स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मन्त्रिपरिषद्को निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंः स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्ले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने पनि निर्णय गरेको हो।

यसअघि जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई परामर्श दिएको थियो। स्थानीय तहको निर्वाचनका लागि सामान्यतया एक सय २० दिन निर्वाचन अवधि आवश्यक पर्ने कानूनी व्यवस्था छ।

आजको मन्त्रिपरिषद् बैठकअघि सरकारले वैशाख ३० मा निर्वाचन गर्न सकिने नसकिनेबारे आयोगलाई प्रश्न समेत गरेको थियो। आयोगले निर्वाचन गराउन सकिने जवाफ दिएपछि वैशाख ३० लाई स्थानीय तहको निर्वाचनको मिति तोकिएको हो।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ। त्यसअघि नै पद रिक्त हुन नदिन वैशाख ३० लाई निर्वाचनको मिति घोषणा गर्न लागिएको हो।

माघ २४, २०७८ सोमबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।