क्रेडिट पाएसँगै मत्थर भयो गायिका अन्जु-रचनाको विवाद
काठमाडौँ : अन्जु पन्त र जगदीश समालले गाएको ' नबिर्से तिमिलाई नपाए तिमिलाई' बोलको गजब पुन रचना रिमालको स्वरमा रेकर्ड भएर सार्वजनिक भएसँगै सुरु भएको विवाद समाधान भएको छ।
२०६४ मा रञ्जना म्युजिकले बजारमा ल्याएको यो गीत गीतकार विपिन किरणसँग कपि राइट रहेको थियो। सङ्गीतकार महेश खड्कासँग मिलेर उनले अहिले युवापुस्तामाझ चर्चामा रहेकी गायिका रिमालको स्वरमा पुन रेकर्ड गरेर किरण क्रियशित च्यानलबाट सार्वजनिक गरेका थिए।
एक सातामै गीतको म्युजिक भिडियो ५ लाख ८६ जनाले हेरिसकेका छन्। पन्तले गाएको गीत म्युजिक नेपालको युट्युब च्यानलमा छ। सो गीत ६९ लाखले हेरिसकेका छन्। सोही च्यानलमा रहेको समालले गाएको गीत २ लाखले हेरेका छन्।
तर गीत सार्वजनिक भएसँगै यसका पुराना गायक र गायिकालाई क्रेडिट नदिएको भन्दै विवाद सुरु भएको थियो। श्रोताबाट सुरु भएको विवादमा गायिका अन्जु पन्त समेत मिसिएर चित्त दुखाएपछि निर्माण टिमले युट्युब च्यानलमा पहिला गाउने अन्जु पन्त र जगदीश समाललाई क्रेडिट दिँदै पुरानो युट्युबको लिङ्क समेत राखेका छन्।
अञ्जु भर्सेज रचना : एउटा चर्चित गीतले निम्त्याएको भर्सनको लफडा
च्यानलको सन्देश राख्ने स्थानमा लेखिएको छ' बि.सं. २०६४ मा रञ्जना म्युजिक ईन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम "किरण" भित्र समावेश यो गजल हामीले पुन : रेकर्डिङ गरेर लिएर आएका छौँ । उक्त समयमा अन्जु पन्त र जगदीश समालले गाउनु भएको यो गजलको लिङ्क समेत यही समावेश गरेका छौँ।'
युट्युबमा क्रेडिट देखिएपछि गायिका पन्तले निर्माण टिमलाई धन्यवाद दिँदै फेसबुकमा लेखेकी छिन्' न बिर्से तिमीलाई गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद। मानिसबाट कहिलेकहीँ जानअन्जानमा भुल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले। विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिङ्क समेत राख्नुभएको छ। यो तपाईँको कदम प्रशंसनीय छ। भविष्यमा हामी सबै मिलेर नेपाली गीत सङ्गीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ । फेरी पनि रचना नानुलाई धेरै माया र आशीर्वाद।'
माघ २७, २०७८ बिहीबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।