गीत विवादमा बोलिन् गायिका पन्त : ओर्जिनल गायक/गायिकालाई क्रेडिट नदिनु दुखद
पन्तले गाएको लोकप्रिय गजल हालै रचना रिमालको स्वरमा सार्वजनिक भएको छ। सो गीतमा पहिलो पटक गाउने गायिका पन्तलाई क्रेडिट नदिएकाले विवाद भइरहेको छ।
पन्तले यसबारे इन्स्टाग्राममा आफ्नो धारणा राख्दै किड्स भर्सन निकाल्नेबारे छलफल भएको तर उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु दुखद र अन्यायपूर्ण कुरा भएको बताएकी छिन्।
उनको प्रतिक्रिया
यो गजल सर्जक विपिन किरणको शब्द, सङ्गीतकार महेश खड्काको सङ्गीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ।
नेपाली साङ्गीतिक इतिहासमा अति नै लोकप्रिय जन-जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदीश समालले पनि गाउनुभयो।
आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन।
केही समय अघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समय अनुकूल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ।
यसैक्रममा उहाँले कभरको रूपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरूलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुसीसाथ हुन्छ भनेकी थिएँ।
अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ
उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो।
के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन। म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा सङ्गीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ। आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ।
भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्। मेरा लाखौँ सहकर्मी, श्रोता दर्शकहरूबाट पाएको माया र सम्मानप्रति सदैव आभार व्यक्त गर्दछु।
माघ २६, २०७८ बुधबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।