सङ्गीतकर्मी बब्लुको चिन्ता : अबको आठ वर्षमा प्रकाश सपुत जत्तिको बन्न सकिएला त? 

सङ्गीतकर्मी बब्लुको चिन्ता : अबको आठ वर्षमा प्रकाश सपुत जत्तिको बन्न सकिएला त? 
तस्बिर : कृष्पा श्रेष्ठ

सङ्गीतसँग सम्बन्ध भएका सबै विधामा हात हालेर सफलताको शिखर चुम्दै गरेका देवेन्द्र बब्लुको परिचय एउटा मात्रै छैन। उनी गीतकार, गायक, सङ्गीतकारका साथै भिडियोतर्फ निर्देशन, अभिनय लगायतका विधामा पनि सक्रिय छन्। 

पत्रकारिता हुँदै सङ्गीतलाई पूर्णकालीन पेसा बनाएका उनी अहिलेका चर्चित गायक प्रकाश सपुतका भाइ पनि हुन्। माया गर्नेहरूले बोलाउने नाम बब्लुलाई थरको ठाउँमा झुन्ड्याएका उनैसँग उकेराकर्मी पुष्पा थपलियाले गरेको कुराकानीको सम्पादित अंश: 

तपाइको गीतले पर्खेको कसलाई हो?

(हाँस्दै) धेरै श्रोताले गीत सुनेर यो त बब्लुकै अनुभूति होला भन्नुहुन्छ। यसरी सोच्ने बनाउनु मेरो सफलता होला जस्तो लाग्छ। तर मैले पर्खेको पीडा भन्दा पनि अरूले पर्खाइको पीडा देखेर गीत बनेको हो।

पहिलो लकडाउन हामीले गाउँमै बितायौँ। त्यही समयमा गाउँकै एकजना आन्टीले फोनमा कुरा गरेको सुनेँ। उहाँले फोनमा भनेको ‘हाम्रो त भेटै हुन्न कि’ सुनेर गीत निकालेँ। उहाँले नै फोनमा तिमी उतै मर्ने, म यतै मर्ने, पर्खेको पख्र्यै हुने त होला नि भनेपछि त्यही अनुभूतिलाई समेटेर अहिलेको गीत बनाएको हो। बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेउन् भन्नुको विकल्प थिएन। 

आन्टीको पीडामा क्रियटिभीटी गर्नु भयो? 

अँ, क्रियटिभीटी भनेकै यस्तै हुने रहेछ। यस्तो ठाउँमा, यो समयमा मात्रै क्रियसन हुन्छ भन्ने हुँदैन। कोभिड १९ ले एक्लो बाँच्ने तरिकादेखि बिछोडका पीडासम्म अनुभूति गर्ने मौका दियो। भलै यसले धेरैको ज्यान लियो। तर आउने समयका लागि तयार हुन सिकायो।

नयाँ तरिकाले सिर्जना गर्ने तरिका सिकायो। चुड्की बजाएर भेट्न सकिने ठाउँमा समेत भेटघाट बन्द हु नसक्ला। मानिस देखि मानिस भाग्ने दिन आउन सक्ला भन्ने पाठ कोभिडले नै सिकायो। मैले भने यसको फाइदा लिएँ। बिरामी पनि परेँ। तर आफूले आफूलाई समय दिने मौका यसैले जुराइदियो।

आफूले मात्रै गरेको खेतीमा त कहाँ मल कम भयो? अब कस्तो खेती लगाउने? सबै थाहा हुन्छ। अरूको खेतमा काम गर्न जाँदा के मिल्दैन के। 

बेफाइदा पनि टन्नै भयो। मेरो गीत जब चर्चामा आउँछ लकडाउन भइहाल्छ। यति धेरै प्रतिस्पर्धा छ, दिनकै पाँच छ भन्दा बढी गीतहरू निस्किरहेका छन्। केही दिनको चर्चा पाउनु ठुलो कुरा भइरहेको समयमा म भने लकडाउन छउन्जेल मात्रै चर्चित हुन्छु। जनजीवन सामान्य भयो। मेला महोत्सव हुन थाल्यो। त्यतिन्जेलसम्म श्रोताले बिर्सिसक्छन्। गीत चलेको समयमा जति स्टेज पर्फमेन्सको माग अन्य समयमा हुँदैन। यसको भने सधैँ बेफाइदा नै छ।

कुनै एक मात्रै रोजे उत्कृष्ट हुन्थेँ जस्तो लाग्दैन?

यसलाई म एक किसानको नजरबाट व्याख्या गर्छु। परम्परागत किसान र व्यावसायिक किसान। परम्परागत किसान जो जीविकोपार्जनका लागि खेती गर्छ। आफैले फलाएको खान्छ। उसको खेतमा फलफूल, सागसब्जीदेखि अन्नसम्म सबै फल्छ।

अर्कोतिर व्यावसायिक किसान हुन्छन्। जो कुनै एक फलाएर बजारमा बेच्छन् र त्यसबाट अरू किनेर खान्छन्। म परम्परागत किसान हुँ। मेरो बारीमा थोरै गाजर छ, थोरै सागपात छ, थोरै अन्न छ। जसले म मात्रै बाँच्न सक्छु। मेरो परिवारलाई मात्रै बचाउन सक्छु।

सायद त्यही भएर होला। म अरूको काममा खासै रमाउन सक्दिन। कुनैले निर्देशन गरिदिनपर्यो भनेर प्रस्ताव गर्छन्। कसैले गीत लेखिदिनपर्यो भन्छन् त कसैले गाइदिन पर्यो भन्छन्। मलाई कुनै एक काममा मात्रै भिज्न गाह्रो पर्छ। गीत लेख्नेको कन्सेप्ट फरक होला। गाउनेले फरक तरिकाले गाइदेला। निर्देशकले अर्को तरिकाले निर्देशन गरिदेला। आफूले मात्रै गरेको खेतीमा त कहाँ मल कम भयो? अब कस्तो खेती लगाउने? सबै थाहा हुन्छ। अरूको खेतमा काम गर्न जाँदा के मिल्दैन के। 

तपाइको गीतमा प्रायः उस्तै सङ्गीत हुनुको कारण के हो?

म दर्शक श्रोतालाई मेरो आवाज सुन्ने बित्तिकै यो बब्लु हो भनेर चिनुन् भन्ने चाहन्छु। त्यसैले आफ्नोपन ल्याउन केही कुरालाई दोहोर्याउँछु। मानिसले मेरो जस्तो अरूले गरे पनि यो त देवेन्द्र फ्लेबर रहेछ भनोस् भन्ने चाहन्छु। फरक गर्ने कोसिस सधैँ रहिरहन्छ। तर कतै न कतै इन्फ्लोयन्स भइहाल्दो रहेछ। आफ्नोपन दिने चक्करमा मेरा गीत उस्तै सुनिन्छन् तर ती उस्तै भने छैनन्।

एकजना महिलाले मलाई प्रस्ताव राख्नुभयो। उहाँको बिहे भएको तर सम्बन्ध राम्रो नभएको रहेछ। उहाँले म पनि मनमाया जस्तै दबिएर बसेको महिला हो। तपाईँले मेरो फिलिङस् बुझ्नुहुन्छ जस्तो लाग्यो भन्नुभएको थियो। मैले ए ए बाहेक केही भन्नै सकिन।

अनि कतिपय अवस्थामा फरक सोच, फरक नतिजा पनि निस्केका छन्। उदाहरणका लागि मनमाया। खासमा मनमाया छोटो फिल्म बनाउनका लागि तयार पारेको भिडियो थियो। संवादले मज्जै आएन। अनि त्यसमा पछि भिडियो अनुसार शब्द लेखेर गाइयो। छोटो समयमा सङ्गीत सिर्जना गर्दा, अनि आफ्नो फ्लेबर दिँदा उस्तै जस्तो सुनिन पुग्यो।

मनमाया भिडियोको कुरा उठाइहाल्नुभयो। भिडियो बनाउने सोच आयो कसरी?

कतै सानो झिल्को पाइयो भने त्यसैलाई ठोसेर आगो लगाउने हो। बन्दीपुरमा फिल्म सुटिङका लागि जाँदा एक होम स्टेमा बसेका थियौँ। त्यहाँ एकजना महिला हुनुहुन्थ्यो। उहाँ अविवाहित जस्तै देखिनुहुन्थ्यो। मैले व्यक्तिगत रूपमा गएर भने सोधिन।

उहाँलाई देखेपछि अविवाहित महिला पनि प्रेममा पर्न सक्नुहोला। त्यो पनि हामी जतिको उमेरको मानिससँग भन्ने सोचेर भिडियो बनाएँ। त्यस्तो साँच्चै हुँदो रहेछ भन्ने कुरा चाहिँ गीत सार्वजनिक भएपछि थाहा पाएँ।

किनभने एकजना महिलाले मलाई प्रस्ताव राख्नुभयो। उहाँको बिहे भएको तर सम्बन्ध राम्रो नभएको रहेछ। उहाँले म पनि मनमाया जस्तै दबिएर बसेको महिला हो। तपाईँले मेरो फिलिङस् बुझ्नुहुन्छ जस्तो लाग्यो भन्नुभएको थियो। मैले ए ए बाहेक केही भन्नै सकिन।

प्रकाश सपुतको छायामा परियो जस्तो लाग्दैन?

(हाँस्दै) यसलाई फाइदा र बेफाइदा दुवै पाटोबाट केलाउन सकिन्छ। दाइको र मेरो अनुहार समेत मिल्छ। कतिपय मानिसले मलाई दाइ बनाइरहेका हुन्छन्। अनुहार उस्तै, काम पनि एकै। जसले गर्दा मेरा गीत चले पनि नाम खासै चलेको छैन।

मानिसले मेरो नाम भन्दा प्रकाश सपुतको भाइ भनेर चिन्छन्। मैले अर्को के कुरा अनुभूत गरेँ भने गीत चल्नु र नाम चल्नु फरक रहेछ। दाइको नाम अब ब्रान्ड भइसक्यो। प्रकाश सपुत नामै काफी छ।

उहाँले १० वर्षमा हासिल गरेको यो उपलब्धि मैले दुई वर्षमा खोज्ने कुरा पनि आएन। दाइको कारण मलाई के चुनौती छ भने अबको आठ वर्षमा म प्रकाश सपुत जतिको बन्न सक्छु कि सक्दिन। एक प्रकारले भन्ने हो भने यो मेरा लागि नैतिक दबाब हो।

कतिपय सङ्गीत क्षेत्रकै मानिस प्रकाश सपुतका कारण यसको भिडियो चल्यो। निर्देशन चल्यो, गीत चल्यो, अवसर पायो भन्ने पनि छन्। नाम मात्रै देवेन्द्रको राखियो। काम सबै दाइले गर्यो भनेर हल्ला गर्नेहरू पनि छन्। उनीहरूलाई दाइको सहयोग अवश्य छ। तर म पनि लायककै पात्र हुँ भनेर देखाउने दबाबले थिचिरहने रहेछ।

माघ २९, २०७८ शनिबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।