आइडलका जुन प्रतियोगीले खुट्टा भाँच्यो उसलाई फाप्यो !

आइडलका जुन प्रतियोगीले खुट्टा भाँच्यो उसलाई फाप्यो !

काठमाडौँ : नेपाल आइडल सिजन ४ का एपिसोडहरू चलिरहेका छन्। अहिले गाला राउन्डको एपिसोड २० मा पुगिसक्यो। यो बिचमा केही आशालाग्दा प्रतिभा बाहिरिए। केही सङ्घर्षरत छन्।

प्रतियोगीको पहिलो सङ्घर्ष त प्रतियोगितामा टिक्ने नै भयो। अर्को पनि सङ्घर्ष छ खुट्टा जोगाउने। खै के भएको हो यो सिजनमा ! प्रतियोगीहरू एकपछि अर्को गरेर खुट्टा भाँचेको भाँच्यै छन्।

पहिलो खुट्टा भाँच्नेमा परे भूपेन्द्र थापा मगर। उनको दाहिने खुट्टाको गोली गाँठोको लिगामेन्ट गयो। पहिलो पटक हैन चौथो पटक रैछ उनको लिगामेन्ट फुस्किएको। लिगामेन्टले दिने दुख नै त्यही हो।

खुट्टा भाँच्ने दोस्रो प्रतियोगी निस्किइन् बेनिशा पौडेल। उनको पनि दाहिने नै। ठाउँ पनि उहीँ। अचम्मै। तर अर्को के संयोग पनि जोडियो भने जसले खुट्टा भाँचे उसको प्रस्तुति चैँ बलियो हुँदै आउने। शुक्रवार त्यस्तै भो।

लोक सङ्गीत विधामा पौडेलले 'कुरा बुझ्नु पर्छ' भाकाको गीत मीठो शैलीमा गाइन्। जज सुगम पोखरेल छक्क परे। उनले जसको खुट्टामा समस्या आयो उसको प्रस्तुति राम्रो हुने गरेको भन्दै भने' पहिला भूपेन्द्रको पनि त्यस्तै भो आज बेनिशाको। तर सबैको खुट्टा त्यस्तै होस् भनेको हैन। तर जसको खुट्टामा समस्या आएको छ उसको प्रस्तुति राम्रो भएको छ।' अब खुट्टा र स्वर निकाल्ने घाँटीको सम्बन्ध के रैछ कुन्नि !

माघ २९, २०७८ शनिबार ००:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।