लुम्बिनी प्रदेशको स्थापना दिवस दाङको देउखुरीमा मनाइने
बुटवलः लुम्बिनी प्रदेशको राजधानी सम्बन्धी सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा स्थापना दिवस मनाउने तयारी पूरा भएको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सभामुख पूर्ण घर्तीसहित क्याबिनेट मन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने उनले बताए।
उनले प्रदेश स्थापना दिवससँगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यबाद दिए।
मन्त्री शर्माले संसद्ले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिविधि दाङमा हुनु अस्वाभाविक नभएको बताए।
प्रदेशको राजधानी देउखुरी तोकिए पनि अहिले्सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ, न त राजधानीको गुरुयोजना (डीपीआर) नै तयार भएको छ।
जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारबाही पनि बुटवलबाटै सञ्चालन भइरहेका छन्। सरकारले बिनापूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको थियो।
फागुन १, २०७८ आइतबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।