थापाको बहिर्गमनमा राप्रपा पदाधिकारी: 'के गर्ने त अब ? नयाँ पार्टी खोल्नै पर्‍यो नि' 

थापाको बहिर्गमनमा राप्रपा पदाधिकारी: 'के गर्ने त अब ? नयाँ पार्टी खोल्नै पर्‍यो नि' 

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आज पार्टी परित्यागको घोषणा गरे। पार्टीमा आफ्नो कुराको सुनवाइ नहुने भएपछि परित्याग गर्नुपरेको उनको भनाइ थियो। 

गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर थापाले अबको राजनीति नयाँ पार्टीबाट गर्ने पनि सङ्केत गरे। भनि पनि हाले- ‘काठमाडौं पुगेर साथीहरूसँग छलफल गर्छु, नयाँ दल खोल्ने विषयमा उपयुक्त समयमा निर्णय गर्छु।’ 

थापाले नयाँ पार्टी बनाउने सङ्केत दिएसँगै उनीनिकट एक पदाधिकारीले उकेरालाई भने अझ प्रष्ट जवाफ दिए। उनले भने, 'के गर्ने त अब? नयाँ पार्टी खोल्नै पर्यो नि।'

अहिले अनौपचारिकरूपमा थापानिकट पदाधिकारीहरूको बैठक बस्दैछ। 

यता राप्रपाका केन्द्रीय सदस्य झनक प्याकुरेलले भने थापाले पार्टी छोड्दैछन् भन्ने कुरा पहिले नै थाहा भएको बताए। उनका अनुसार थापाले पार्टी छोड्दा दुवै पक्षलाई फाइदा पनि छ। समाजमा कमल थापाको नाम लिएर अन्य सदस्यलाई समेत जिस्क्याउने गरिएको अध्यक्ष राजेन्द्र लिङ्देन खेमाको बुझाइ रहँदै आएको छ।

तर पार्टीलाई भने थापाले अधोगतितिर धकेलेको पनि प्याकुरेलले आरोप लगाए। उनले भने, 'उहाँले पार्टीलाई अधोगतितिर धकेल्नु भयो।' 

माघ २५, २०७८ मंगलबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।