स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने अध्यादेश कानूनको रूपमा पारित गर्न चिकित्सक संघको माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने अध्यादेश कानूनको रूपमा पारित गर्न चिकित्सक संघको माग

काठमाडौंः नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई विधेयकमा परिणत गरी संसद्बाट कानूनको रूपमा पारित गर्न माग गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई एक ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनेक्रम नरोकिएको जनाउँदै मन्त्री बडूसमक्ष बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि दिन प्रतिदिन आक्रमण गर्ने क्रम निरन्तर जारी रहेको विद्यमान अवस्था कायमै छ।'

यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐनलाई समय सापेक्ष अद्यावधिक गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएको पनि संघले स्मरण गराएको छ।

सो अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता समेत गरिएको तर तत्कालीन समयमा संसद् नचलेका कारण कानूनको रूपमा पारित हुन नसकेको पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

संघले मन्त्री बडूलाई ज्ञापनपत्र बुझाउँदै अध्यादेश कानूनको रूपमा संसद्बाट पारित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउनुपर्ने माग राखेको छ। संघका महासचिव डा. बद्री रिजालले २५ गते मन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए।

माघ २७, २०७८ बिहीबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।