'मेरो उम्मेदवारी घोषणा स्टन्ट हैन, उम्मेदवार बन्नकै लागि हो'

'मेरो उम्मेदवारी घोषणा स्टन्ट हैन, उम्मेदवार बन्नकै लागि हो'

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै मुलुक फेरि चुनावमय भएको छ। कांग्रेस एमाले कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको छ। 

यसैबीच कास्की जिल्लाको पोखरा महानगरपालिकाको मेयरमा एकाएक स्वतन्त्र लेखक गनेश पौडेलले उम्मेदवारी घोषणा गरे। गैरराजनीतिक छवि बनाएका पौडेलको उम्मेदवारी घोषणाले सामाजिक सञ्जाल तातियो। 

'पैताला' उपन्यास अनि 'मुसा मानुष' अनुवाद कृति प्रकाशन गरेका पौडेलको उम्मेदवारी केवल 'अटेन्सन'का लागि मात्र हो भन्ने प्रतिक्रियाहरू पनि देखिएका छन्।

१५ वर्ष विद्यालय तहमा अध्यापन गरेका पौडेलले उम्मेदवारी घोषणा गर्नुको कारण अब राजनीतिक यात्रा सुरु गर्ने योजनाअनुसार हो या जनप्रतिनिधिले सोचेअनुसारको नतिजा दिन नसक्दाको झोँकको परिणाम मात्र हो? उनीसँग उम्मेदवारीमा केन्द्रित भएर प्रजु पन्तले गरेको कुराकानीको सम्पादित अंश: 

ट्वीट गरेर अप्रत्याशित रूपमा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारी घोषणा पो गर्नुभयो त। निकै झोँक चल्यो कि क्या हो जनप्रतिनिधिले काम नगरेको देखेर?
स्थानीय सरकारमा संसारका धेरै देशहरूमा राजनीतिक दलको होइन स्वतन्त्र व्यक्ति उम्मेदवार हुन्छन्। हाम्रोमा पनि यही मोडलमा कुरा उठेको हो। राजनीतिक दलले कार्यकर्ता व्यवस्थापनको सहज उपाय ठाने। उनीहरू किन गुमाउँथे र?  हामी नागरिकले भने स्थानीय तहमा स्वतन्त्र उम्मेदवार मात्रै उठाउन पाउने अवस्था ल्याउन सक्ने अवसर गुमायौँ। अहिले पनि कथित राजनीतिक दलका उम्मेदवारले भन्दा पनि चुनाव चिह्नले चुनाव जित्छ। 

गाउँमै काम गर्नेले भन्दा पनि गाउँमा पाइला कहिल्यै नटेकेको राजनीतिक दलको उम्मेदवारले चुनाव जित्छन्। स्थानीय तहको चुनाव व्यक्तिमा निहित हुने थियो। तर यो हुन सकेन। हाम्रा राजनीतिक दलको अर्कमण्यता यतिसम्म देखिएको छ कि उनीहरूको महाधिवेशनले देखाइ नै हाल्यो। उनीहरूले शक्ति सञ्चयको लागि राजनीति गरेको देखियो। स्थानीय तहमा राजनीतिक दलले चुनाव जित्दा यहाँको समस्या कहिल्यै सामाधान हुँदैन। पोखराको हकमा पनि त्यही हो। 

उदारहरणको लागि फेवाताल अतिक्रमणको मुद्दा किन कोही राजनीतिक दलले उठाउन सक्दैनन्? पोखरामा १५ हजार रोपनी जग्गा मिचिएको छ। किन यो बारे कसैले आफ्नो मुद्दा बनाउन सक्दैन?  हरेक घरमा कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता छन्। त्यही अतिक्रमण गर्ने पनि राजनीतिक दलसँग नजिक भएका हुन सक्छन्। अनि कसरी सरकारी जग्गा हडप्नेबाट सरकारले खोस्न सक्छ? मिचिएका जग्गालाई सही सदुपयोग गरेर सिटी फरेष्ट पार्कको रूपमा बनाउन सकिँदैनथ्यो?  राजनीतिक दलले स्टन्ट मात्रै गर्ने भए। खास काम गर्ने नै भएनन्। 

१५ वर्ष पढाएँ मैले विद्यालय। कहिल्यै पनि त्यतिबेलाको जिल्ला शिक्षा कार्यलयले राम्रो पढाए पनि भनेन् नराम्रो पढायो भनेर कम्प्लेन पनि गरेनन्। यस्तो पनि हुन्छ? मूल्याङ्कन हुनुपर्दैन?

मैले मेरो कुरा लेखेर त राख्न सक्थेँ होला तर सोचेँ अब उम्मेदवारीबाट नै आफ्ना मुद्दाहरू राख्नुपर्छ। भोलि चुनावमा के होला अर्को कुरा हो। तर मुद्दा स्थापित त हुन्छन् भन्ने मेरो विश्वास हो। त्यसैले मेरो उम्मेदवारी स्टन्ट हैन। चुनावमा भाग लिनकै लागि हो।

कतिपयले धेरै पुस्तक पढ्ने फिल्म हेर्ने गनेशले कुनै पात्र सम्झेर उम्मेदवारी पो दिएका हुन् कि भनेर प्रतिक्रिया दिएको पनि देखियो। हो?
अघिल्लो चुनावमा पनि उठ्न खोजेको थिएँ। साथीहरूसँग सल्लाह गर्दा जितिने होइन, दुई तीन लाख खर्च भइहाल्छ, किन उठ्ने भन्नुभयो। मलाई पनि हो के भन्ने भयो। तर जित्न मात्रै चुनाव उठ्ने होइन। आफ्नो मुद्दा स्थापित गर्न पनि चुनावमा उठ्ने हो। 

त्यसैले यस पालिकाको मेरो उम्मेदवारी कुनै क्यारेक्टरको प्रेरणाले होइन, अब परिर्वतन आवश्यक छ, अति भयो पुरानो राजनीतिक दलको अत्याचार भनेर घोषणा गरेको हुँ। सबैले राम्रो पनि भन्नुभएको छ। उहाँहरूको विश्वासलाई कुठराघात गर्न हुन्न। 

तपाईंसँग के त्यस्ता पाँच वटा योजना छन् जुन पुराना राजनीतिक दलले पूरा गर्न सकेनन्? 
घोषणापत्र बनाउँदै छु। घोषणापत्रलाई दुई भागमा बाँडेको छु। सैद्धान्तिक रूपमा लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारी किन आवश्यक छ भन्नेबारे पहिलो भाग आउँछ। लोकतन्त्रको सौन्दर्य भनेकै स्वतन्त्र उम्मेदवारी हो। राजनीतिक दलप्रति असन्तुष्ट भएकै कारण स्वतन्त्र उम्मेदवार उठिन्छ। 

पोखराका प्राथमिकताको सूची बनाइरहेको छु। अहिलेका राजनीतिक दलहरूलाई सरकारी दल भन्ने गरेको छु मैले। उनीहरूले बनाएका घोषणापत्र महत्त्वकांक्षी र अस्वाभाविक छन्। उदाहरणको लागि पोखराको मेयरले चीनसँग जोडिने रेल बनाउने सपना देख्छ। योजना बनाउँछ। उसले हेक्का पनि गरेको हुँदैन एउटै जिल्लामा फरक-फरक पालिका छन्। 

चीनसम्म पुग्न फरक पालिका मात्रै होइन फरक जिल्ला पनि पुग्नुपर्छ। जबकी यस्ता ठूला आयोजना प्रदेश अथवा संघीय सरकारले मात्रै गर्न सक्छन्। महानगरको बजेट कति हो, के-के गर्न सकिन्छ हेक्का नभइकन गरिएका बाचा हुन् ती। 

हाम्रोमा विकास भन्ने बित्तिक्कै ठूला-ठूला भवन बन्नु, पुल बन्नु, सडक बन्नु, अस्पताल बन्नु, विद्यालयका भवन बन्नुलाई लिइन्छ। के यो मात्र विकास हो ? 
यी त विकासका लागि चाहिने भौतिक पूर्वाधार हुन्। अस्पताल बनाइयो तर त्यो पहुँच आम नागरिकलाई पुग्यो कि पुगेन? विद्यालय त खोलियो तर गुणस्तरीय शिक्षा भयो कि भएन? यत्रो असमानता किन सिर्जित भयो? 

म मेयर भएँ भने पहिलो प्राथामिकता शिक्षालाई दिन्छु। सामुदायिक विद्यालयका ऊर्जावान् शिक्षकहरू सय डेढ सय छानेर अमेरिकामा कसरी पढाइ भइरहेको छ त्यो हेर्न पठाउँछु। त्यहाँ सिकेर आएर यता विकास गर्छन्। 

वैकल्पिक दललाई रवीन्द्र मिश्र र बाबुराम भट्टराईले यति गिजोलि दिए कि वैकल्पिक राजनीतिमा विश्वास गर्नेहरू बाहिर छन् अहिले।

स्थानीय सरकारले पाठ्यक्रम समेत परिर्वतन गर्न सक्ने अधिकार छ। तर किन यो कार्यान्वयमा आएन? हाम्रो विश्वविद्यालयमाभन्दा बाहिरका विश्वविद्यालयमा किन आकर्षण छ?  विद्यालय तहदेखि नै किन नेपालमै पढ्ने सपना देख्दैन विद्यार्थीले? 

१५ वर्ष पढाएँ मैले विद्यालय। कहिल्यै पनि त्यतिबेलाको जिल्ला शिक्षा कार्यलयले राम्रो पढाए पनि भनेन् नराम्रो पढायो भनेर कम्प्लेन पनि गरेनन्। यस्तो पनि हुन्छ? मूल्याङ्कन हुनुपर्दैन? मलाई यस्तो देश देखाइदिनुस् जुन देशले सामुदायिक शिक्षा गुणस्तरीय नभई विकास गरेको होस्। 

निजी हटाउनुपर्छ भनेको होइन सामुदायिक शिक्षा सबल हुनुपर्छ भनेको हो। जुन सुधार्न मसँग योजना छन्। डेलिभरी हुने किसमले हाम्रो शिक्षाको विकास हुनुपर्छ। 

दोस्रो खेलकुद। प्रत्येक वडा वडामा फुटबल खेल्नसम्म भए पनि चौर चाहिने होइन? खै चौर? पोखरा भनेको चौरै चौरको शहर हो। आज चौर मासिएका छन्। उपयुक्त मुआब्जा दिएर चौर बनाउनुपर्छ। 

त्यस्तै १५ हजार रोपनी जग्गा मिचिएका छन् पोखरामा। यो खुला हुनुपर्दैन? सरकारी जग्गा भएपछि सरकारको मातहतमा आउनुपर्यो नि। 

अर्को पठन संस्कृतिको विकास हो। प्रत्येक वडा कार्यालयमा सामुदायिक पुस्तकालयको स्थापना गर्नुपर्छ। पोखरा महानगरपालिकामा काम गरेका तर काम नभएका कर्मचारी धेरै देखेको छु। ती कर्मचारीलाई काममा खटाउन सकिन्छ। 

कुनै एउटा यस्तो विकसित देश छैन जहाँ नपढिकन विकास भएको होस्। कुनै विदेशी पोखरा घुम्न आयो भने पुस्तक पढ्दै डुंगामा शयर गरिरहेको हुन्छ हामी नैनी ताल गयौँ भने के गर्छौँ? किन हाम्रोमा पठन संस्कृति भएन? बहस गर्न ढिला भएन? पुस्तकप्रतिको मोह छैन। ज्ञानप्रति वितृष्णा छ अनि कसरी हुन्छ अध्ययन अनुसन्धान?  

विज्ञान नभई कुनै कुराको विकास हुन्छ?  हामी विज्ञानभन्दा चमत्कारमा विश्वास गर्छौँ। कोही फुत्त आउँछ र विकास हुन्छ भनेर त्यसो होइन हामीले नै गर्ने हो काम। पढ्दै नपढी टप हुन खोज्ने, कामै नगरी धनी हुन खोज्ने भयौँ हामी। यो चिर्नु पर्दैन अब?

त्यस्तै पोखराको अर्को भनेको पर्यटन हो। लेकसाइड मात्रै हो पर्यटनको लागि? पोखराकै अर्को वडाका मान्छेले किन फाइदा लिन पाएका छैनन्? सबै वडा उत्तिकै महत्त्वका छैनन् र? 

पहिले व्यापारीले राजनीतिक दललाई प्रभावमा पारेर पैसा कमाउँछन् भन्थे। अहिले त आफैं केन्द्रीय सदस्य भइसके। त्यसकारण सानै भए पनि धक्का होस् भन्ने मेरो चाहना हो। 

अर्को वात्स्यायन ऋषिको समाधिस्थल पोखरामा छ। हामीले त्यो स्थानलाई टेम्पल अफ लभ बनाउँदा हुँदैन?

वात्स्यायन पार्क बनाउन सकिन्न र? कामसूत्रबारे त्यत्रो पुस्तक लेखेका उनलाई खै हामीले चिनाउन सकेको? पर्यटनमा जोड्ने संस्कृति हो। संस्कृति जोडेनौँ भने आर्थिक गतिविधि उकासिँदैन। 

अर्को भनेको कृषि हो। अमेरिकामा पनि कृषि फार्म चलाउनेहरू धनी हुँदैनन्। महिनाको एकपटक मेला लाग्छ त्यहाँ। धनी व्यक्तिहरू गएर किन्छन्। किसान हुनु राम्रो हो भनेर सिकाउँछन्। 

काल्पनिक नै सही कांग्रेस अथवा एमालेले तपाईंलाई सहयोग गर्ने भए जितिहाल्नु भयो मेन्टली रूपमा तयार हुनुहुन्छ? 
कांग्रेस-एमालेले बाहेक अन्य राजनीतिक दलका नेताले तपाईं हाम्रो उम्मेदवार भइदिनुस् भनेका छन्। म के प्रष्ट छु भने म स्वतन्त्र उम्मेदवार हुँ। 

संसारभर तीन प्रकारका राजनीतिक दलहरू छन्। वामपन्थी प्रजातान्त्रिक र वैकल्पिक। नेपालमा पनि त्यस्तै देखिन्छ। कांग्रेस-राप्रपाले प्रजातान्त्रिकहरूको नेतृत्त्व गरेको छ, एमाले-माओवादीले जनमोर्चा वामपन्थी र बाबुराम भट्टराईको पहिलेको नयाँ शक्ति र रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी। 

वैकल्पिक दललाई रवीन्द्र मिश्र र बाबुराम भट्टराईले यति गिजोलि दिए कि वैकल्पिक राजनीतिमा विश्वास गर्नेहरू बाहिर छन् अहिले। वैकल्पिक राजनीति दलमा छैनन्। त्यस्तै भएको छ अन्य राजनीतिक दलमा पनि। खाँटी मार्क्सवादी, कम्युनिष्ट पनि कम्युनिष्ट भनिएका राजनीतिक दलमा छैनन्। खाँटी प्रजातान्त्रिक पनि कांग्रेसभन्दा बाहिर छन्। कांग्रेस-एमाले त पुँजीपति र ठेकेदारको चंगुलमा फसिसके। 

नेपालको कुल राष्ट्रिय आयको ६० प्रतिशत कर नेपालका धनी भनिएका सय जनाले तिर्छन्। करोडौँ नागरिक भएको मुलुकमा सय जना मात्रै धनी हुने कस्तो व्यवस्था ल्यायौँ हामीले? 

बाहिर एउटा कम्पनी चलाएको व्यक्तिले त्यही कम्पनी मात्रै चलाउँछ हाम्रोमा। ठेकेदार उही, हाइड्रो उही, सुनको ठेक्का उही। एउटै व्यक्तिले धेरै क्षेत्रमा कसरी हात हालेर धनी भयो? 

स्थानीय तहले सम्पूर्ण करको अवस्था परिर्वतन गर्न सक्दैन। तर आफ्नो पालिकामा उठ्ने करको सही सदुपयोग गर्न सक्छ। धनीबाट न्योचीत कर उठाएर गरिबलाई वितरण गर्नुपर्ने होइन? तर यसो भएको छैन। 

पहिले व्यापारीले राजनीतिक दललाई प्रभावमा पारेर पैसा कमाउँछन् भन्थे। अहिले त आफैं केन्द्रीय सदस्य भइसके। त्यसकारण सानै भए पनि धक्का होस् भन्ने मेरो चाहना हो। 

दलीय तन्त्र जुनसुकै क्षेत्रमा हावी छ। विगतमा रञ्जु दर्शना राजनीतिक दलबाटै उठे पनि चुनाव हारिन्। हार्ने नै भएपछि किन उठ्नु हुन्छ त? 
स्वतन्त्र उम्मेदवारी दिनु त आन्दोलन हो। काठमाडौंमा फ्लोरक्रस गर्ने मतदाता भए जस्तो पोखरामा फ्लोरक्रस गर्ने मतदाता कमै छन्। यो लाहुरेको शहर हो। यहाँ युवाहरू बाहिर छन् र युवाले नै फ्लोरक्रस गर्ने हो। त्यो कम छ। 

तर चुनावमा जितिन्छ भनेर नै उठ्ने हो। मुद्दा उठाउने हो। जितिएला, हारिएला प्राविधिक कुरा हो तर चुनावमा उठ्ने नै हो। उठ्छु नै।

माघ २७, २०७८ बिहीबार १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।