कर्णाली प्रदेश सभाबाट दुई वटा विधेयक पारित
सुर्खेतः कर्णाली प्रदेश सभाबाट दुई वटा विधेयक सर्वसम्मतले पारित भएको छ। सोमबार बसेको प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठकले कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशभित्रको राष्ट्रिय बनेको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो।
योसँगै कर्णाली प्रदेश सभाबाट हालसम्म ३८ वटा विधेयक पारित भएका छन्। यसअघिका अधिवेशनका बैठकले ३६ वटा विधेयक पारित गरेको थियो।
यस्तै प्रदेश सभा बैठकमा टेबुल भएर सैद्धान्तिक छलफल र संशोधन भएका विधेयकहरूको प्रतिवेदन पेश गरिएको छ। कर्णाली प्रदेशमा व्यापार व्यवसाय दर्ता तथा सञ्चालन सम्बन्धमा बनेको विधेयक २०७७, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संशोधनसहितको प्रतिवेदन पेश गरिएको हो।
यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश लोकसेवा आयोग र मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन २०७७\०७८ बैठकमा पेश गरेका छन्। मुख्यमन्त्री शाहीले पेश गरेको प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।
माघ २४, २०७८ सोमबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।