पुरानो दरबार रंग्याउन ४० लाख खर्च, १० करोड सक्ने लक्ष्य

पुरानो दरबार रंग्याउन ४० लाख खर्च, १० करोड सक्ने लक्ष्य

बुटवल : कालीगण्डकी नदी किनारको ढुङ्गे चट्टानको आडमा रहेको रानीमहल संरक्षणको पर्खाइमा थियो।

पाल्पाको सदरमुकाम तानसेनबाट १४ किलोमिटर उत्तरमा रहेको रानीमहल आन्तरिक पर्यटक आकर्षित गर्ने मध्येको एक हो। बौघागुम्हा र खानीगाउँको सीमामा रहेको रानीमहल तत्कालीन पाल्पाका सेनापति खड्क शमशेरले तेजकुमारीको सम्झनामा बनाएका थिए। 

१९५० सालमा पाल्पा गौडाका तैनाथवाला सेनापति उनले दिवङ्गत रानीको सम्झनामा रानीमहल निर्माण गरेको पढ्न पाइन्छ। संरक्षणको अभावमा भग्नावशेष रानीमहल अहिले हिजोको जस्तो छैन।

तानसेन नगरपालिकाले भग्नावशेष बन्न लागेको रानीमहल दरबारलाई सफा, व्यवस्थित र इतिहास झल्काउने प्रयास गरेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहले बताए। पुरानो दरबारमा रंगरोगन गरी दीर्घकालीन विकासमा जुटेको शाह बताउँछन्। 

दरबार अगाडीको खाली बगर व्यवस्थापन गरी दरबार र परिसरलाई हेर्न लायक बनाउने अभियानमा नगरपालिका लागेको उनको भनाई छ। पुरानो रंग्याउन ४० लाख खर्च भएको उनले बताए। 

काम सुरु गर्दा १५ लाख विनियोजन गरिएकोमा अहिले ४० लाख खर्च भइसकेको उनले बताए। १० करोड रुपैयाँ खर्च लाग्ने नगरप्रमुख शाहीको अनुमानित बजेट छ। 

पुरातत्त्व विभागले १० वर्षका लागि नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेपछि बजेट विनियोजन गरेर निर्माणको काम भइरहेको नगरप्रमुख शाह बताउँछन्। रानीमहललाई अहिले चिटिक्क पारिएको छ। गार्डेन बनाएर फुल फुलाइएको छ।  

रानीमहलमा सिसी क्यामेरा जडान गरिएको छ भने ३ जना हेरालु राखिएको छ। 

रानीमहल पुग्नेहरूले रानीमहलका भित्तामा कोरकार पारेर शब्द कोर्थे। प्रेमी–प्रेमीकाको पहिलो अक्षर लेखेर बीचमा ‘प्लस’ लेख्थे। प्रेमको प्रतीक रानीमहलमा अहिले यी दृश्य कम देख्न पाइन्छ। भित्ता सफा र चिटिक्क देखिन्छ। 

अहिले रानीमहल दरबार, दरबारमा सीमित छैन। पुरानो दरबारको महत्त्व झल्काउन संग्राहलयको रूपमा विकास गरिएको छ। रानीमहलमा तत्कालीन पाल्पाका राजा खड्क शमशेर र तेजकुमारीको तस्बिर राखिएको छ।

दरबार भित्र रानी कक्ष र बैठक कक्ष बनाइएका छन्। रानीमहल दरबार निर्माण गर्ने राजा खड्क शमशेरको पालामा उनले प्रयोग गरेका पुराना र ऐतिहासिक सामाग्रीहरू राखिएको छ। राजाले पूजा गर्ने मूर्तिहरू, पकाउने पुरातात्त्विक भाँडाकुँडा दरबारमा सङ्गृहीत छन्। 

बेलायती इन्जिनियरको डिजाइन अनुसार रानीमहल खड्ग शमशेरले बनाएको जानकारी दिने सामग्री राखिएको छ। संग्राहलयमा राखिएका तस्बिर हेर्दा कालीगण्डकी जलविद्युत आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै विदेशी पर्यटकको ओइरो लाग्थ्यो। जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिएजस्तो देखिन्थ्यो।

दरबारको जगबाट कालीनदी बगे पनि हालसम्म दरबारलाई भने कुनै क्षति पुर्याएको छैन। करिब ११ रोपनी क्षेत्रफलमा रहेको ताजमहलमा २४ वटा कोठा छन्।

रानीमहलको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानी पोखरी, शिबलिङमा नागनागिनीले जल सेचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठुला घण्टहरू सहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ।

१९६० मा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे। श्री ३ चन्द्र शमशेरले यो कुरा थाहा पाए। चन्द्र शमशेरले पाल्पामा सेना पठाए।  आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएको ऐतिहासिक कथन छ। 

त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा छ। तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्त्व पाउने गरेको छ।

माघ २९, २०७८ शनिबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।