रवि तेजाको फिल्म 'खिलाडी' रिलिज हुनासाथ कानूनी विवादमा

रवि तेजाको फिल्म 'खिलाडी' रिलिज हुनासाथ कानूनी विवादमा

एजेन्सीः रवि तेजा दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित नायक हुन्। उनको फ्यान फलोइङ नेपालमा पनि कम छैन।

यस्तै गत शुक्रबार ११ फेब्रुअरीमा रवि तेजाको फिल्म 'खिलाडी' रिलिज भयो। फिल्म तेलुगुमा बनेको थियो। तर यसका निर्मातालाई अलि बढी नै पैसा कमाउन मन लाग्यो- उनले हिन्दीमा पनि चलचित्र रिलिज गरे।

तर अहिले फिल्मलाई लिएर कानूनी विवाद सुरु भएको छ।

बलिउडमा अक्षय कुमारलाई 'खिलाडी' भनेर चिनिन्छ। उनले 'खिलाडी' नाम झुण्डिएका कयौँ चलचित्रमा काम पनि गरेका छन्। सन् १९९२ मै उनले 'खिलाडी' नामको फिल्ममा अभिनय गरेका थिए। त्यसपछि खिलाडीयोँका खिलाडी, सबसे बडा खिलाडी, मै खिलाडी तु अनाडी, मिस्टर एण्ड मिसेज खिलाडी, इन्टरनेशनल खिलाडी, खिलाडी ४२०, खिलाडी ७८६ उनले अभिनय गरेको चलचित्र हो।

चलचित्र क्षेत्रमा भारतभर 'खिलाडी' ट्रेडमार्क पनि आफूहरूको रहेको यी चलचित्रका निर्मातामध्येका एक रतन जैनले बताएका छन्। त्यसैले रवि तेजा अभिनित फिल्म अहिले लफडामा परेको हो। जैनले तेलुगु खिलाडीविरुद्ध ९ फेब्रुअरीमा दिल्ली हाई कोर्टमा मुद्दा हाले।

तर हाई कोर्टले भने चलचित्रको रिलिज रोक्न ढिलो भइसकेको भन्दै अर्को सुनुवाइ फेब्रुअरी १६ मा हुने बतायो। अब सबैको नजर फेब्रुअरी १६ मा रहेको छ।

फागुन १, २०७८ आइतबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।