देउवा, प्रचण्ड र नेपाल दिनकै छलफलमा तर छैन सहमति

देउवा, प्रचण्ड र नेपाल दिनकै छलफलमा तर छैन सहमति

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

संसद्को अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले प्रचण्ड र नेपालसँग छलफल गरेका हुन्। 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता अनुमोदन नगरे नेपाल हेर्ने अमेरिकी नीतिमा पुनर्विचार गर्ने धम्की दिएपछि सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी एमालेले संसद्मा एमसीसी टेबुल गर्न हतार गरेका छन्। 

प्रधानमन्त्री देउवा र प्रचण्डले हस्ताक्षर गरेर एमसीसीलाई पत्र लेखेको विषय बाहिरिएपछि प्रचण्ड दबाबमा परेका छन्। लिन्न भन्न नसक्ने, लिन्छु भन्न पनि नसक्ने अवस्थामा पुगेका छन् प्रचण्ड। उनी माधव नेपाललाई लिएर दिनहुँ बालुवाटार पुगिरहेका छन्। 

शनिबार पनि प्रचण्ड र नेपाल देउवालाई एमसीसी सम्झौताकै विषयमा छलफल गर्न बालुवाटार पुगे। छलफल सकिएपछि उनीहरूको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। स्थानीय तहको चुनावपछि मात्रै एमसीसी अगाडी बढाउने प्रचण्डको प्रस्तावमा देउवा सहमत भएका छैनन्। एमसीसी सम्झौता संशोधन गर्ने विषयमा सत्ता गठबन्धन दलले बनाएको कार्यदलले पनि सुझाव दिएको छैन। 

अमेरिकी सहायक विदेशमन्त्री लुको फोन आएपछि भने सरकारलाई एमसीसी अनुमोदन गर्न हतार भएको छ। तर, गठबन्धन दलमै सहमति भने हुन सकेको छैन। एमालेबाट विभाजित भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संशोधन गरेर मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडान राखेका छन्। 

तारोमा सभामुख सापकोटा 

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी सम्झौता लगे पनि टेबल भएको छैन। एमाले अध्यक्ष ओलीले पूर्वसभामुख कृष्णबहादुर महराले जस्तै सभामुख अग्नि सापकोटाले एमसीसी टेबल गर्न नदिएको बताएका छन्। उनले सापकोटालाई सभामुख पदबाट राजीनामा दिन माग गरेका छन्।

पार्टीले कारबाही गरेका १४ जना सांसद निलम्बन नगरेकोमा सभामुखसँग असन्तुष्ट एमालेले अग्नि सापकोटाको राजीनामा माग गरिरहेको छ। भदौ २३ गतेदेखि उसले निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ। 

एमाले सांसदको नारावाजीकैबीच प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएको गठबन्धन दल एमसीसीमा भने एमालेको पनि साथ लिन खोजिरहेको छ। तर, एमालेले सभामुखको राजीनामा र गठबन्धन भत्कनु पर्ने माग राखेको छ। उसले वैशाख ३० का लागि घोषित चुनावमा गठबन्धन गर्न नदिने रणनीति अपनाएको छ। 

एमसीसीमा एमालेको साथ लिन कांग्रेसले सभामुखलाई संसद्मा एमसीसी टेबल गराउन आग्रह गरिरहेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा टेबुल भएर छलफल हुन सभामुखले रोक्न नमिल्ने बताएका छन्। 

सभामुख सापकोटा भने सम्झौता टेबल गर्ने पक्षमा देखिएका छैनन्। उनले पुस ८ देखि निरन्तर संसद् बैठक सूचना निकालेर स्थगित गराउँदै आएका छन्। फागुन २ गतेलाई संसद् बैठक बोलाइएको छ।

फागुन २ गते बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक पछि सार्न एमालेले संसद् सचिवालयलाई आग्रह गरिसकेको जानकारी दिएको छ। सभामुखको राजीनामा र गठबन्धन तोडिए समर्थन गर्ने बताएको छ।

विराटनगरमा पार्टीको कार्यक्रम रहेकाले फागुन २ को बैठक पछि सार्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। 

‘यति दिन उति दिन भनेका छैनौ एमालेको कार्यक्रमसँग नजुधाइदिनु भनेका हौं,’भट्टराईले भने,‘संसद् बैठक बोलाउँदा अरुसँग छलफल गर्ने तर, एमालेसँग छलफल गरिएको छैन।’

माघ २९, २०७८ शनिबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।