपत्र उतैबाट आयो। सानै उमेरमा अर्थसचिव भएको मानिस। हिम्मत भए पनि पहिलो पत्र पठाउँदैनथें होला। भाउ पनि त खोज्नु पर्यो।'

हलमा फिल्म हैन, उनलाई हेर्न जान्थें
विस्तारै पत्रमार्फत गफ हुन थाल्यो। विजयाको घर कमलपोखरीमा थियो। हिमालयले भने, 'उनी मेरो औकातभन्दा धेरै धनी परिवारकी छोरी। म जत्तिको आर्थिक हैसियत भएको केटोसँग विहे गर्न चाहनु नै उनको ठूलो विद्रोह थियो।'

आफू थापाथली दरबारमा जन्मिए पनि आर्थिक अवस्था कमजोर भएकोबारे उनले व्याख्या गरे, 'म तीन वर्षको हुँदा आमा स्वर्गीय हुनुभयो। मेरो दिमागमा आमाको तस्बिर नै छैन। सानै उमेरमा अंशबण्डा भयो।' 

उनी बाबुकै घरमा बस्थे। तर खाना भने आफैं पकाएर खान्थे। विहेअघि सरकारी जागिरे भएकाले सम्पत्ति खासै जोड्न सकेनन्।

विजयालाई सिनेमा हेर्न खुबै मनपर्ने। पत्रमा उनी कुन दिन सिनेमा हेर्न जाने योजनामा छिन्, त्यो लेखी पठाउँथिन्। हिमालय सिनेमाघर पुग्थे।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर समेत रहेका उनले विगत सम्झँदै भने, 'त्यो समयमा हामी जनसेवा सिनेमा हलमा जान्थ्यौं।' 

सँगै बसेर सिनेमा हेर्न रहर त हुन्थ्यो तर त्यो समाजले पचाउँदैनथ्यो। समय अहिलेजस्तो सहज थिएन। केटाको लाइन र केटीको लाइन हलमा फरक हुन्थे। उनले भने, 'हामी हलमा छिर्ने र निस्कने समयमा मात्रै देखादेख गर्न पाउँथ्यौं। उनैलाई हेर्न मात्रै म सिनेमाघर जान्थें।'

एक दिन जनसेवा सिनेमा हलमा बलिउड फिल्म 'हरे राम हरे कृष्ण' लाग्ने भयो। विजयाले फिल्म हेर्न जानेबारे पत्र पठाइन्। त्यो बेला हिमालयको विदेशमा पढ्न जाने भिसा आइसकेको थियो।

उल्लेख गरेको समयमा उनी सिनेमाघर पुगे। भर्याङमा विजयालाई कुरेर बसे। उनी आउँदा-आउँदै रोके र भने, 'म एक वर्ष विदेश पढ्न जाँदैछु। त्यतिन्जेल पर्खन्छौ भने आएर विहे गर्छु, नत्र आफ्नो सुर गर।'

उनले मुस्कुराउँदै भनिन्, 'पर्खिन्छु।'

राणा परिवारको सबैभन्दा सस्तो विहे
विहे गर्दा हिमालय ३० वर्ष पुगिसकेका थिए। विजया उनीभन्दा १० वर्ष कान्छी। अघिल्लो दिन उनी बैंकको पहिलो गभर्नर बने। त्यसकै भोलिपल्ट विहे गरे।

देवशमशेरको परिवारमा जन्मिए पनि उनीहरुको विहे सबैभन्दा सस्तो थियो। आफैंले कमाएको पैसामा विहे गर्नुपर्ने भएकाले उनले धेरै जन्ती बोलाउन सकेनन्। भन्छन्, 'धुमधामसँग विहे गर्ने रहर थियो। तर खर्च थिएन।' 

बग्गी सरकारले दिएको थियो। कमलपोखरीबाटै अन्माएर थापाथली ल्याउँदा मानिसले कुरा काट्लान् भन्ने डर लाग्यो। फलानोको विहे तर जन्ती छैन भन्लान् भनेर ओल्लो घरबाट बेहुली अन्माएर पल्लो घरमा भित्र्याइयो। उनी ओल्लो घरबाट पल्लोमा भने बग्गी चढेरै गए।

विहेको दिन सम्झँदै उनले भने, 'मेरी श्रीमती अति सुन्दर। टोलका केटाहरु उनलाई बैजन्ती माला भनेर जिस्क्याउँथे। मन परेको, त्यति सुन्दर केटीसँग विहे गर्न पाउँदा म त मख्खै भएँ नि।'

उनी बहादुर थिइन्
अहिलेको जस्तो हनिमुन मनाउने चलन त्यो समयमा थिएन। हिमालयले हाँस्दै भने, 'घुम्न नगए पनि हाम्रा वर्षैपिच्छे सन्तान जन्मिए। अहिले एउटा बच्चा जन्मँदा कतिधेरै समस्या झेलिरहेका हुन्छन् महिलाले। मेरी श्रीमतीले वर्षेपिच्छे छोराछोरी जन्माएर एक्लै हुर्काइन्।' दुई छोरा, दुई छोरी जन्मिएपछि भने बन्ध्याकरण गरे उनले।

कान्छो सन्तान गर्भमा आएको थियो। त्यही समयमा महेन्द्र सरकारले उनलाई नेपाल राष्ट्र बैंकको गर्भनरबाट निष्काशित गरे। छोराछोरीलाई हुर्काउने, पढाउने जिम्मेवारी बढिरहेका बेला जागिर खुस्कियो। त्यो उनका लागि निकै पीडादायी दिन थियो। 

त्यही समयमा हिमालयशमशेरलाई युएनले जागिरको प्रस्ताव राख्यो। नेपालमै बसेर काम गर्ने रहर हुँदा पनि उनी अर्काको देशमा जान बाध्य भए। अमेरिका उनको कार्यक्षेत्र बन्यो। श्रीमती एक्लैले चार बच्चा सम्हालिन्।

तीन वर्षजति उनले अमेरिका बसेर काम गरे। त्यसपछि भने मिलाएर कार्यक्षेत्र श्रीलंका बनाए। श्रीमती र छोराछोरीलाई पनि उतै लगे।

नेपालमा नोकर-चाकर थिए। माइतीले सहयोग गर्थे। तर उता एक्लै परिन् विजया। छोराछोरीलाई स्कुल छाड्न सवारी चालक समेत भेटिएन। हिमालयले भने, 'उनलाई माइतीमा सबैले सानु महारानी भन्थे। सिन्को भाँचेकी थिइनन्। त्यहाँ केही समयमै गाडी चलाउन सिकेर, लाइसेन्स बनाएर छोराछोरी स्कुल पुर्याउन जान थालिन्।'

हातमा तेलको छिटाले दाग बनाउँछ भनेर खाना पकाउन उनको माइतीमा कहिल्यै दिइएन। श्रीलंकामा उनलाई कुकिङको सोख चल्यो। पछि सबैभन्दा मिठो खाना पकाउने बनेर निस्किइन् विजया।

श्रीलंकापछि अफगानस्तान, अफगानस्तानपछि बर्मामा हिमालयको सरुवा भयो। जता आफू उतै परिवार बोकेर हिँडे। बर्मामा बस्दा आफ्नो छुट्टै घर बनाउने सल्लाह भयो। काम छाडेर हिमालय नेपाल आउन पाएनन्, विजयाले सबै सम्हालिन्।

थपाथलीमा अहिले उनी बसिरहेको घर विजयाले नै बनाएकी हुन्। आफैं खटिएर, पसिना बगाएको घरमा हिमालय विजयाको गन्ध महसुस गरिरहन्छन्। उनले श्रीमती सम्झिए, 'केही काम गर्यो कि ऊ त्यसैमा एडिक्टेड भइहाल्ने। घर बनाएपछि उनलाई फेरि घर बनाउने भुत चढ्यो। विभिन्न ठाउँमा जग्गा किन्दै घर बनाउँदै गर्न थालिन्। ८ वटा घर बनाएपछि मात्रै रोकिइन्।' 

चुरोटले लग्यो ज्यान
मृग पाल्ने, थरीथरीका कुकुर, चराचुरुङ्गी पाल्नेदेखि धेरै मानिसको भीडमा बस्ने उनको सोख थियो। साथमा चुरोटको पनि अम्मली। हिमालयले भने, 'माइती छँदै चुरोटको लत लागेको थियो उनलाई, छाड्नै सकिनन्।'

राज खानदानमा चुरोट पिउनु सामान्य थियो। हिमालय पनि कहिलेकाहीँ  पिउँथे तर विजया भने जतिखेरै चुरोट पिउँथिन्। उनले कहिल्यै श्रीमतीलाई चुरोट नखाऊ भन्न सकेनन्। भन्छन्, 'चुरोट पिउनु उनको स्वतन्त्रता थियो। त्यसलाई हनन गर्ने मेरो अधिकार थिएन। नखाए हुन्थ्यो जस्तो लाग्थ्यो तर नखाऊ भन्न सकिन।'

विजयालाई फोक्सोको क्यान्सर भयो। चिकित्सकले अब बाँच्दिनन् भनेपछि पनि झण्डै दस वर्ष बाँचिन्। यसको कारण थियो, परिवारको माया र राम्रो हेरचाह। विजयाको मृत्यु २०७६ साल चैत २३ गते भएको थियो।

एक्लो महसुस हुन्छ
छोरा-बुहारी, छोरी ज्वाईं, नाति-नातिना उनलाई भेट्न आइरहन्छन्। कान्छो छोरा त हरपल बाबुकै वरपर डुलिरहन्छन्। तर पनि हिमालयलाई एक्लो महसुस हुन्छ।

'झण्डै ६ दशकसँगै बिताएको मानिस साथमा नहुँदा अभाव खट्किने रहेछ,' उनले भने, एक्लो फिल नहोस् भनेर उनी जुन बेडमा सुत्थिन्, अहिले त्यही बेडमा सुत्छु।' यसो भनिरहँदा हिमालयशमशेरका आँखा रसाइरहेका थिए। 

विजयाले जुन कोठामा अन्तिम श्वास फेरिन्, त्यो कोठामा बाह्य मानिस जान मिल्दैन। त्यसलाई सबैको सहमतिमा पारिवारिक भेटघाट गर्ने कोठा बनाइएको छ। 

'परिवारमा कुनै सेलिब्रेसन गर्नु परे त्यही कोठामा जम्मा हुन्छौं। उनले भने, 'घरका भित्ताहरुमा उनी हाँसिरहेकी छन्। जताततै उनको याद छ तर उनी छैनन्। भीडमा पनि एक्लो छु जस्तो लाग्दोरहेछ।'

प्रेम दिवस सम्बन्धी सामाग्री

 

फागुन २, २०७८ सोमबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।