के शाहरुखले लता मङ्गेशकरको शवमा थुकेका हुन् ?

के शाहरुखले लता मङ्गेशकरको शवमा थुकेका हुन् ?

एजेन्सीः विश्वप्रसिद्ध गायिका लता मङ्गेशकरको ६ फेब्रुअरीमा ९२ वर्षको उमेरमा निधन भयो। उनको निधनपछि भारतमा दुई दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। 

यता लताको शवको अन्त्येष्टी पनि भइसकेको छ। अन्त्येष्टीअघि उनको शवलाई मुम्बईको शिवाजी पार्कमा राखिएको थियो। त्यहाँ बलिउडका दिग्गज कलाकारदेखि राजनीतिक व्यक्तित्वहरू पनि श्रद्धाञ्जली दिन आएका थिए। 

त्यसैक्रममा बलिउडका किङ खान- शाहरुख पनि श्रद्धाञ्जली दिन आइपुगे। यो सबै दृश्यमा कैद भइरहेको थियो। उनी आफू मुस्लिम धर्मावलम्बी भएकाले दुई हात उठाएर 'दुआ' गर्न लागे। मास्क लगाएका थिए। अलि तल सारे। अनि भिडियोमा उनले थुकेको जस्तै देखियो।

भिडियो हेरिरहेका अधिकांशले विरोध सुरु गरे। शाहरुखले लताको शवमा थुके भन्ने अफवाह फैलियो। सामाजिक सञ्जाल टिकटकमा पनि धेरैले अफवाह फैलाए। सत्तारुढ भारतीय जनता पार्टीकै नेताहरूले पनि सामाजिक सञ्जालमा विरोध गरे। तर वास्तविकतामा भने उनले थुकेका होइन, फुकेका थिए। 

दुआ कसैको उन्नति, प्रगतिसँगै आत्माको शान्तिका लागि पनि गर्ने गरिन्छ। र मुस्लिम धर्ममा दुआ गरिसकेपछि फुक्ने चलन छ।

शाहरुखले लताप्रति सम्मान र माया प्रकट गर्दै फुके पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यसको अनर्थ लगाएका हुन्। 

माघ २४, २०७८ सोमबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।