सरकारी तीन अर्बको ब्याजले अप्रत्याशित नाफामा साझा तर नाफाको ७० प्रतिशत बोनस बाँड्दै

सरकारी तीन अर्बको ब्याजले अप्रत्याशित नाफामा साझा तर नाफाको ७० प्रतिशत बोनस बाँड्दै

यही वर्ष साझाका धेरै धेरै बसहरू लामो समय ग्यारेजमा थन्किए। वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार साझा १५ करोड ५९ लाख ९६ हजार नौ सय सत्ताइस रुपैंया नाफा देखिन्छ।

नाफाको कारण हो सरकारले दिएको ३ अर्बको ब्याज। तर आर्थिक प्रतिवेदनमा सरकारले दिएको तीन अर्बको व्याज भने कतै खुलाइएको छैन।

उकेराले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको साझाको लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७०–७१ ३ करोड ३९ लाख घाटा व्यहोरेको साझाले ०७१–०७२  र ०७२–०७३ मा ७२ लाख र एक करोड एक लाख नाफा कमायो।

त्यसपछिका धेरै आर्थिक वर्षमा डेढ करोड बराबरको घाटामा गइरहेको थियो सहकारी।

२०७३–७४ मा १ करोड ८३ लाख, ०७४–०७५ मा १ करोड ७९ लाख,०७५–०७६ मा ३ करोड ५४ लाख ८ हजार  तीन सय ९७ घाटामा थियो।

०७६–०७७ को आर्थिक वर्ष सम्ममा साझा यातायातको सञ्चित नोक्सान  २४ करोड ५४ हजार ५ सय १४ रहेको थियो भने आर्थिक वर्ष २०७६–०७७ मा ९४ लाख, ५८ हजार चार सय छयालिस नाफा अडिट रिपोर्टमा देखाएको छ।

आर्थिक वर्ष २०७७–०७८ मा बाँडफाँडको लागी उपलब्ध खुद बचत शीर्षकमा ८ करोड ७१ लाख ६३ हजार दुई सय ८२ रुपैयाँ छुट्टाइएको छ।

नाफाको अधिकांश अंश बोनसमा

सहकारीको सेवा विस्तार वा अन्य कारणले कमाई नबढी सरकारले दिएको तीन अर्बको ब्याजका कारण सहकारीको आम्दानी बढेको छ। त्यसैलाई आधार बनाएर सहकारीले नाफाको अधिकांश हिस्सा बोनस बाँड्दै छ।

नाफाबाट संस्थाका सेयर धनीलाई ६० प्रतिशत बोनस दिन ५ करोड २२ लाख ९७ हजार नौ सय ६९ रुपैयाँ छुट्टाएको छ।

सहकारी शिक्षा र तालिम कोष,घाटा पूर्ति कोष, डुवान्त ऋण कोष, संस्था विकास कोष, कर्मचारी कल्याण कोष, संरक्षक पुजी कोषलाई पाँच–पाँच प्रतिशतका दरले ४३ लाख ५८ हजार १ सय ६४ रुपैयाँ छुट्टाएको छ।

साझा सिरिज

संस्थाको विकासलाई ५ प्रतिशत बजेट छुट्ट्याएको साझाले  कर्मचारी बोनसका लागी भने १० प्रतिशत बजेट छुट्टाएको छ। जस अन्तर्गत कर्मचारी बोनस कोषका लागी ८७ लाख १६ हजार ३ सय २८ रुपैयाँ छुट्टाएको छ।

‘प्रत्याशित नाफा कसरी? ’उकेराको जिज्ञासामा साझाका निर्देशक महेन्द्र पाण्डेयले लेखा सहायकसँग सम्पर्क राख्न भने। लेखा सहायक सुनिल महर्जनसँग उकेराले सम्पर्क गर्न खोज्दा  सम्पर्क हुन सकेन।

तर,नाम नखुलाउने सर्तमा साझाका एक कर्मचारी उकेरासँग भन्छन्‘ सरकारी तीन अर्बकै देन हो। पुरा क्षमतामा बस सञ्चालन गर्न सकिरहेका छैन। नाफा कमाउने त  परको कुरा। घाटामा भएको संस्था त झन् कसरी नाफामा जान सक्छ र?’

किन घाटामा छ साझा?

संस्थाका अध्यक्ष कनकमणि दीक्षित सहकारीको उद्देश्य नाफा कमाउने भन्दा पनि सस्तो, सुलभ र भरपर्दो सेवा दिने भएको भन्दै घाटाको कारणबाट पन्छिए।

'हामी नाफा कमाउन होइन सेवा दिन आएका हौँ,’ उनले उकेरासँग भने।

सधैँ भरि घाटामा गएर सेवालाई निरन्तरता दिन सकिन्छ त? उकेराको प्रश्नमा दीक्षित भन्छन्‘संसारको कुनै पनि ठाउँमा हेर्ने हो भने सरकारी लगानीका यातायात सेवाले नाफा कमाएका छैनन्। हाम्रो उद्देश्य कहिल्यै नाफा कमाउने भएन। सकभर घाटालाई कम गरौँ भनेर प्रयत्न भने गर्यौ।’

भएका यातायातलाई थन्काएर झन् घाटा बढ्दैन? उकेराको जिज्ञासामा साझाका प्रबन्ध निर्देशक महेन्द्रराज पाण्डेय भन्छन् 'यात्रु नभए पछि चलाएर पो के गर्ने? भएका गाडीहरूमा पनि यात्रु भरिँदैनन्।’

पाण्डेयको तर्कलाई अध्यक्ष दीक्षित थप प्रस्ट्याउँदै भन्छन्‘ साझाले यात्रु कोचाकोच गरेर राख्दैन। हाम्रो उद्देश्य सहज यातायात सेवा दिने हो। सधैँ यात्रु हुँदैनन्। खाली भएर पनि सेवा दिनलाई हिँड्नै पर्छ।’

तर दीक्षितले गरेको दाबी जस्तै साझामा मान्छे कोचाकोचको अवस्था नै नरहने भने होइन। उकेराले साझाका विभिन्न रुटमा फरक फरक समयमा अनुगमन गर्दा पिक टाइमहरूमा साझामा कोचाकोच यात्रु देखिएका थिए।

सञ्चालनमा रहेका हरेक गाडी दैनिक १२ घण्टा गुड्छन्। यो क्रम बिहान ६ बजेबाट राती १० बजे  गाडी ग्यारेजमा आउँदासम्म रहन्छ। तर सडकमा भने  ८ बजेपछि नै साझा पाउन मुस्किल छ। सेवामुखी भनिएको साझा बेलुका सडकमा विरलै मात्र पाइन्छ।

साझाको अनुसार हरेक गाडीले आफ्नो रुटमा कम्तीमा पनि ५ टिप गर्छ। तर पाँच टिपमा तेलको खर्च समेत गाडीले उठाउँदैन।

‘तेलको मूल्य बढ्यो। मर्मत खर्च बढ्यो। तर पनि हामीले उही ८ वर्ष अघि कै दरमा गाडी चलाइरहेका छौ’ प्रबन्धक पाण्डेय भन्छन्‘ तेल खर्च उठ्न पनि गाह्रो अवस्था हुन्छ। हामीले चुहावट रोक्नलाई स्मार्ट कार्डको व्यवस्था गरेका थियौँ। तर त्यो प्रभावकारी भएन।’

दीक्षित साझामा चुहावट रहे पनि घाटाको कारण त्यही नभएको दाबी गर्छन्। चुहावट नियन्त्रण गर्न स्मार्ट कार्डको प्रयोग गरे पनि व्यवहारिक नभएको उनको दाबी छ।

'स्मार्ट कार्डले साझाको गाडीलाई मात्र सर्पोट गर्ने भयो। हाम्रै मात्र गाडी कुरेर बस्ने अवस्थामा सबै यात्रु हुँदैनन्,’ दीक्षित भन्छन्‘ हामी नयाँ प्रविधिको खोजीमा छौँ। जसले चुहावट रोक्न सकोस्।’

कोरोनाको प्रभाव

कोरोनाको कारण २०७६ देखी यता साझाको सबै बस सञ्चालनमा आउन पाएका छैनन्। ७१ बस भएको साझाले सरकारले लकडाउन  र निषेधाज्ञा हटाए पछि  पाँच रुटमा मात्र आफ्नो ३० गाडी सञ्चालनमा ल्याएको थियो।

कोरोनालाई कारण देखाउँदै साझाले ४२ प्रतिशत गाडी थन्काएर राखेको छ। यात्रु भने सवारी नपाएर जोखिम मोलेर भए पनि कोचिएर यात्रा गर्न बाध्य छन्।

कोरोनाको कारण देखाउँदै साझाले असोज १ अगाडि ४० बस ग्यारेजमा नै थन्काएर राखेको थियो। हाल साझाका ४० बस चक्रपथ र लामो दुरीमा चल्छन्। ३१ बस ग्यारेजमा नै छ।

कोरोना अघि साझा यातायातले उपत्यकाको १० रुटमा आफ्नो सवारी सञ्चालन गदै आएको थियो। तर हाल लगनखेलदेखि बसपार्क १०वटा, लगनखेलदेखि बुढानीलकण्ठ १० वटा, थानकोटदेखि एयरपोर्ट ६ वटा, रत्नपार्कदेखि गोदावरी ५ वटा र रत्नपार्कदेखि लामाटार ५ वटा गरी ३६ बस उपत्यकामा सञ्चालनमा छन्।

रत्नपार्कदेखि सुर्यविनायक, रत्नर्पाकदेखी कमल विनायक, रत्नपार्कदेखि जोरपाटी लगायतका रुटहरूमा कोरोना पछि साझाका यातायात गुडेका छैनन्।

असोज १ गते देखी चाडबाडलाई ध्यानमा राखेर बागलुङ पोखरा जाने  २ र भैरहवा, बुटवल जाने २ लामा दुरीका यातायात गरी जम्मा ४० यातायात हाल सञ्चालनमा ल्याएको थियो।

साझाले रोटेसनमा ७१ वटै बस सञ्चालनमा ल्याएको थियो। कोरोनाको नयाँ भेरिएन्ट ओम्रीकोनको कारण साझाले जोर बिजोर प्रणालीमा सबै बसहरू सञ्चालन गर्न सकिरहेको थिएन। जोर बिजोर प्रणाली हटेसँगै साझाले बसको सङ्ख्या बढाउने तयारी गरेको छ।

हाल टाटाका १६ बस मध्य अधिकांश बस ग्यारेजमा नै थन्किएका छन्। जस कारण करिब ६० बसहरू काठमाडौँका १० रुटमा सञ्चालनमा छन्।

साझाको घाटाको सिलसिला

सहकारी संस्था ऐन, २०१६ अन्तर्गत ३ चैत ०१८ मा सहकारी संस्थाको रूपमा साझा यातायात दर्ता भयो। संस्था दर्ता भएको एक दशकमै (२०२६) बन्द हुने अवस्थामा पुग्यो।

तत्कालीन सरकारले घाटाको कारण देखाउँदै केही समय सेवा बन्द समेत गर्यो। २०२६ सालमा बन्द हुँदा साझासँग  २४ बस र ४८ वटा मालवाहक ट्रक थियो।

केही समय बन्द भएपछि पुन सञ्चालनमा आएको साझालाई २०३५ र ०४३ सालमा जापान सरकारले नेपालको सहरी विकास योजना अन्तर्गत अनुदानमा क्रमशः ३५ इसुजु बस र ४७ मित्सुविसी बस दियो। तर चरम भ्रष्टाचार र राजनीतिक खिचातानीले ०४६ मा साझाका बसहरू लिलाम भए। सोही लिलामीको पैसाले साझाले कर्मचारी पाल्यो।

संस्था गठनको ४२ वर्ष पछि २०५८ सालमा घाटैमा मात्र चल्ने संस्थामा थप लगानी गर्न नसक्ने कारण देखाउँदै तत्कालीन सरकारले साझा यातायातलाई विघटन  नै गर्यो। त्यति बेला अध्यक्ष थिए कमलमणि दीक्षित। त्यस बेला साझा यातायातसँग १८३ वटा बसहरू थिए। र, ७ सय २७ कर्मचारी। 

साझाका तत्कालीन अध्यक्ष कमलमणि दीक्षितले सरकार विरुद्ध साझा पुन स्थापना गराई पाउँ भनेर पुनरावेदन अदालत पाटनमा मुद्दा हाले। अन्ततः, अदालतको आदेशले साझा ०६० देखि पुन सञ्चालनमा आयो। 

२०६१ मा साझा यातायातको लगनखेलमा रहेको करिब ६ रोपनी जग्गा आनाको १५ लाखका दरले करिब १२ करोडमा कर्मचारी सञ्चय कोषलाई बिक्री गरेर अनिवार्य अवकाश भएका र स्वेच्छीक अवकाशमा जाने केही कर्मचारीको दायित्व चुक्ता गर्यो।

पुनर्स्थापना भए पश्चात् २०३० सालबाट सुरु गरेको लामो दुरीको बस सेवा पुन सञ्चालनमा ल्यायो। त्यस बेला काठमाडौँबाट पोखरा, भैरहवा र वीरगन्ज, कलैया, पाल्पा, तौलिहवा, बागलुङको बेनी, र गोर्खा लगायतका स्थानमा सेवा विस्तार गर्यो।

संस्थाको ब्यानरमा काठमाडौँदेखि ल्हासा,काठमाडौँदेखि दिल्लीमा अन्तर्राष्ट्रिय बस सेवा समेत सञ्चालन पनि भयो।

पशुपति दर्शन सेवा सहित काठमाडौँको चक्रपथमा करिब ५० वटा बसहरू सञ्चालनमा थियो। काठमाडौँदेखि पोखरा,वीरगन्ज, भैरहवामा करिब २० वटा माइक्रो बस समेत साझाले सञ्चालनमा ल्यायो। तर पनि घाटाले साझालाई छाडेन। २०६४ जेठ देखी साझा यातायातका सबै सेवाहरू बन्द भयो।

२०६४ मा बन्द भएको साझा संस्थाको संशोधित विनियममा भएको व्यवस्था बमोजिम २०६८ साल ज्येष्ठ ६ गते  संस्थाको विशेष साधारण सभाबाट कनकमणि दीक्षितको अध्यक्षतामा फेरी गठन भयो।

जापान सरकारले सहरी विकास योजना अन्तर्गत ०३५ मा बनाइदिएको भवन नेपाल टेलिकमलाई २०६७ मा ६ वर्षको र २०६८ मा ४ वर्षको गरी १० वर्षको लागि करिब ५ करोड १० लाख अग्रिम भाडा बापतको रकम लिएर आफ्नो कर्जा फरफारख गर्यो। कर्मचारीलाई २०६८ भदौमा बिदा गर्यो।

सबै तिरो तारो सक्काएर २०६८ मा साझा यातायातको वीरगन्जमा रहेको करिब १६ कट्ठा जग्गा कट्ठाको ३५ लाखका दरले करिब ५ करोड ५४ लाख रुपैयाँमा नेपाल टेलिकमलाई बिक्री गर्यो र उक्त पैसाले प्रतिगाडी  ३३ लाख ३६ हजारका दरले १६ थान टाटा बस किन्यो। ०७० देखि रुट इजाजत लिएर सेवा सुरु गर्यो।

हाल साझासँग ५६ सहरी बस, १ सेमी लो फ्लोर र ४ डिलक्स बस गरी ७१ वटा बसहरू छन्। 

माघ २५, २०७८ मंगलबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।