गण्डकी नवलपुरको हुप्सेकोट गाउँपालिकाकाको वडा टुक्राउँदै प्रदेश सरकार
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ र ४ नम्बर वडा टुक्राउन नेपाल सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको बताए।
उनले भने,‘गाउँपालिकाले यसअघि नै वडा टुक्राउन प्रदेश सरकारलाई सिफारिस गरेको थियो। प्रदेश सरकारले यसबिच अध्ययन, अनुगमन सहित स्थानीयको गुनासोलाई मध्यनजर गरेर वडा टुक्र्याउन सिफारिस गरेको छ। हुप्सेकोट गाउँपालिकामा ६ वटा वडा छन्। प्रदेश सरकारले २ र ४ वडा टुक्राएर ७ र ८ नम्बर वडा बनाउन सिफारिस गरेको छ।’
यस अघि गाउँपालिकाले ०७७ माघ १९ गते गण्डकी प्रदेश सरकारलाई भौगोलिक, जनसङ्ख्या र राजस्वको आधारमा २ र ४ नम्बर वडालाई टुक्राएर ७ र ८ बनाउन सिफारिस गरेको थियो।
साबिक हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समिति मिलाएर हुप्सेकोट गाउँपालिका बनेको हो। साबिक देउराली गाविसकै कार्यालयमा गाउँपालिका कार्यालय रहेको छ।
त्यसै गरी प्रदेशको मन्त्री परिषद्को बैठकले कोभिड–१९ का कारण व्यवसाय धरापमा परेका व्यवसायीलाई प्रदेश सरकारबाट उपलब्ध गराउने व्यवसायी जीवन रक्षा कोषको कार्यविधिलाई संशोधन गर्ने निर्णय गरेर सहज बनाउन लागिएको मन्त्री खड्काले बताए ।
मन्त्री खड्काले प्रदेशमा रगत तथा रगतजन्य सेवा कार्यविधि २०७८ मन्त्रीपरिषद्बाट पास भएकाले फागुन १ गतेदेखि प्रदेशमा निःशुल्क रगत उपलब्ध गराइने बताए। नागरिकले दाताबाट निःशुल्क दान गरेको रगतमा एचआइभी, हेपाटाइटिस बी लगायतका परीक्षणमा लाग्ने शुल्क बापत एक पोकाको ७ सयदेखि १ हजार रुपैयाँसम्म तिर्दै आएका थिए। प्रदेशमा स्थायी रूपमा बसोबास नगर्ने नागरिकलाई भने निःशुल्क रगत उपलब्ध नहुने खड्काको भनाइ छ।
मन्त्रीपरिषद्को बैठकले गण्डकी प्रदेशसभाको चौथो वार्षिक समारोह मनाउन मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको उनले बताए।
माघ २६, २०७८ बुधबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।