अञ्जु भर्सेज रचना : एउटा चर्चित गीतले निम्त्याएको भर्सनको लफडा 

अञ्जु भर्सेज रचना : एउटा चर्चित गीतले निम्त्याएको भर्सनको लफडा 

एउटा मान्छे थियो। उसले तरुनी श्रीमती विहे गरेको थियो। श्रीमती तरुनी हुन्जेल श्रीमतीको जीउडाल आकर्षक थियो भने जस्ता लुका लगाए पनि चिटिक्क सुहाउने। सबैतिर वाह-वाह! सबैले भन्थे, अहो तिम्री स्वास्नी त कति राम्री!

जिन्दगी चल्दै गयो। तरुनी श्रीमती दर्जनौं बच्चा जन्माएर रुग्ण बनी। श्रीमानले गाउँमा अरु तरुनीप्रति आँखा लगाउन थाल्यो। अन्तिममा उसले फेरि आफ्नो बुढो शरीर लिएर नयाँ तरुनीसँग विहे गर्यो।

बुढाले गरेको नयाँ विहेको विरोध र समर्थनमा अहिले गाउँ तात्तिएको छ। ज्यान फुलेर भद्दा भएका सबै बुढाहरु सोह्र वर्षे तरुनी विहे गर्न पाउनुपर्छ भनेर जिन्दावाद र मुर्दावादको नारा लगाइरहेछन्। गाउँका अरु मान्छेहरु बुढाको पुरानी बुढी र नयाँ तरुनी बुढीको पक्ष र विपक्षमा वकालत गरिरहेछन्।

गायक शिव परियारले लेखेको कथा हो यो। उनले यो कथालाई सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनको कथा मात्रै हैन, व्यंग्य पनि हो, अहिले चलिरहेको सांगीतिक बहसका बारेमा। 

उनले कथामा भन्न खोजेको बुढी श्रीमती गायिका अन्जु पन्त, तरुनी श्रीमती गायिका रचना रिमाल र बुढो मान्छे गीतकार विपिन किरण हुन्। 

तर, शिवले भनेजस्तो मानिसको वैवाहिक जीवनसँग संगीतलाई लिएर गरेको व्यंग्य गलत छ। कानुनसम्मत मानिसले बहुविवाह गर्न पाउँदैन तर प्रतिलिपि अधिकार अनुसार संगीतमा अधिकारप्राप्त व्यक्तिले मन लागेजति प्रस्तुतीकर्ता ल्याउन पाउँछ।

यसको पछिल्लो उदाहरणका रुपमा 'फुल बुट्टे सारी'लाई लिन सकिन्छ। गीतका लेजेन्डरी भर्जन, फिमेल भर्जन, मेल भर्जन, किड्स भर्जन निकालिएको छ। तर  कतै पनि ओर्जिनल भर्जन उल्लेख गरिएको छैन।

के भन्छ कानुन?

प्रतिलिपि अधिकार ऐन २०५९ को परिच्छेद २ को दफा ७ अनुसार आर्थिक अधिकारप्राप्त व्यक्तिले रचनाको पुनर्उत्पादन, अनुवाद, परिमार्जन वा संशोधन लगायतका कार्य गर्न पाउने अधिकार दिइएको छ।

यदि गीतमा आर्थिक अधिकार भएको व्यक्तिले अनुमति दिने हो भने विश्वका हरेक मानिसले आ-आफ्नो भर्जन निकाल्न पाउँछन्। जसमा पहिलो प्रस्तुतकर्ता भनेर क्रेडिट दिन जरुरी छैन। प्रतिलिपि ऐनको कुनै पनि बुँदामा पुराना प्रस्तुतकर्तालाई क्रेडिट दिनुपर्ने भनेर उल्लेख गरिएको छैन। 

कानुनी हिसाबले हेर्ने हो भने, संगीत क्षेत्रमा चलिरहेको विवाद बेकारको हो। यसमा अधिकार धनी विपिन किरणको कुनै गल्ती छैन। उनले आफ्नो बौद्धिक सम्पत्ति पहिले प्रस्तुतकर्ता गायिका अन्जु पन्तलाई गाउन दिएका थिए, अहिले अर्को प्रस्तुतकर्ता गायिका रचना रिमाललाई गाउन लगाए।

के अन्जुलाई अन्याय भएकै हो त?

उही एरेन्जमेन्टमा, नयाँ भर्सजमा ओरिजिनल गायक-गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु दुखद र अन्यायपूर्ण हो। गायिका अन्जु पन्तले सामाजिक सञ्जालमा लेखेकी छन्, 'नयाँ पुस्ताले सम्मान र आदरको संस्कार नै भुल्ने हो कि।' उनले कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन नआओस् भन्ने कामना पनि गरेकी छन्।

स्ट्याटस पढ्दा अन्जुको चित्त दुखेको प्रष्ट बुझ्न सकिन्छ। उनलाई नयाँ पुस्ताकी गायिका रचना रिमालले सम्मान र आदर नगरेको लागेको छ। उनलाई नयाँपुस्ताले अन्याय गरेको अनुभूति भएको छ।

'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' गीत २०६४ सालमा गायिका अन्जु पन्तको स्वरमा सार्वजनिक भयो। गीत सार्वजनिक हुने बित्तिकै यसको चर्चा चरम चुलीमा पुग्यो। युवा पुस्ताले उनको गीतलाई निकै मन पराए।

गायिका अन्जु पन्तलाई चिनाउने गीत नै यही बन्न पुग्यो। त्यो भन्दा अघिसम्म उनका गीत खासै हिट थिएनन्। यसैका कारण उनले विश्वका हरेक कुनामा पुगेर गीत गाउने मौका पाइन्। उनका लागि यो गीत गायनमा टर्निङ प्वाइन्ट बन्न पुग्यो। 

विभिन्न कार्यक्रममा पुगेर न बिर्सें तिमीलाई न पाएँ तिमीलाई गाएर नै अन्जुले लाखौं सम्पत्ति कमाइन्। त्यसको रोयल्टी न उनले यसका संगीतकारलाई दिइन्, न गीतकारलाई नै। उल्टै गीतकार विपिन किरणसँग मनमुटाव भएपछि लामो समयसम्म स्टेजमा प्रस्तुति दिँदा गीतकारको नाम समेत लिइनन्। पछिल्लो समय भने यी दुईको सम्बन्धमा सुधार आएको थियो।

यहाँ रचनाको हातमा केही छैन भन्ने कुरा अन्जुले बुझ्नुपर्ने संगीत उत्पादक सुवास रेग्मी बताउँछन्। उनका अनुसार जग्गा धनीले पैसा तिरेर जसलाई खेत जोत्न दिन पनि सक्छ। खेत जोत्नेले पहिले मेरो सट्टा फलानोले खेत जोत्थ्यो भनेर सम्झिरहनु पर्दैन। 

भर्सनले निम्त्याएको लफडा

कुनै सिर्जना हिट हुनेबित्तिकै त्यसको भर्सन निकाल्ने होडबाजीले समस्या निम्तिएको बताउँछन्, संगीतकार महेश खड्का। न बिर्सें तिमीलाई न पाएँ तिमीलाई हिट भएपछि मेल भर्जनमा आयो।

त्यो समयमा जगदीश समालले मेल भर्सन गाउँदा विवाद भएन। त्यहाँ पनि पहिले गाउने अन्जु पन्तको नाम थिएन। अहिले रचना रिमाल भर्जन भनेर निकालिएको छ। पहिलो गायक-गायिकालाई अन्याय भएको महसुस गराउने तरिकाले भर्सन निकाल्नु नै समस्या हो।

रोयल्टी समाजका पूर्वअध्यक्ष समेत रहेका खड्काले भने, 'सिर्जना सकिएको जसरी पुरानै गीतलाई रिमेक गर्दा समस्या उत्पन्न भएको हो। यसरी रि-क्रियसनमा खर्च गर्ने बजेटलाई नयाँ सिर्जनामा खर्च गर्न सके मात्रै त्यो उपलब्धिमुलक हुने थियो।'

उनले अन्जु पन्तलाई खासै अन्याय नभएको पनि बताए। यदि उहाँलाई नैतिक अन्याय परेको भए उत्पादक र गीतकारसँग सल्लाह गर्न उनले सुझाए।

गायिकाको नैतिक अधिकारको कुरामा भने गीतकार राजेन्द्र थापा असहमति जनाउँछन्। तीन वर्षसम्म रोयल्टी समाजको शासक भएर बसेको मानिसले दोधारे कुरा गर्न नमिल्ने उनले बताए। गायकको नैतिक अधिकार नहुने, पर्फमेन्स अधिकार मात्रै हुने उनको भनाइ छ।

माघ २७, २०७८ बिहीबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।