त्यति धेरै मिल्ने अक्षय कुमार र कपिल शर्माको के कारण भयो मनमुटाव ?

त्यति धेरै मिल्ने अक्षय कुमार र कपिल शर्माको के कारण भयो मनमुटाव ?

एजेन्सीः बलिउड अभिनेता अक्षय कुमार ह्युमर मन पराउँछन्। उनी आफू पनि अरूको मजाक उडाउँछन् भने अरूले आफूलाई उडाउँदा पनि सहजरूपमै लिन्छन्।

तर हालैको दिनमा भने अक्षय बदलिए वा अरू केही भयो। उनले आफूसँग अति नै मिल्ने कपिल शर्माले उडाएको मजाक पनि सहन सकेनन्। कुरा यत्तिमै सीमित छैन। 

अब हुँदाहुँदा अक्षय आफ्नो फिल्मको प्रमोशनका लागि समेत कपिललाई नभेट्ने भएका छन्। बलिउड चलचित्रको प्रमोशनका लागि कपिल शर्माले सञ्चालन गर्ने 'द कपिल शर्मा शो' निकै राम्रो प्ल्याटफर्म मानिन्छ। तर अक्षयकै निर्णयका कारण आउँदो चलचित्र 'बच्चन पाण्डे'को प्रमोशन भने त्यहाँ नहुने भएको छ। 

अक्षयको यो निर्णयले धेरैलाई आश्चर्य भयो। अनि कारण खोज्दै सामाजिक सञ्जाल प्रयोगकर्ता सिधै सन् २०१९ को लोक सभा निर्वाचनमा पुगे। त्यतिबेला अक्षयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिएका थिए। र मोदीलाई प्रश्न गरेका थिए- के तपाईंलाई आँप खान मनलाग्छ ?

कपिलले अक्षयलाई 'अतरङ्गी रे'को प्रमोशनमा शोमा आएको बेला यही कुराले उडाउनु उडाए। अक्षय यसैमा रिसाए। 

उनले प्रधानमन्त्रीसँगको अन्तर्वार्ताको बिल्ला उडाएको भाग प्रशारण नगरिदिन कपिललाई भने पनि। टिभीमा त प्रशारण पनि भएन। तर सामाजिक सञ्जालमा भने यो भाग पनि हालियो। अक्षय झनै रिसाए। त्यसमाथि नून दल्न आइपुगे सामाजिक सञ्जाल प्रयोगकर्ता। उनीहरूले पनि अक्षयलाई उडाए।

यही रिसका कारण अब बच्चन पाण्डेको प्रमोशनमा अक्षयले कपिल शर्माको कार्यक्रमलाई बहिष्कार गरे। 

माघ २५, २०७८ मंगलबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।