एमसिसी बहस : हलो अड्काउने, गोरु पड्काउने
मनयुद्धको अन्तिम निचोड नेपालको राजनीतिक भविष्य कता जाने हो? हामी जस्ता भविष्य खोज्ने युवाहरुको सपना र कल्पनाले कस्तो रुप पाउने हो? त्यसैले युद्ध मनमा मडारिरह्यो।
यही बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी)लाई पठाएको पत्र सहितको तथ्य बाहिर आयो र त्यसमा क्रिया-प्रतिक्रिया आइरहेका छन्।
पत्र सार्वजनिक भएसँगै तीनतिर फर्किएका प्रमख दलहरु एउटै कोठामा घोत्लिन बाध्य भए। प्रचण्डले वक्तव्य नै निकालेर प्रष्टीकरण दिने प्रयास गरे, तथ्यलाई तोडमोड गरियो भनेर। तथ्य र अभिव्यक्तिबीच कति तालमेल छ भन्ने कुरा उहाँ र उहाँको सचिवालयलाई जानकारी होला।
तथ्यलाई तोडमोड गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने समूह नभएको भने होइन। यस्तो काम जति कम्युनिष्ट कलमबाजहरुले गर्न जानेको हुन्छन् त्यति सायद अरुले नै जानेका होलान्। त्यसैले तथ्यको तोडमोड कसबाट भएको हो? एक पटक फेरि बुझ्न ध्यान दिने कि? महाकाली सन्धि वा अरुण तेस्रो जस्ता परियोजना त्यसरी नै विवादमा ल्याइएका उदाहरण छन् नेपालमा।
जनतासँग गरिएको प्रतिवद्धता एउटा र व्यवहार अर्कै हुँदा सम्पन्न हुन नपाएका ती परियोजनाका उदाहरण छन् यहाँ। ‘एमसिसीको तथ्यलाई लिएर संसदमा बहस गराउदा आखिर के नै बिग्रन्छ?’ सामान्य नागरिकको जिज्ञासा छ।
देशको शासन सत्ता सञ्चालन गर्नेहरुले नागरिकलाई केन्द्रमा राखेर गरेका काम असल नियतका छन् भने जनता बहकिनु आवश्यक लाग्दैन। गणतन्त्र प्राप्तिको आन्दोलनमा रहेका नागरिकलाई आज फेरि अरु वादको झोला बोकाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नु राजनीतिक कुशाग्रहीता मात्र नभएर धुर्त्याईं नै हो भन्न सक्नुपर्छ हामीले।
संसदमा बहस गरेर एमसिसी सम्झौताको छिनोफानो हुनुपर्छ। कुहिरोको काग बनाएर देशलाई कतिदिन बन्धक बनाउने? एमालेले पनि संसदमा एमसिसीको विषयमा आफ्नो मत जाहेर गरेर देश र जनतालाई स्पष्ट सन्देश दिन सक्नुपर्छ। राजनीतिक हलो अड्काउने, गोरु पड्काउने कतिञ्जेल गर्ने?
जिम्मेवार राजनीतिक दल भए आज गुमेको सत्ता भोलि प्राप्त हुनसक्छ। एमाले पनि संसदप्रति पूर्वाग्रही बनेर ससंद अवरोध गरिरहनु संसदीय अभ्यास ठहरिदैन। नेपालको राजनीतिमा समस्या कहाँ छ भन्ने कुरा जनताले नबुझेका छन् जस्तो लाग्दैन। तर परनिर्भर मुलुकमा बुझेर जनता पनि निरीह हुनुको विकल्प नहुने रहेछ। अहिले भएको त्यही हो।
हिंसाको राजनीतिले तड्पिएका जनतालाई सबैभन्दा डर हिंसाको छ। स्वतन्त्र अभिमत राख्न सक्ने अवस्था छैन। त्यसैले पहिला चुनाव अनि मात्र एमसिसी बारेको निर्णय सफा नियतबाट आएको मान्न सकिँदैन।
नेपालको अन्तर्राष्ट्रिय छवि सङ्लिएको छैन। यहीबीचमा उत्तर कोरियाले क्षेप्यास्त्र बनाउन गरेका धुर्त्याईं अन्तर्राष्ट्रिय स्तरमा समाचार बनिरहेका बेला नेपालमा त्यही शैलीका समाचारले चर्चा पाउनु भने उदेकलाग्दो कुरा हो।
नेपाल आफैंमा सानो सुन्दर र शीतल लहरा, पहरा, छहराको देश हो। अनावश्यक विवाद र स्वार्थको राजनीतिमा अल्झाएर कतिञ्जेल स्वार्थको रोटी सेक्ने? नेपालको शीतल र सालिन मुहारलाई नबिगारौं।
कुटनीतिज्ञका अनुसार नेपालको विश्वसनीयता गुमिसक्यो। अब यो विश्वसनीयता फर्काउन वर्षौं लाग्न सक्छ। त्यो भनेको हाम्रो पुस्ताले समेत मूल्य चुकाउनुपर्ने हुनसक्छ।
विदेश मामिलाका जानकार दिनेश भट्टराईका शब्दमा अब पनि समयलाई आत्मसात नगर्ने हो भने नेपालको गुम्दो साख फर्काउन वर्षौं लाग्न सक्छ। नेपालको भविष्यलाई हेरेर राजनीति नगर्दा आज यस्तो विषम अवस्था आएको उनको भनाइ छ।
नेपालको भविष्यलाई छिमेकीले समेत नजिकबाट चियाइरहेका छन्। यस्तो अवस्थामा सबै कुरा हामी वा म नै जान्ने छु भन्नु कति उपयुक्त होला? केन्द्रमा मुलुक र जनता राखेर राजनीति गरिएको भए यस्तो अवस्था सायदै आउँथ्यो।
बिपी कोइरालाले सधैं देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुभयो। त्यसैले उहाँ जीवनमा जम्मा १८ महिना मात्र प्रधानमन्त्री मन्त्री बन्नुभयो। उहाँले कहिल्यै सत्ताका लागि नाजायज बार्गेनिङ गर्नुभएन। उहाँका अनुयायी बयोवृद्ध नेता केबी गुरुङका अनुसार उहाँलाई निर्वासनबाट मेलमिलाप नीति लिएर नेपाल फर्किंदा प्रधानमन्त्रीको अफर गरिएको थियो तर मान्नुभएन। बरु स्वदेश आएर जेलको चिसो छिडी व्यतित गर्नुभयो। राजनीतिक मूल्य र मान्यतासँग कहिल्यै नाजायज सम्झौता गर्नुभएन बिपीले। त्यसैले बिपीको पटकपटक स्मरण भइरहन्छ।
यतिबेला देश राजनीतिक संकटमा फसेको अनुभव स्वयं राजनीतिज्ञ एवं कुटनीतिज्ञहरुले गरिरहेका छन्। अहिलेको राजनीतिलाई टिप्पणी गर्दै पूर्वराजदूत एवं मन्त्री समेत रहेका भेषबहादुर थापाले ‘हाम्रो शासकीय संयन्त्रलाई उदांगो पारेको छ’ भनेका छन्।
अब पनि राजनीतिक स्वार्थका लागि संसद्लाई बन्धक नबनाएर देशका यावत समस्यालाई समाधान गर्न दलहरु नचुकून्। व्यक्ति र सत्ता आज छ, भोलि नहुन सक्छ। पद्धति र राष्ट्र अनन्तकालसम्म रहने छन्। उक्त तथ्यलाई नबिर्सिउँ। जीवन मरणशील छ, मर्दा मलामीले केही गुन स्मरण गर्न सकून्। सबै बैगुनलाई स्मरण गरिए त्यो जीवन अमर रहँदैन।
यतिबेला नेपाली नेताले ध्यान दिनुपर्ने बेला आएको छ। एमसिसीलाई संसदबाट टुंगो लगाऔं। समयमै समस्यालाई टुंगो लगाइएन भने त्यसले क्रोनिक (रोग) को रुप लिन सक्छ। जुन कहिल्यै निको नहुन सक्छ। त्यसैले निको नहुने रोगलाई बोकेर राजनीति गरिरहने वा समयमै निको गराएर देशको मुहारमा चमक ल्याउने त्यो जिम्म देशका प्रमुख जिम्मेवार दल र सत्ता समीकरण घटकलाई नै।
माघ २६, २०७८ बुधबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।