धुन चोरीको आरोप लगाउने सङ्गीतकार सापकोटाले माफी मागे
काठमाडौँ : आफ्नो सङ्गीतको धुन चोरी गरेको आरोप लगाएका सङ्गीतकार वसन्त सापकोटाले माफी मागेका छन्। 'सागर सरी चोखो माया' बोलको गीतको धुन 'मेरो आस बन्यौ नोगेन' मा चोरिएको उनले दाबी गरेका थिए।
गीत प्रमोद खरेल र रुक्साना लिम्बुले गाएका थिए। उनको दाबीपछि नोगेन बोलको सङ्गीतकार महेश खड्काले पत्रकार सम्मेलन गरेर त्यसको प्रतिवाद गर्दै मानहानिको मुद्दा हाल्ने चेतावनी दिएका थिए। सापकोटाले चर्चाका लागि मात्रै यस्तो दाबी गरेको भन्दै खड्काले कानुनी रूपमा पुष्टि गर्न चुनौती दिँदै चोरीको आरोपले आफ्नो मानहानि भएकाले मुद्दा हाल्नसक्ने बताएका थिए।
सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्कासँग माफी मागेका हुन्।
उनले लेखेका छन्, ‘मानिसबाट गल्ती हुन्छ। कुराहरू जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रिँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैसँग माफी माग्दछु। सुषुप्त मनभित्र कहिलेकाहीँ राम्रो धुनहरू बस्न जान्छन्। कहिलेकाहीँ एकैखालका शब्दहरू आउँदा धुन पनि मिल्न जान्छ। यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्ने गरी मेरोतर्फबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छु।’
फागुन २, २०७८ सोमबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।