सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्ने तयारी

सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्ने तयारी

धनगढीः सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोग गठन भएको झण्डै एक वर्षपछि कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न लागिएको छ। गत वर्ष चैतमा लोकसेवा आयोग गठन गरेको प्रदेश सरकारले हालसम्म विज्ञापन खोल्न सकेको थिएन।

बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि लोकसेवा आयोगमा अनुरोध पत्र पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत संरचना र दरबन्दी तेरिज स्वीकृत गरी तहगत पदमा कायम गर्ने एवं रिक्त पदहरूमा पदपूर्तिका लागि लोकसेवा आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन्। 

उनका अनुसार प्रमुख सचिव, सचिव तथा नेपाल सरकारबाट पूर्ति हुने पदबाहेकका पदका लागि प्रदेशको सङ्गठन संरचना र कर्मचारी दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। प्रदेशका मन्त्रालय, प्रदेश सभा, मुख्यन्यायधिवक्ताको कार्यालय लगायतमा आवश्यक कर्मचारीको माग फारम भरी एक साताभित्र प्रदेश लोकसेवा आयोगमा पठाउन समेत निर्देशन दिइएको छ।

आजको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेसँगै चार वर्षदेखिको कर्मचारी अभावको समस्या समाधान हुने मन्त्री जोशीले बताइन्। 

प्रदेशमा हाल ४५ प्रतिशत कर्मचारी अभाव रहेका छन्। ‘अब चाँडै प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवेदन खोल्ने छ। एक साताभित्रै सबै मन्त्रालयले माग फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने छन्। सबै विवरण पाइसकेपछि लोकसेवाले विज्ञापन खोल्छ,’ मन्त्री जोशीले भनिन्।

मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाएपछि विज्ञापन प्रक्रिया अगाडि बढ्ने प्रदेश लोकसेवा आयोगले जनाएको छ। 
‘सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त छ। हामीले पटक–पटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो। तर विवरण नै प्राप्त नहुँदा लोकसेवा विज्ञापन खोल्न सकेका थिएनौँ,’ प्रदेश लोकसेवा आयोगका सदस्य सचिव दुर्गादत्त विष्टले भने, ‘आन्तरिक तयारी सकिएपछि हामीले विज्ञापन खोल्छौँ।’

माघ २७, २०७८ बिहीबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।