शेखरको सक्रियताले डराउलान् र देउवा !

शेखरको सक्रियताले डराउलान् र देउवा !

काठमाडौँ : गुप्त रूपमा राजनीतिमा सक्रिय हुने बानी परेका शेखर कोइराला पछिल्ला दिनमा राजनीतिक भेटवार्तामा सक्रिय भए। अमेरिकी सहयोग परियोजनाबारे प्रतिपक्ष र आफ्ना सत्ता सहयोगीलाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएका छैनन्। यो बेलामा पार्टी सभापति देउवालाई नभेटी एकाएक कोइराला राजनीतिक भेटघाटमा लागे।

मङ्गलवार साँझ कोइरालाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका उनले बिहीबार बिहान सत्ता गठबन्धनको प्रमुख सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटे।

भेटबारे औपचारिक रूपमा नेताहरूले बोलेका छैनन्। दाबीहरू सार्वजनिक भइरहेका छन्। भेटमा भएका छलफलबारे सार्वजनिक भएका विषयमा संसद्को गतिरोध हटाउने, अमेरिकी सहयोग परियोजनाको अन्योल हटाउने लगायतका विषय देखिएका छन्। एमाले अध्यक्ष ओलीसँगको भेटमा तीन तहको चुनाव, संसद्को अवरोध, एमसिसी अनि सत्ता गठबन्धनबारे कुरा भएको बताइएको छ।

प्रचण्डसँगको भेटमा कोइराला बढी गठबन्धनमा केन्द्रित भएको देखियो। प्रचण्डले आगामी निर्वाचनमा समेत गठबन्धन बनाएर जानुपर्ने भन्दै त्यसको विकल्पमा धारणा नराख्न आग्रह गरेको तर कोइरालाले कांग्रेसका मतदाताले माओवादीलाई मत दिए पनि माओवादीको मतदाताले कांग्रेसलाई मत नदिने दाबी गर्दै गठबन्धन सम्भव नभएको जवाफ दिएको दाबीहरू आए।

कोइरालाले प्रचण्डलाई एमसीसीलाई टुङ्ग्याउन आग्रह गर्दै ‘एमसीसीबारे तपाईँको धारणा प्रस्ट हुनुपर्यो। सरकारमा बसेर यसलाई गिजोल्नुभएन। यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ’ भनेको दाबीहरू सार्वजनिक भए।

दुवै भेटमा गठबन्धनबारे चर्चा भएको देखियो। पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा नै कोइरालाले आगामी निर्वाचनमा पार्टी एक्लै निर्वाचनमा जाने अजेन्डा अगाडि सारेका थिए। उनी पराजित भए। उनको प्यानलबाट जितेका महामन्त्री गगन थापाको अजेण्डा पनि त्यही हो।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पनि आगामी निर्वाचनमा कांग्रेस गठबन्धनविना जाओस् भन्ने चाहन्छन्। प्रचण्ड र माधव नेपाल भने गठबन्धनको पक्षमा छन्। तर एमसिसीको किचलोले गठबन्धन धरापमा पर्ने जोखिम बढेको छ।

उता पार्टीमा सभापति देउवाले कोइरालालाई गनेका छैनन्। यी दुबैबिच महाधिवेशनपछि औपचारिक कार्यक्रमबाहेक भेटघाट र छलफल भएको छैन। कोइराला स्रोतका अनुसार उनले एकाध पटक देउवासँग भेट्ने प्रयास नगरेका हैनन्। तर समय पाएनन्। यही बेलामा उनी एकाएक प्रमुख प्रतिपक्षी दलका अध्यक्ष र सत्ता गठबन्धनका सहयोगीका प्रमुखसँग छलफलमा लागे।

कोइरालाको तर्साउने रणनीति

सङ्घीय सरकारको मन्त्रीपरिषद् विस्तार होस् या प्रदेशको अनि राष्ट्रिय सभा निर्वाचनमा पनि देउवाले कोइरालासँग छलफल गरेनन्। निर्वाचनमा मुख्य प्रतिस्पर्धी भए पनि वरियतामा निकै तल राखे। पार्टी केन्द्रीय सदस्य लगायतका पदहरूमा एकल नियुक्ति गरे देउवाले। उनले महाधिवेशनमा मत समेत हाल्न नआएका रामचन्द्र पौडेललाई च्यापेर कोइरालालाई पेलेरै जाने नीति लिएपछि कोइराला समूह देउवालाई काउन्टर दिन सक्रिय हुने रणनीति बनाएको देखिन्छ।

जानकार स्रोतका अनुसार यो बिचमा कोइरालाले सचिवालयलाई सक्रिय बनाइसकेका छन् भने रणनीति बनाउन पुरन्जन आचार्य लगायतकाले उनलाई सघाउन थालेका छन्।

एमसिसी पारित गर्ने र संसद्को अवरोध हटाउनेबारे सहमती हुन नसक्दा अहिले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन्। यही बेलामा सक्रिय हुँदा राजनीतिक लाभ हुनसक्ने कोइराला समूहको निष्कर्षपछि नै उनी दलका प्रमुख नेताहरूसँग भेट्न थालेका हुन्।

पार्टीमा देउवाले जे भन्यो त्यो मात्र सम्भव नभएको सन्देश दिन ओली र प्रचण्डसँगको भेट सफल पनि देखियो। देउवाले गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म कायम गर्ने बताउँदै आएका छन्। कोइराला गठबन्धनको विपक्षमा उभिँदा भोलि निर्वाचनमा कांग्रेस नेतृत्व नै विभाजित हुनसक्ने सन्देश दिन कोइराला सफल देखिए।

गत पुसमा कोइराला पक्षको बसेरा होटलको बैठकमा संस्थापनले पेलेर जान खोजेको र ४० प्रतिशत मतको कदर नगरेको निष्कर्ष निकाल्दै देउवा टिमलाई काउन्टर दिन उच्चस्तरीय राजनीतिक संयन्त्र नै बनाएर अघि जानुपर्ने निर्णय भएको थियो।

तर, त्यो अझै कार्यान्वयन भएको छैन। उनीहरूले पार्टीको कार्यसम्पादनको बैठकपछि यसलाई कार्यान्वयन गर्ने तयारीमा देखिन्छन्। प्रदेश १ मा कोइराला समूहले प्रदेशस्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भैसकेको छ।

 ‘पार्टीभित्रको लोकतान्त्रिक अभ्यासबाट सभापतिमा दोस्रो स्थानमा आएका व्यक्तिले नेतृत्वबाट जे अपेक्षा गरेका थिए त्यो भूमिका र न्यायपूर्ण स्थान नपाएपछि सक्रियता स्वाभाविक हो,’ केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने‘नेतृत्वले सम्बोधन नगरे आन्तरिक रूपमा फाइदा गर्दैन र आगामी निर्वाचनमा समेत असर गर्न सक्छ। नेतृत्वले मध्यनजर गर्नुपर्छ।’

रणनीति बनाउन शेखरलाई सघाइरहेको दाबी गरिएका आचार्य भेटघाट हुँदा छलफल हुने गरे पनि औपचारिक रूपमा त्यस्तो कुनै समूह नबनेको दाबी गरे।

‘मेरो उहाँसँग भेटघाट हुन्छ, मेरो सामाजिक र पारिवारिक सम्बन्ध तीन पुस्ताको भइसक्यो। हाम्रो कुराकानी हुन्छ, उहाँले अपेक्षा गर्नुभएको सहयोग म गर्छु तर, सल्लाहकार भएर बस्ने कुरा छैन,’ आचार्यले भने।

उनले कोइराला र देउवाबिच भेटवार्ता समेत नहुनु र विचार बाझिएर अघि बढ्नु कांग्रेसको लागि दुर्भाग्य रहेको बताए। देउवालाई उनको समूहले कब्जा गरेर राखेको दाबी गर्दै आचार्यले यसले दुवै नेताको सम्बन्ध तितो बन्दै जाने जोखिम रहेको बताए।

‘उहाँहरूबिच समझदारी भए कांग्रेसको अघि बढ्ने पाटाहरू धेरै हुन्थे। त्यो हुन सकेन,’ उनले भने ‘शेरबहादुरजी माथि कांग्रेस भित्र पुरानो सिन्डिकेट छन्, सिन्डिकेट सिस्टमले शेरबहादुरलाई कब्जा गरेका छन्, हाबी भएका छन्।’

माघ २८, २०७८ शुक्रबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।