'त्रिविका अनुसन्धान केन्द्रहरुको अवस्था खस्कँदो मात्र छैन, कोमामै पुगेझैं देखिन्छ'
तर, पनि नेपालमै अनुसन्धानको सम्भावना देखेर स्वदेश फर्कने अनुसन्धानकर्ताको पनि कमी छैन। त्यस्तै सम्भावना र सपना देख्ने अध्येता हुन् उत्तमबाबु श्रेष्ठ। उनी १५ वर्ष विदेश बसेर दुई वर्षअघि नेपाल फर्किएका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी, अमेरिकाको नर्थस्टर्न विश्वविद्यालयबाट भौगोलिक सूचना प्रविधिमा मास्टर्स र युनिभर्सिटी अफ म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा पिएचडी गरेका श्रेष्ठ नेपाल आउनुअघि अष्ट्रेलियाको एक विश्वविद्यालयमा सिनियर रिसर्च फेलोको रुपमा काम गर्दै थिए।
१५ वर्ष विदेश बसेर नेपाल फर्केपछि उनी लगायतले स्थापना गरेको अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्टडिज हाँकिरहेका छन्। नेपालको अनुसन्धानको अवस्था, नेपालमा दुई वर्ष काम गरेको अनुभव र विदेशमा अनुसन्धान गर्दाको अनुभवमा आधारित श्रेष्ठसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीः
नेपालमा अनुसन्धानको समग्र अवस्था कस्तो देख्नुहुन्छ?
नेपालको अनुसन्धानको अवस्थालाई देखाउने ३/४ वटा पक्ष छन्। पहिलो, अनुसन्धानको लागि बजेटको अवस्था। एक त हामीकहाँ अनुसन्धान बजेट नै कम छ। त्यसमाथि भएको बजेट पनि खर्च नभइरहेको अवस्था रहेछ। महालेखापरीक्षकको प्रतिवेदन अनुसार, नास्टले विगत तीन वर्षमा आफूलाई छुट्याएको कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च गरेको रहेछ र खर्च गरिएको पनि ७० प्रतिशत त प्रशासनिक खर्च।
दोस्रो, यहाँ बन, वातावरण क्षेत्र (जसका बारेमा म जानकार छु) सँग सम्बन्धित सरकारी अनुसन्धान संस्थाहरुले वर्षेनी परामर्शको नाउँमा करोडौं खर्च गर्ने रहेछन्। त्यस्तो परामर्श खर्च भनेको ‘अध्ययन अनुसन्धान’ गराउनकै लागि भनेर दिने पैसा हो। तर त्यस्ता परामर्शदाताले गरेका प्राय: अनुसन्धानहरु सार्वजनिक नै नभई दराजमा थन्किएका छन्। कति त सार्वजनिक गर्न लायक पनि छैनन्। त्यसैले हामीकहाँ दराजमा थन्किने अनुसन्धान गर्न, अनुत्पादक कर्मचारी पाल्न पैसा छ, तर समाज उपयोगी र नीति उपयोगी अनुसन्धान गर्न छैन।
अनुसन्धानको लागि चाहिने पूर्वाधारको अवस्था जस्तै: ल्याब, पुस्तकालय, सन्दर्भ ग्रन्थको पहुँच, दक्ष जनशक्तिको अवस्था कमजोर छ। आधारभूत विज्ञानको अनुसन्धान गर्न, जस्तै: भौतिक विज्ञानदेखि मोलिक्युलर बायोलोजी, अन्तरिक्ष विज्ञान, न्यानोटेक्नोलोजी जस्ता विषयहरुमा अध्ययन गर्न भौतिक पूर्वाधार, स्रोत र साधनको निकै कमी छ। तर प्राकृतिक विज्ञानका विधाहरुमा, समाज विज्ञानका विषयहरुमा हामीले अनुसन्धान गर्नसक्ने धेरै कुराहरु छन्।
हामीसँग भौगोलिक, जैविक, जातीय, भाषिक, सांस्कृतिक विविधता छ। विविधताभित्र प्रश्नहरु लुकेका हुन्छन्। जहाँ प्रश्नहरु हुन्छन् त्यो ठाउँ अनुसन्धानको लागि उर्वर हुन्छ। तर जमिन उर्वर भए तापनि त्यसमा खेतीपाती गर्न हामी चुकेका छौं।
तेस्रो, वैज्ञानिक प्रकाशनको अवस्था जसमा हामी साउथ एसियामा भुटान, माल्दिभ्स र अफगानिस्तानभन्दा मात्रै माथि छौं। भारतसँग त तुलना नै भएन। श्रीलका र पाकिस्तानको अवस्था पनि हामीभन्दा धेरै राम्रो छ। हाल बंगलादेशले पनि आफ्नो अनुसन्धान प्रकाशनमा राम्रो प्रगति गरेको छ।
चौथो, हाम्रोमा अनुसन्धानको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति कम छन्। भएका पनि विदेशिएका छन्। यद्यपि, नेपालमा पिएचडीको संख्या हेर्ने हो भने अहिले निकै बढेको छ। विदेशमा पिएचडी गरेर फर्कने पनि बढेका छन्। नेपालमा आजभन्दा १० वर्ष पहिले त्रिविका सीमित विभागहरुमा मात्रै पिएचडी गराइन्थ्यो। अहिले धेरै विश्वविद्यालयमा गराइन्छ।
तर, मेरो विचारमा पिएचडी गर्ने भनेको त जीवनभर अध्ययन-अनुसन्धान जस्ता प्राज्ञिक कर्ममा लाग्छु भन्ने कमिटमेन्ट हो। नेपालमा नामको अगाडि डाक्टर लेख्नकै लागि पिएडी गर्नेहरु बढेका छन्। त्यसैले जनशक्ति बढे अनुरुप अनुसन्धानको गुणस्तर भने बढ्न सकेको छैन। त्यसो हुनमा त फेरि अनुसन्धानको लागि उत्प्रेरणाको वातावरण नभएकोले पनि हो।
समग्रमा आर्थिक रुपमा विश्वमा हामी जुन अवस्थामा छौं, अनुसन्धानका सूचकांकको हिसाबले पनि हामी त्यहीँ छौं।
त्रिविको अनुसन्धानको अवस्थालाई कसरी हेर्नुहुन्छ?
त्रिवि भीमकाय संरचना भएको विश्वविद्यालय हो। त्यहाँ अन्य कुरामा जस्तै अनुसन्धानको अवस्थामा विविधता छ। सामान्यतया त्यहाँ अनुसन्धान हुने भनेको पिएचडी र स्नातकोत्तर पढाइ हुने विभागहरुमा र तपाईंले लेख्नु भएका अनुसन्धान केन्द्रहरुमा हो जसको चर्चा तपाईंले गरिसक्नुभयो। जहाँसम्म विभागको कुरा छ, कतिपयले सीमित स्रोत साधनका बाबजुद राम्रै अनुसन्धान आउटपुट निकालिरहनुभएको छ। तर कतिपयको अवस्था नाजुक छ। समग्रमा विश्वविद्यालयले लिनुपर्ने अनुसन्धानको रणनीति, बाटो र प्राथमिकता चयन गर्नमा त्रिवि चुकेको छ।
विगत १० वा २० वर्षमा त्यहाँको अनुसन्धान आउटपुट के हो? त्यहाँका अध्येताहरुले कति वैज्ञानिक जर्नल प्रकाशित गरे? कुन-कुन विषयमा अनुसन्धान गरिरहेका छन्? कुन विषयमा त्रिवि अब्बल छ? कुनमा कमजोर, कसैले भन्न सक्दैन। त्यो रेकर्ड त्रिवि आफूले पनि राखेको छ जस्तो मलाई लाग्दैन। आफ्नो इतिहास र वर्तमान अवस्था थाहा नभएपछि भविष्यको गन्तव्य र बाटो पहिल्याउन अप्ठेरो हुन्छ।
आफ्नो मूल्यांकन गर्न नसकेको हुनाले त्रिविका नेतृत्वहरुले आफूलाई चाहिने अनुसन्धान बजेटबारे राजनीतिक नेतृत्व वा कर्मचारीतन्त्रलाई खुलेर कुरा राख्न सक्दैनन्। अनुसन्धानको हकमा त्रिवि त्यही अप्ठेरोमा छ। त्यसैले जल्दाबल्दा मुद्दाहरुमा त्यहाँका अध्येताहरुको अनुसन्धान गर्ने तत्परता देखिँदैन। थप त्यहाँका नेतृत्वहरुले अनुसन्धान गर्नेलाई उत्प्रेरणा दिने वातावरण बनाउनेमा पनि कहिल्यै चासो दिएको देखिँदैन।
प्राध्यापक पिताम्बर शर्मा सरले भनेको सम्झन्छु, त्रिविमा दशकौं पढाउँदा पनि उहाँलाई कसैले पनि एक पटक तिमीले राम्रो पढाएछौ भनेर धाप मारेन रे। राम्रो पढाएनछौ भनेर गुनासो पनि गरेन रे। अहिले पनि त्रिविमा राम्रो अनुसन्धान गर्नेलाई धाप मार्ने, अनुसन्धानमा पछि परेकालाई सहयोग गर्ने वा कामचोरलाई सजाय दिने परिपाटी छैन।
हामीले त्यहाँका अनुसन्धान केन्द्रहरुको रिपोर्टिङ गर्दा सबै निर्देशकले तलब र भवन मात्रै सरकारले दिएको, अनुसन्धानको लागि बजेट नदिएको बताउनुभयो। अनुसन्धान बजेट नभएपछि कसरी अनुसन्धान हुन्छ त?
म तपाईंलाई प्यारिस स्कुल अफ इकोनोमिक्सका प्राध्यापक तथा चर्चित पुस्तक ‘क्यापिटफ इन द ट्वाइन्टी फस्ट सेन्चुरी’का लेखक अर्थशास्त्री थोमस पिकेटीको उदाहरण दिन्छु। उनलाई पत्रकारले तपाईं किन अनुसन्धान गर्नुहुन्छ, पुस्तक किन लेख्नुहुन्छ भनेर सोधेका थिए। उनले दिएको जवाफ मलाई खुबै घत लाग्यो। उनले भनेका थिए- अनुसन्धान गर्नका लागि म जनताबाट उठाएको करले तलब खान्छु। तलब खाएर गर्नुपर्ने जे हो त्यही गरिरहेको छु।
तलब दिनु, बस्नको लागि भवन, अफिस, सर-सुविधा, पहिचानको पद दिनुभन्दा थप त संस्थाले के नै दिन्छ र? थप, सबै अनुसन्धानको लागि पैसा खर्च हुने प्रयोगशाला वा फिल्डमै गएर तथ्यांक संकलन गर्ने, अनुसन्धान गर्ने गर्नु पर्दैन। तपाईंले नाम लिनु भएका संस्थाहरुको हकमा त झनै पर्दैन। उहाँहरुले विद्यार्थी सेकेन्डरी डेटामा आधारित भएर, भएका अनुसन्धानको रिभ्यु वा संश्लेषण गरेर वा विद्यार्थीलाई सुपरभाइज गरी उनीहरुसँग मिलेर वा पुस्तक निकालेर पनि योगदान गर्न सक्नुहुन्थ्यो। वा, प्रपोजल लेखेर पैसा ल्याएर पनि गर्न सक्नुहुन्थ्यो। अन्यत्र त्यही हुने हो।
मेरै कुरा गर्दा, अष्ट्रेलियामा ६ वर्ष काम गर्दा विश्वविद्यालयले मलाई तलब मात्रै दिन्थ्यो। मेरो काम वैज्ञानिक अनुसन्धानका पेपर निकाल्ने हुन्थ्यो। ६ वर्षमा मैले ४५ भन्दा बढी वैज्ञानिक जर्नल पेपर निकालें। कतिपय त विश्वकै उत्कृष्ट जर्नलहरुमा छापिए। कतिपय अनुसन्धान नेपालका नीतिगत डकुमेन्टहरुमा साइटेट छन्। मुख्य कुरा इच्छाशक्ति र उत्प्रेरणा दिने वातावरण र आफ्नो कामप्रतिको इमान्दारिता नै हो। त्यसैले उहाँहरुले गरेका दावीमा खासै दम छैन।
चार अनुसन्धान केन्द्रले जर्नल पनि निकाल्छन्। गुणस्तरको हिसाबले ती कस्ता छन्?
मैले ती जर्नल हेर्न पाएको छैन। तर नेपालका जर्नलहरुको गुणस्तरको कुरा गर्दा एकाध बाहेक धेरैको कमजोर छ। जर्नलको उत्कृष्टता पियर रिभ्यु (समकक्षी समीक्षा) को कठोर प्रणाली र पाठकको विश्वासले निर्धारण गर्छ। नेपाली जर्नलहरुमा दुवै तत्वको कमी छ। राम्रा अनुसन्धानकर्ताले यहाँ निकाल्ने जर्नलमा लेख छाप्नभन्दा अन्यत्र नै प्रयास गर्छ। त्यो विश्वास नभएकोले हो।
पियर रिभ्युको अवस्था त नाम मात्रैको छ। यहाँ जर्नलमा समाविष्ट गरिएका सबै छापिन्छन् जस्तो लाग्छ। कुनै जर्नलले पनि हाम्रो एसेप्टेन्स रेट (स्वीकार्यता दर) यति छ भनेर लेखेको सुनेको छैन। जर्नल प्रकाशन वैज्ञानिक योगदानको लागि भन्दा पनि प्रमोसन हुनको लागि वा अन्य त्यस्तै गुप्त स्वार्थ पूरा गर्नका लागि गरिने खेतीपातीमा फेरिएको देख्छु।
यतिखेर त्रिविका विभागैपिच्छे जर्नल निस्कन्छन्। अन्यत्र त्यस्तो हुँदैन। त्रिविविमा जति धेरै जर्नल त हार्बड, अक्स्फोर्ड, टोकियो विश्वविद्यालयले पनि निकाल्दैन होला।
त्रिविका अनुसन्धान केन्द्रमा तलब छ, भौतिक पूर्वाधार छ, अनुसन्धानको लागि त्रिविका विद्यार्थी परिचालन पनि गर्न सक्छन्। किन नगरेका होलान् ? के लाग्छ तपाईंलाई?
हो, संसारभर विद्यार्थी भनेको अनुसन्धानको लागि कुद्ने घोडा अर्थात ठूलो स्रोत हुन्। सिक्दै अनुसन्धानमा सहभागी हुने भएकोले अनुसन्धानमा लाग्ने खर्च घटाउन सकिन्छ, विद्यार्थी संलग्न गराउँदा। तर हामीकहाँ विद्यार्थीलाई कसरी अनुसन्धान सिकाउँदै र थोरै तलबमा काम गराउन सकिन्छ भन्ने परिपाटी नै भएन।
विदेशतिरका विश्वविद्यालयमा पिएचडी गरेपछि पोष्टडक गर्नेहरु हुन्छन्। उनीहरु सबैभन्दा उत्पादनशील वैज्ञानिक जनशक्ति हुन्। तर त्रिविका केही विभागमा पोष्टडक राख्ने चलन भर्खरै सुरु भयो। यसमा उच्च नेतृत्वमा भिजन, योजना र अन्यत्रबाट सिक्ने चलन नभएकोले त होला।
सिनासले सीमा इतिहास लगायतको विषयमा अध्ययन गर्नुपर्ने हो। तर उसैलाई हाम्रो भूभाग कति छ भन्ने थाहा छैन। सेडाले आर्थिक नीति निर्माणमा महत्पूर्ण भूमिका खेल्न सक्नुपर्ने हो। तर उसको आफ्नै अस्तित्व धान्न मुस्किल देखिएको छ। सेरिडले कोभिड हुँदा वैकल्पिक शिक्षामा के गर्न सकिन्छ अध्ययन-अनुसन्धान गर्नुपर्ने हो, त्यो गरेन। रिकास्टले यत्रो भाइरस फैलिँदा भाइरस के हो, ब्याक्टेरिया के हो यसबारे जानकारी दिनुपर्ने हो। तर कुनैले पनि काम गर्न सकेनन्।
हाम्रा प्राध्यापकले अनुसन्धान केन्द्रको औचित्य सावित गर्न नसकेका हुन्?
तपाईंले भन्नुभएको कुरा सही हो। अनुसन्धान संस्था भनेर बोर्ड झुण्याइसकेपछि आउटपुट त निकाल्नुपर्थ्यो नि। तपाईंले नाम लिनुभएका अनुसन्धान केन्द्रहरुलाई जुन विषयमा काम गर्ने भनेर स्थापना गरिएको थियो र सुरुका समयमा जुन राम्रा काम भएका थिए, अहिले ती संस्थाहरुको अवस्था खस्कँदो मात्रै होइन, कोमामा पुगेको जस्तो देखिन्छ।
उदाहरणको लागि, देशमा यत्रो एमसिसीको बहस चलेको छ। त्रिविका प्राध्यापकहरु त्यो बहसमा कतै देखिनुहुन्न। चुनाव महँगो हुँदै गएको कुरा छ, त्यसलाई कसरी कम खर्चिलो बनाउन सकिन्छ भन्ने विमर्शमा उहाँहरु देखिनुहुन्न।
अमेरिका-इराक युद्धमा जाँदा सञ्चार माध्यममा लेख लेख्ने, सार्वजनिक विचार दिने को हुन्थे भन्नूस् त? अमेरिकी विश्वविद्यालयका प्राध्यापकहरु। तर हाम्रोमा सहरीकरणदेखि जलवायु परिवर्तनसम्म, कोभिडदेखि बाढी-पहिरोसम्म, बजेट घाटादेखि कृत्रिम बौद्धिकसम्मका जल्दाबल्दा विषयका बहस छलफलमा विश्वविद्यालय पूरै सुतेर बसेको प्रतित हुन्छ।
यस्तो हुनुमा प्राध्यापकहरुको नालयकीपन हो?
नालयकीपन त नभनौँ, तर दुई वटा कुरा भने भन्छु। कामै नगरी तलब आउँछ भने किन काम गर्ने? काम गर्दा स्याबासी पनि नपाइने र नगर्दा दण्डित पनि नभइने चलन भएपछि मानिसको प्राथमिकतामा काम पर्दैन। मैले माथि नै भनें, लायक वा नालायक बनाउने भनेको त उत्प्रेरणा दिने वातावरणले हो।
यहाँका प्राध्यापकहरुलाई एक वर्ष विदेशका कुनै विश्वविद्यालयमा पठाइदिने हो भने उसले ३/४ वटा पेपर निकाल्छ। विदेशमा पिएचडी गर्दा उत्कृष्ट जर्नलहरुमा पेपर निकालेको अनुसन्धानकर्ताको त्रिवि छिरेपछि पेपर निकाल्ने काम नै बन्द भएको देखेको छु। हुन त मेरै यस्तै हालत हुन लागिसक्यो। हाहाहा! त्यसकारण यो प्राध्यापकको भन्दा पनि प्रणालीको दोष हो।
सरकारको ध्यान विश्वविद्यालयका अनुसन्धान केन्द्रतिर किन नगएको होला?
सरकारमा जाने मान्छेहरुलाई विश्वविद्यालयको महत्व थाहा हुनुपर्यो नि। विकसित देशमा सरकार चलाउन जाने नेताहरुको राजनीतिपछिको बिताउने थलो भनेको विश्वविद्यालय र लेखन-पठन, अध्ययन-अनुसन्धान हुन्छ। यहाँका अहिलेका ५० जना शीर्ष नेतालाई राजनीतिबाट अवकाश दिने हो भने उनीहरुले गर्नसक्ने कुरा के होलान्? भनेर म गम्छु कहिलेकाहीँ। उनीहरुमध्ये विश्वविद्यालयमा पढाउने क्षमतावान कति छन्? उनीहरुको प्राज्ञिक क्षमता कमजोर भएकोले गर्दा विश्वविद्यालयको महत्व पनि बुझेका छैनन्। यहाँका विश्वविद्यालयहरुमा भएका राजनीतिक नियुक्ति, हस्तक्षेप देख्दा उनीहरुले विश्वविद्यालयलाई नयाँ सरकारी निकायभन्दा फरक ठानेको देखिँदैन।
विश्वविद्यालय हुनुको पहिलो सर्त स्वयत्तता हुनु हो। जुनै कुराको पनि स्वतन्त्र रुपमा खोजी र अध्ययन गर्नसक्ने थलो हो विश्वविद्यालय। त्यहाँ त सरकार नै नहुँदाको, राज्य नै नहुँदाको वा मानवजातिको अस्तित्व नै नहुँदाको अवस्थाको परिकल्पना पनि हुने र त्यस्तो अवस्थाको पनि विर्मश हुने ठाउँ हो। समयभन्दा धेरै अघिको वा पछिको कुराहरुको बारेमा छलफल अनुसन्धान, पढाइ, सिकाइ र परिकल्पना हुने ठाउँ हो विश्वविद्यालय। समाजमा सरकारमा एउटा कुरा चलिरहेको हुन्छ तर विश्वविद्यालयमा समाजले सरकारले कल्पनै नगरेका, नियममै नभएका कुराहरुमा पनि अनुसन्धान र अध्ययन गर्नसक्छ र समाजलाई डोर्याउन सक्छ। त्यो कुरा सरकारमा हुनेहरुले बुझेनन्।
दोस्रो, विश्वविद्यालयको क्षमतालाई उनीहरुले विश्वास गरेनन्। देशका जल्दाबल्दा कुराहरुको बारेमा बुझ्न परेमा नेताले वा सरकारका निकायले कसलाई खोज्छ यतिखेर? हिजोका दिनमा राजनीतिक नियुक्तिमा जानेहरु प्राय: विश्वविद्यालय भित्रका नै हुन्थे तर आज परिस्थिति फेरिएको छ। विश्वविद्यालयले पनि आफ्नो महत्व सावित गर्न नसकेर पनि त्यस्तो भएको होला।
अमेरिका, अष्ट्रेलियामा बस्नुभयो। त्यहाँको अनुसन्धान गर्ने तरिका र यहाँको फरक बताइदिनूस् न!
अमेरिकामा मैले पढें र अनुसन्धानको काम पनि गरें। त्यहाँ खान-बस्नको लागि छात्रवृत्ति हुन्थ्यो। पढ्ने-पढाउने काम थियो।
अष्ट्रेलियामा पनि त्यस्तै अनुसन्धान गर्ने, पढ्ने आफूले गरेको, सिकेका कुरा सिकाउने। यहाँ पनि म त्यही गरिरहेको छु। आधारभूत भिन्नता छैन। त्यहाँ हुँदा एउटै बाटो जस्तो हुन्थ्यो। यहाँ दसतिर बोलाउँछन्, नजानेको विषयमा पनि बोल्दिनूस् भन्छन्, सिकाइ माग्छन्। त्यहाँ ठूला-ठूला वैज्ञानिकका व्याख्यान सुन्न पाइन्थ्यो, यहाँ पाइएको छैन। त्यहाँ मैले काम गर्ने संस्थाहरुमा सिनियर प्राध्यापकहरु थिए, छलफल गर्न पाइन्थ्यो, सिक्न पाइथ्यो। यहाँ आफूले जाने नजाने पनि सिकाउनुपर्ने अवस्था छ। अर्को फरक, त्यहाँ अनुसन्धान गर्नको लागि प्रपोजल लेखेर पैसा ल्यायो भने तारिफ गर्थे, बधाई दिन्थे। यहाँ डलरे भन्छन्, गाली गर्छन्। अनुसन्धानको नियामक प्रक्रियाहरु झन्झटिला पनि छन्। कहिलेकाहीँ त यहाँको वातावरण ‘टक्सिक’ लाग्छ।
त्यहाँ अनुसन्धानको मूल्यांकन कसरी हुन्थ्यो?
अनुसन्धान गर्न स्रोत चाहिन्छ अर्थात् पैसा कति ल्यायो भन्नेले मूल्यांकन हुने भयो। अनुसन्धान गरेपछि कृति प्रकाशित हुन्छ। त्यसैले त्यसको संख्या, गुणस्तर र प्रभावको आधारमा मूल्यांकन हुन्छ। प्रभावको मापन नीति निर्माणमा गरेको सहयोग, समाजलाई दिएको योगदान, साइटेसन संख्या आदिले गर्ने चलन छ। त्यो बाहेक पेटेन्टको संख्या, पुरस्कार इत्यादि पनि मूल्यांकनका आधार हुन्।
हाम्रोमा नीति निर्माणको अध्ययन-अनुसन्धानले कत्तिको प्रभाव पारको देख्नुहुन्छ?
अक्सर केही क्षेत्रलाई छाड्ने हो भने नगन्य नै मान्नुपर्छ। हाम्रा नीतिहरु कार्यान्वयन नहुनको एउटा कारण अनुसन्धानमा आधारित नहुनाले पनि हो। नीति निर्माण गर्दा प्रमाणमा आधारित भएर बनाउनुपर्छ भन्ने कुरा बल्ल रियलाइज हुँदैछ।
हाम्रा अनुसन्धान केन्द्रलाई कसरी सुधार गर्न सकिएला?
वैज्ञानिक अनुसन्धानलाई उत्प्रेरणा दिने, महत्व आत्मसात गरिदिने वातावरण बनाउनुपर्यो। अनुत्पादक अनुसन्धानको नाममा भएका खर्च रोकेर समाज उपयोगी, नीति सहयोगी अनुसन्धानमा खर्च गरिनुपर्यो। अनुसन्धान संस्थाहरुलाई बजेट दिँदा र अनुसन्धानकर्तालाई बजेट दिँदा पर्फमेन्सको आधारमा दिने परिपाटी हुनपर्यो। चाहे त्यो सरकारी वा नीजि। वैज्ञानिक अनुसन्धानमा प्रति रुपैयाँ खर्च गर्दा कति आउटपुट आयो भन्ने मापन प्रणालीको विकास हुनपर्यो। साथै देशको अनुसन्धानका प्राथमिकता निर्धारण हुन जरुरी छ। त्यसो भएमा हाम्रो सीमित स्रोतलाई किफायती ढंगले प्रयोग गर्न सकिन्छ र देश र समाजको आवश्यकता अनुरुपका नयाँ पुस्ताका वैज्ञानिक निर्माण गर्न सकिन्छ।
एक पल्ट नेपालमा यस क्षेत्रमा लागेका मान्छे र नीति निर्माताको बीचमा गोलमेच सम्मेलन गरेर आगामी पाँच वर्षको लागि गरिने अनुसन्धानको प्रश्न र प्राथमिकता निर्धारण गरौं भन्छु म त।
तपाईं नेपाल आउनुभएको डेढ महिनापछि मैले अन्तर्वार्ता लिएको थिएँ। त्यतिबेला अनुसन्धान केन्द्र खोल्ने बताउनुभएको थियो। नेपाल फर्केर अनुसन्धानमै लाग्छु भन्नुको मोटिभेसन के हो?
यहीँ आएर अनुसन्धानमै लाग्छु भन्ने उत्पेरणा दिने मेरा पिएचडीका सुपरभाइजर प्राध्यापक कमलजीत बाबा र मलाई यहीँ आउनुपर्छ भन्ने मेरा स्वर्गीय बुबा हो। कमलजीत संरक्षण विज्ञानको सम्मानित व्यक्तित्व हुनुहुन्छ। भारतीय मुलका उहाँले भारतमा असोका ट्रस्ट फर रिसर्च एन एकोलोजी एन्ड इन्भाइरोमेन्ट भन्ने उत्कृष्ट अनुसन्धान केन्द्र स्थापना गर्नुभएको छ। २५ वर्षअघि १० हजार डलरबाट सुरु गरेको उक्त संस्थामा अहिले ५०औं पिएचडी काम गर्छन्। त्यसले पिएचडीको कोर्ष पनि सञ्चालन गर्छ।
१०/१२ वर्ष उहाँसग काम गर्दा म उहाँले स्थापना गरेको संस्थाप्रतिको सकारात्मक इर्श्याले मलाई नेपालमा पनि यस्तो किसिमको ज्ञानमुलक अनुसन्धान संस्था खोल्नुपर्छ भन्ने लागेको थियो। उहाँले त्यही अनुसार मलाई ग्रुम पनि गर्नुभयो। उहाँहरुको उत्प्रेरणा, परिवार र साथीभाइको सहयोग, तपाईंहरु जस्ताको सद्भाव नै त होला मेरो मोटिभेसन।
प्राय: विदेश पढेर नेपाल फर्केकाहरु एक/दुई वर्षमा नै फेरि विदेश फर्केको देखिएको छ। तपाईंले भन्नुभएको जस्तो टक्सिक वातावरणले तपाईं पनि फेरि फर्कने त सोचमा त हुनुहुन्न?
फर्कने सोच छैन। मान्छे स्वभावैले सहजता र सुविधा खोज्छ। यहाँ आफ्नै हिसाबको सहजता पनि छ र असहज परिस्थिति पनि। नेपाल स्वर्गै हो भनेर, यो देश बनाउँछु भनेर वा ठूलो भाग पड्काउँछु भनेर म यहाँ आएको होइन। लेख्ने, पढ्ने, अनुसन्धान गर्ने जीवनको बाटो रोजेपछि अनुसन्धान गर्ने नै हो भने मेरो विषयमा यहाँ अनुसन्धानका विषयहरु प्रशस्त छन् भन्ने लागेर र त्यो अवसर देखेर फर्केको हुँ। अहिले दुई वर्षको अवधिमा मैले भोगेको, पाएको अनुभवले झनै उत्साहित छु। यहाँ हुने व्यावहारिक कठिनाइको बारेमा त मानसिक रुपमा तयारै थिएँ। जीवनमा ठूलो आशा र महत्वकांक्षा नभएपछि दु:खी भइँदैन। आफ्नो सीमितता बुझेपछि असन्तुष्ट हुनु पनि पर्दैन।
अहिले तपाईंको संस्था जिआइआइएसले के गरिरहेको छ? दुई वर्षमा के-के गर्नुभयो?
जलवायु परिर्वतन, पब्लिक हेल्थ, प्रकोप व्यवस्थापन, वातावरण र जैविक विविधता, उदीयमान प्रविधि र दिगोपन सम्बन्धी विज्ञान जस्ता क्षेत्रमा हामीले अनुसन्धान गरिरहेका छौं। भर्खरै हाम्रो संस्थाले दुई वर्षको कामको समीक्षा निकालेको छ। हाम्रो संस्था स्थापना गरेको दुई वर्षमै प्रतिष्ठित जर्नल नेचरले वर्षेनी निकाल्ने नेचर इन्डेक्सको सूचीमा नेपालको टप ६ अनुसन्धान संस्थाको रुपमा पहिलो (सन् २०२०) र दोस्रो वर्ष (सन् २०२१) पर्न सफल भयो। हामीभन्दा अघि यहाँ वर्षौंसम्म अनुसन्धान गरिरहेका त्रिवि, इसिमोड, काठमाडौं विश्वविद्यालय थिए।
यसबीचमा हामीले ५० वटा अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलमा छापेका रहेछौं। साना-ठूला गरी ७ वटा अनुसन्धान परियोजना गर्र्यौं। केही अहिले पनि गर्दैछौं। २३ वटा संस्थासँग सहकार्य गर्यौं। कोभिडको बेला २५ भन्दा बढी वेविनार गर्यौं।
म लगायत र हाम्रा साथीहरुले ५ राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कार पायौं। शून्यबाट सुरु भएको संस्थाले विस्तारै सस्थागत रुप लिँदैछ।
अनुसन्धानको लागि आर्थिक सहायता कसरी जुटिरहेको छ?
अहिलेसम्म सबै अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गरेर नै ल्याएको हो। एक्लै वा विभिन्न संस्थाहरुसँग सहकार्य गरेर। भर्खरै यहीँकै विश्वविद्यालय अनुदान आयोगको पनि अनुसन्धान सहायता पायौं। यहाँ पनि एक्स्प्लोर गर्ने काम भइरहेको छ।
अनुसन्धानसँगै पत्रिकामा नियमित स्तम्भ पनि लेखिरहनुभएको छ। यता पनि धेरै काम भइरहेको छ। कसरी भ्याउनुहुन्छ?
खासै कुनै रहस्य छैन। गर्न सकेका कुराहरु गर्ने हो। साथी सर्कल कम छन्। परिवार सानो छ। कुनै विन्दुमा पुगेर अब सकिन्न जस्तो लागेको बेला छोडिन्छ।
माघ २७, २०७८ बिहीबार ०७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।