वीर अस्पतालकी 'ठेक्का सेटिङ क्विन' भावनाको करार म्याद थपिएन

वीर अस्पतालकी 'ठेक्का सेटिङ क्विन' भावनाको करार म्याद थपिएन

काठमाडौंः ‘ठेक्का सेटिङ क्विन’ भनेर चिनिएकी बायोमेडिकल इञ्जिनियर भावना बरालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा करार म्याद नथपिने भएको छ। पुस मसान्तमा बरालको करार म्याद सकिएपछि पुनः नथपिएको अस्पताल प्रशासनका उपसचिव सागर मिश्रले जानकारी दिए।

उनले भने, ‘उहाँ (भावना)को पुस मसान्तसम्म करार म्याद थियो। त्यसपछि पुनः करार म्याद थपिएन।’

अस्पताल स्रोतका अनुसार बराल स्वतः अस्पतालबाट बिदा भएकी छिन्। त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जदेखि नै खरिद सेटिङमा सक्रिय भएकी बरालले म्याद थप्नका लागि निकै सक्रिय थिइन्।

यसबारे उकेराले निरन्तर समाचार सम्प्रेषण गरेको थियो।

शिक्षण अस्पताल महाराजगञ्जमा आफूनिकटको कम्पनिलाई दर्ता गर्न लगाएर टेण्डर सेटिङ गरेपछि त्यहाँ बरालको करार म्याद नै नथपी खारेजी भएको थियो। जागिर गएपछि बराल मासिक ज्यालादारी करारमा कामकाज गर्नेगरी २०७८ जेठ २० गतेको नियुक्ति पत्रअनुसार कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल आइपुगेकी थिइन्।

बायोमेडिकल इञ्जिनियर (सातौं तह)मा कामकाज गर्न जेठ २१ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि अस्पतालका तत्कालीन प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले खटाएका थिए उनलाई। 

नियुक्ति पत्रमा उल्लेख भएअनुसार उनको जिम्मेवारी अस्पतालमा नयाँ मेसिन जडान तथा सञ्चालन, मेसिनहरूको मर्मत सम्भार साथै तोकिएबमोजिम अन्य कार्यहरू समेत गर्नेगरी अस्पतालको मर्मत सम्भार शाखामा रही काम गर्नुपर्ने थियो।

तर, बायोमेडिकल इञ्जिनियर बराल अस्पतालमा मेसिन, औजार, उपकरण तथा स्वास्थ्य सामग्री खरिदका लागि 'स्पेशिफिकेशन' बनाउन खटिइन्। उनलाई मासिक पारिश्रमिक ३७ हजार आठ सय ७० पाउनेगरी नियुक्त गरिएको थियो।

त्यसो त मासिक ज्यालादारीमा कामकाज गर्नेगरी नियुक्त भएकी बरालको ६ महिना पनि नपुग्दै करार म्याद थपियो। साउन १ गतेदेखि लागू हुनेगरी पुस मसान्तसम्म म्याद थपिएको थियो। अस्पताल स्रोतका अनुसार पुस मसान्तमा करार म्याद सकिएपछि उनी म्याद थपका लागि निकै सक्रिय थिइन्।

तर, खरिद प्रकरणमा विवादित बरालको म्याद थप नगरिएको अस्पताल प्रशासनले जनाएको छ। बराल युनिफाइड केन्द्रीय अस्पतालमा रहुञ्जेल आफूनिकटलाई टेण्डर पर्नेगरी 'स्पेशिफिकेशन' बनाएपछि विवादित बनेकी थिइन्। 

माघ २७, २०७८ बिहीबार २२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।